मुर्छित सपना

बिनोद पोख्रेल दाङ नेपाल हास टेक्सस अमेरिका , २०७९ माघ २६ गते १:१६ मा प्रकाशित

बर्षौ देखि गिजोलिएको शासन
कुर्सीको मोहमा छट्पटाई रहने
दुई जिब्रे ढोँगी मानवहरू
कहिले प्रतिगमन भन्दै
कुर्सीको बाँड फाँड मै व्यस्त
कहिले संविधानको रक्षा भन्दै
लगन गाँठो कस्न मैँ मस्त
जनताले नपत्याई दिए पछि
सहमति सहकार्यको नारा लगाउँछन्
सङ्घर्ष बलिदानी को गौरवमय इतिहास
क्षण भरमै धुलोमा मिसाउँछन् !!
कथा र व्यथा उही हुन्छन्
तर त्यसलाई दोष लगाउने पात्रहरू
पटक पटक फेरि रहन्छन्
कहिले उही अपराधीलाई
सुमसुम्याएर आफू सँगै राख्छन्
कहिले बाटा घाटा चारै तिर
उसैको उछितो काढ्छन्
के गरुन् बिचरा जनता
छल कपटको जालो च्यात्दा च्यात्दै
आफ्नै उमेर च्यातिएको थाहै पाउँदैनन् !!

कहिले काहीँ आशाको त्यान्द्रो भएर
जनताका भावनाहरू बोकेर
प्रभातको सुनौलो बिहानी साथ
अनेकौँ सपना देखाएर कोहि आउँछन्
घर घरमा आवाज घन्काउँदै
सञ्जालमा अलि बढी रमाउँछन्
देश विदेशबाट उनीहरूले
वाह वाहकै ताली धेरै पाउँछन्
तमाम सुभेच्छु शुभचिन्तकहरूको
हौसला र संयमताको ढाडस पनि पाउँछन्
विधि र प्रणालीको अँध्यारो कोठा भित्र
टाँसिएको पत्र पत्र धुलो टकटक्याउँदै
बाहिर निस्कन खोज्दा खोज्दै
बिहानी नसकिँदै खै कता हराउँछन् !!
न अँध्यारो रातलाई चिर्न खोज्छन्
न धुलो डुङ्गुरलाई सोर्न सक्छन्
त्याग र समर्पण बिनाको प्रेम जस्तै
एकोहोरा प्रेम जाल नै हराउँछन् !!

फोहरको डुङ्गुर सफा गर्न
चाहिने ती पुराना औजारहरू
खिया लागी सकेको छन्
एउटा सुन्दर घरलाई सफा गर्न
आफै छिरेर फोहर निकाल्छु भन्दै
युवाहरू तम्सिरहेका देखिन्छन्
तर अघाडी बढेका पैतालाहरूलाई
बढ्न नदिएर गन्तव्यमै रोक्न
बथान बनाएर ढुकेर बसेका छन्
निःस्वार्थ भावनाहरूलाई डसेका छन्
एउटा पौरखी युवा हरेस खाएर
आत्मदाह गर्न विवश हुन्छ
तर पनि अन्याय अत्याचार विरुद्ध
कोही कसैले बोल्ने आट गर्दैनन्
यति सुन्दर स्वर्ग सरि देशलाई
कतै बाट उज्यालो छिर्न नदिएर
बत्ती निभाएर अँध्यारोमा राखेका छन्
फेरी उज्यालो बनाउने छाँट गर्दैनन्
जनताका मुर्छित सपनाहरू
फेरि ब्युँताउन कोही किन आट गर्दैनन् !!

बिनोद पोख्रेल
दाङ नेपाल
हास टेक्सस अमेरिका ,

प्रतिक्रिया