अमेरिका नेपाल सहयोगी समाज(ANHS )को साधारण सभा अप्रिल २३, २०२३ मा हुने!

विष्णु न्यौपाने २०७९ फागुन २० गते २१:१५ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्य स्थित मनासस शहरमा क्रियाशील नेपालीहरुको सामाजिक संस्था अमेरिका नेपाल सहयोगी समाजको साधारण सभा अप्रिल २३, २०२३ आइतबारको दिन हुने भएको छ । साधारण सभाले सन् २०२३ देखि २०२५ सम्मको लागि नयाँ कार्यसमिति समेत निर्वाचित गर्नेछ । हरेक २÷२ बर्षमा संस्थाले नयाँ कार्यसमिति निर्वाचित गर्ने गर्दछ । वर्तमान अध्यक्ष कमल भट्टराई नेतृत्वमा रहेको समितिको कार्यअवधि यहि अप्रिलको अन्त्यमा सम्पन्न हुदैछ ।

अमेरिका नेपाल सहयोगी समाजको हालै बसेको कार्यसमिति बैठकलले संस्थाको विधान बमोजिम नयाँ कार्यसमितिको निर्वाचन सम्पन्न गर्न संस्थाका पूर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार कमला खरेलको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति निर्माण गरेको छ । समितिका सदस्यहरुमा सल्लाहकार शिव लामिछाने तथा सल्लाहकार मञ्जु थापा रहनुभएको छ । निर्वाचन समितिले संस्थाको विधान बमोजिम निर्वाचन सम्पन्न गरि नयाँ कार्यसमिति चयन गर्नेछ ।

बैठकले नयाँ नेतृत्व चयन गर्ने साधारण सभामा सकृय सहभागी हुन तथा निर्वाचन प्रकृयामा समेत पूर्ण रुपमा सहभागी हुन सबै सक्रिय सदस्य एवं आजिवन सदस्यहरुलाई अनुरोध गरेको छ । साथै नयाँ कार्यसमितिमा रहेर काम गर्न इच्छुक सदस्यहरुले आफ्नो उमेद्वारी दिन समेत बैठकले आव्हान गरेको छ ।
सन् २००८ मा स्थापना भएको यो संस्थाले यस क्षेत्रमा विभिन्न सामाजिक कार्यहरु गर्नुका साथै नेपाली भाषा, कला, सँस्कृति र परम्पराको बारेमा साना तथा ठूला कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

अमेरिकामा जन्मिएका नेपाली मूलका बालबालिकाहरुलाई नेपाली भाषा, कला, सँस्कृति, परम्परा तथा नेपाली चाडपर्वको बारेमा जानकारी दिनको लागि सन् २०१६ देखि नेपाली पाठशाला (अमेरिका नेपाल शिक्षा सदन) सञ्चालन गरि पठनपाठन समेत गराउँदै आएको छ । शिक्षा सदनले निर्माण गरेको आफ्नै पाठ्यक्रमअनुसार अमेरिका लगायत विश्वका अन्य मुलुकहरुमा समेत पठनपाठन हुँदै आएको छ । शिक्षा सदनमा अमेरिकाका विभिन्न राज्यहरु लगायत क्यानडाबाट समेत नेपाली मूलका बालबालिकाहरुले नेपाली भाषा र कला सम्बन्धी अध्ययन गरिरहेका छन् ।

–विष्णु न्यौपाने
मिडया को–अर्डिनेटर
अमेरिका नेपाल सहयोगी समाज

प्रतिक्रिया