चम्पकमाला छन्दकाे अभ्यास गर्दै छन्दमा टुक्का कविता लेखन अभ्यास सम्पन्न !

इनेप्लिज २०७९ फागुन १८ गते १०:५८ मा प्रकाशित

काठमाडौँ,
टुक्का साहित्य समाजकाे आयाेजनामा २०७९ फागुन १३ गते “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-५२” सम्पन्न भएकाे छ। ” छन्दमा टुक्का अभ्यासशाला ” मा सञ्चालन भएकाे उक्त कार्यक्रममा छन्द प्रशिक्षकद्वय अनिल खग्रास र रामशरण न्याैपानेले प्रशिक्षण गर्नु भएकाे थियाे । अभ्यासमा विश्वका विभिन्न देशहरूबाट १७ नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सहजीकरण टुक्का साहित्य समाजका अध्यक्ष तथा परिकल्पनाकार ताराप्रसाद चापागाईँले गर्नु भएकाे थियाे ।

विभिन्न छन्दहरू सिकाउँदै छन्दमा टुक्का कविता लेखनकाे विकासगरि नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यका साथ छन्दमा टुक्का कविता लेखन अभ्यास श्रृङ्खला सञ्चालन भइरहेकाे छ । यस श्रृङ्खलाका सहभागीहरूले वार्णिक छन्द अन्तर्गत चम्पकमाला छन्दमा अभ्यास गर्दै टुक्का कविताहरू सिर्जना गरेका थिए।

कार्यक्रमकाे समापन गर्दै अध्यक्ष चापागाईं तथा प्रशिक्षकद्वय खग्रास र न्याैपानेले प्रयाेगवादी नव काव्यिक उपविधा टुक्का कवितामा छन्दकाे प्रयाेग गर्दै केही मात्रामा भए पनि छन्दमा काव्य सिर्जना गर्न प्रेरित गर्दै नेपाली भाषा साहित्यकाे जगेर्ना गर्ने प्रयास गरिएकाे जानकारी गराउदै उत्साहपूर्वक सहभागी भई चम्पकमाला छन्दमा सुन्दर टुक्का कविताहरू सिर्जना गर्नुभएका सहभागी सबै टुक्काकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

::: चम्पकमाला छन्द :::
~ गण: भ   म    स       गु
~ गण सूत्र: २११  २२२  ११२ २
~ ५ अक्षरमा विश्राम

अभ्यासका क्रममा सङ्कलन भएका चम्पकमाला छन्दमा सिर्जना गरिएका केही टुक्का कविताहरू
[१]
१.
देश छ मेरो, स्वर्ग समान
मात्र छ खाँचो, दक्ष कमान।
२.
रङ्ग बसन्ती, दिन्छु म गोरी
आउनलाग्यो, मौसम होरी।
✍️ रामशरण न्यौपाने
भक्तपुर
[२]
साथ भए पो हुन्‍न वियोग,
छुट्टिनुपर्दा बन्दछ रोग।
✍️ खग्रास
[३]
१.
देख्छु असाध्यै चञ्चल नानी
रूप त राम्राे दुर्जन बानी ।
२.
ल्याउनु आफैँ कर्म सकारी
भर्नु छ रित्ताे गर्नु तयारी ।
✍️ ताराप्रसाद चापागाईँ
धुनिबेसी
[४]
१.
जीवन बाटै हट्दछ कालो,
सिर्फ बलेमा चट्ट दियालो ।
२.
चोट छ भित्रै दुख्छ जलेर,
आउँछ व्यर्थै अङ्ग गलेर ।
✍️ वसन्त अनुभव
घोराही, दाङ
[५]
सोच्नुछ बेलैमा गरिबीको
देख्नुछ फुर्ती है अरबीको ।
✍️ अम्विका अधिकारी
झापा, विर्तामोड
[६]
भाग्य मिलेको ती दिन आए,
गज्जब हुन्थ्यो कोकिल गाए।
✍️ म्यामराज राई
भोजपुर।
[७]
१.
चम्किन छोडे जून र तारा,
बेर भयो है लौ उठ सारा।
२.
आज लगायौ, फूल र माला
कारण के हो,लौ भन चाला ?
✍️ प्रेम थापा “मन”
बागलुङ
[८]
१.
पाठ पढाऊ ज्ञान विवेकी,
छैन पढेको जान छिमेकी ।
२.
सोधि र खोजी रोज पुकारी,
फुट्दछ बोली राम विहारी ।
✍️ होम प्रसाद नेउपाने
धरान, सुनसरी ।
[९]
१.
हेर बिहानी सूर्य उदाए,
जग्मग सारा देश बनाए ।
२.
लाग्दछ हाम्रो देश परीको,
यो जग सारा स्वर्ग सरीको !
✍️ बिबस पारदर्शी
झापा
[१०]
१.
चढ्दछ सत्ता पत्रु र घाती
दाम असुल्ने झुण्ड समाती ।

फाल्नु छ भित्री सर्व विकार
बाबु र आमा देव विचार ।
३.
देख्दछु धेरै तुच्छ तगारा
व्यर्थ रहेछन् सुन्दर नारा ।
✍️ चूडा निर्भिक
[११]
याे दिन ढल्दाे हेरन कस्तो,
खै किन सस्तो जीवन जस्तो,
✍️ शाेभा अाचार्य गाैतम
काठमाडौँ
[१२]
१.
दानव देखेँ , त्यो तर कस्तो ,
बाँदर को झैँ , रूप छ जस्तो ।
२.
मानव हेर्दा, दानव जस्तै ,
हेरन लेख्ने , कागज सस्तै।
३.
ख्याल छ हेर्दै , जानु छ माथि ,
खानु छ मीठो, बाँच्नु छ साथी ।
✍️ बेदु न्यौपाने
काठमाडौँ
[१३]
१.
जाग्नु सबैले, चेत पलाओस्,
शासन राम्रो, देश चलाओस् ।
२.
खेद कुकर्मी, जाल हटाई,
फेर खराबी, हुन्न फटाई ।
✍️ रामप्रसाद पुरी
बादेल, खोटाङ
[१४]
मानिस ठान्दा राक्षस लाई
बन्धन पार्यो आज मलाई ।
✍️ बाबुराम गौतम
गुल्मी
[१५]
बन्दछ स्वर्गै यो जग सारा,
पूर्ण गरेमा त्यो अभिभारा।
✍️ जमुना आचार्य
सिन्धुपाल्चोक
[१६]
रासन पानी छैन सुधार,
चल्दछ हाम्रो के सरकार।
✍️ भगवती दवाडी
झापा
[१७]
१.
काम सुनौलो दाम छ राम्रो
नाम चलेको काम छ हाम्रो।
२.
बन्दछ राम्रो काम गरेमा
गर्नु छ धेरै आइपरेमा।
✍️ कपिल किशोर घिमिरे

::::: जय टुक्का! जय साहित्य!! :::::

प्रतिक्रिया