इतिहासमै पहिलोपटक अमेरिकी धर्मगुरु पोप बने — रोबर्ट प्रिभोस्ट अब पोप लियो चौधौँ

इनेप्लिज २०८२ वैशाख २५ गते २३:०८ मा प्रकाशित

२०२५ को पोप चयन प्रक्रियापछि क्याथोलिक चर्च( गिर्जाघर )ले इतिहासमै पहिलोपटक अमेरिकाबाट नयाँ पोप चुनेको छ।

कार्डिनल(उच्च श्रेणीका धर्मगुरु) रोबर्ट प्रिभोस्टले अब पोप लियो (चौधौँ) को रूपमा कार्यभार सम्हाल्ने भएका छन्। यो निर्णयले विश्वकै सबैभन्दा ठूलो धार्मिक संस्थामा अमेरिकी नेतृत्वको नयाँ युगको सुरुवात भएको संकेत गर्दछ।

पोप लियो चौधौँ को जीवनी :

सन् १९५५ मा अमेरिकाको इलिनोइ राज्यको शिकागोमा जन्मिएका रोबर्ट प्रिभोस्टले शिकागोमा धर्मशास्त्र अध्ययन गरे। २७ वर्षको उमेरमा उनलाई रोम पठाइयो, जहाँ १९८२ मा उनी पादरी बने।

त्यसपछिका वर्षहरू उनले पेरुमा मिसनरी सेवा गर्दै बिताए। उनी केही समय अमेरिका फर्किए पनि फेरि पेरु गइ ट्रुजिलोस्थित अगस्टिनियन धार्मिक संघ सञ्चालन गरे। सन् २०१५ मा पोप फ्रान्सिसले उनलाई पेरुको चिक्लायो धर्मप्रदेशको धर्माध्यक्ष (बिशप )नियुक्त गरे। सन् २०२३ मा उनलाई कार्डिनल(उच्च श्रेणीका धर्मगुरु) बनाइयो।

उनको दृष्टिकोण :

पोप लियो चौधौँलाई सन्तुलित विचारधाराका अगुवा मानिन्छ। सामाजिक विषयमा उनी प्रगतिशील, आप्रवासी, गरिब र उत्पीडितहरूका पक्षमा उभिएका छन्। तर, उनले महिलालाई क्याथोलिक उपधर्मगुरु (डिकन) बनाउने प्रस्तावको विरोध गर्दै आएका छन्, जसले उनलाई गिर्जाघर (चर्च)को परम्परागत शिक्षामा दृढ व्यक्तिका रूपमा चिनाउँछ।

पोपको नाम परिवर्तनको अर्थ :

नयाँ पोप बनेपछि नयाँ नाम चयन गर्नु परम्परा हो, जसले नयाँ आध्यात्मिक जन्मको संकेत गर्छ। ‘लियो’ नाम इतिहासमा शक्ति, सुधार र स्पष्ट नेतृत्वको प्रतीक मानिन्छ। प्रिभोस्टले यो नाम रोजेर चर्चभित्र सुधार र स्पष्ट दिशा दिन चाहेको संकेत गरेका छन्।

पोप लियो चौधौँको नेतृत्वमा अब गिर्जाघर (चर्च)ले कुन दिशा लिन्छ भन्ने संसारभरका क्याथोलिकहरूको चासोको विषय बन्नेछ।

प्रतिक्रिया