मन्दाक्रान्ता छन्दकाे अभ्यास गर्दै “छन्दमा टुक्का अभ्यास श्रृङ्खला ४६” सम्पन्न !

इनेप्लिज २०७९ माघ ६ गते १०:४८ मा प्रकाशित

काठमाडौँ,

टुक्का साहित्य समाजकाे आयाेजनामा २०७९ पाैष ३० गते “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-४६” सम्पन्न भएकाे छ। ” छन्दमा टुक्का अभ्यासशाला ” मा सञ्चालन भएकाे उक्त कार्यक्रममा छन्द प्रशिक्षकद्वय अनिल खग्रास र रामशरण न्याैपानेले प्रशिक्षण गर्नु भएकाे थियाे । अभ्यासमा विश्वका विभिन्न देशहरूबाट १९ नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सहजीकरण टुक्का साहित्य समाजका अध्यक्ष तथा परिकल्पनाकार ताराप्रसाद चापागाईँले गर्नु भएकाे थियाे ।

विभिन्न छन्दहरू सिकाउँदै छन्दमा टुक्का कविता लेखनकाे विकासगरि नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यका साथ छन्दमा टुक्का कविता लेखन अभ्यास श्रृङ्खला सञ्चालन भइरहेकाे छ । यस श्रृङ्खलाका सहभागीहरूले वार्णिक छन्द अन्तर्गत मन्दाक्रान्ता छन्दमा अभ्यास गर्दै टुक्का कविताहरू सिर्जना गरेका थिए।

कार्यक्रमकाे समापन गर्दै अध्यक्ष चापागाईं तथा प्रशिक्षकद्वय खग्रास र न्याैपानेले प्रयाेगवादी नव काव्यिक उपविधा टुक्का कवितामा छन्दकाे प्रयाेग गर्दै केही मात्रामा भए पनि छन्दमा काव्य सिर्जना गर्न प्रेरित गर्दै नेपाली भाषा साहित्यकाे जगेर्ना गर्ने प्रयास गरिएकाे जानकारी गराउदै उत्साहपूर्वक सहभागी भई मन्दाक्रान्ता छन्दमा सुन्दर टुक्का कविताहरू सिर्जना गर्नुभएका सहभागी सबै टुक्काकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

मन्दाक्रान्ता छन्द
गण सूत्र: SSS  SII  III  SSI  SSI  SS
~ ४ र १० मा विश्राम

अभ्यासका क्रममा सङ्कलन भएका केही टुक्का कविताहरू

[१]
लाग्दा लाग्दै पछिपछि अहो! बन्छु होला म दास,
छोड्दै जान्छ्यौ मगमग यहाँ कस्तुरीझैँ सुवास।
• अनिल खग्रास
[२]
१.
धर्ती हाम्रो, अति पवित यो, स्वर्गकै लाग्छ पाटो
लड्दै भिड्दै, अब रगतको, छोड है पार्न टाटो।
२.
यो हेमन्ती, प्रहर छ चिसो, बाघ बन्दैछ ठन्डी
आऊ प्यारी, गुटुमुटु गरूँ, खोल हालेर मन्डी।
•रामशरण न्यौपाने
भक्तपुर
[३]
१.
धर्ती सारा, भुवनभरमा, सुन्छु तिम्रै बखान,
को पो होला, र असल यहाँ, खै तिमी झैँ समान ।
२.
आँखा तिम्रो, कमलनयनी, सिंहकोझैँ छ चाल,
हेर्दै आकर्षक सुतन यो, चट्ट आहा कमाल ।
•वसन्त अनुभव
घोराही, दाङ
[४]
१.
खुल्छन् पूर्वी अनुपम छटा खेतका ती तरेली
काली पारी कलुष मनमा फुल्छ बेली चमेली ?
२.
कस्तो राम्रो मखमल सरी याे फलैँचा समान
हाम्रा पाखा गिरितनहरू मख्ख पार्ने कमान।।
•इन्दिरा प्रयास
सानाेठिमी,भक्तपुर
[५]
चौतारीको वरपिपलले फेर्न दिन्छन् नि सास,
सारा जागी सजग बन लौ साथ हाम्रो छ खास।
•म्यामराज राई
भोजपुर
[६]
१.
नेपाली हूँ सगर शिरमा गर्छु निर्धक्क बास,
खान्छौं खेल्छौं जनजन मिली त्रास क्यै छैन खास ।
२.
मान्छे हामी अमरपुरका देवताका निसानी,
गाथा हाम्रो अमिट रहने वीरताको कहानी !
•बिबस पारदर्शी
[७]
रक्षा गर्ने नियत बुझियो,ध्यान अन्तै कुदाए
हेर्दा हेर्दै प्रकृति नखरा खोल ओढेर आए ।
•अम्विका अधिकारी
झापा विर्तामोड
[८]
१.
चाहेको त्यो वदन मनले सोध्न सक्छन् कसोरी
सारा जड्दै चमक जनले रोज्न सक्छन् अघोरी ।
२.
सग्ला सग्लै सरस पनमा मग्न हुन्छिन् सहेली
बाधा आए पनि नयनमा आज खेल्छिन् बयेली ।
•प्रेम थापा “मन”
बागलुङ
[९]
आमाले पो कपट नभएको महाप्राण भर्ने ,
साराको नै अदलबदली शोक आफैँ त हर्ने ।
•जमुना आचार्य
सिन्धुपाल्चोक
[१०]
१.
भुल्दैछन् ती करुण मनका बालबच्चा छुटेका,
हेर्दै बाटो समय पलमा स्नेह सारा टुटेका।
२.
छैनन् कोही रस र रसिला,मन्द मुस्कान बोल्ने,
छायाँ देख्दा पनि विरहले भत्भती भै पिरोल्ने।
•होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
[११]
के ले यस्तो, भन कुशल छौ, देख्छु तिम्रो मुहार ,
देखेँ मैले,अनुसरण को हेर्छु ठूलो जुहार।
•बेदु न्यौपाने
काठमाडौ
[१२]
धर्ती हाम्राे, अति असल याे, नष्ट गर्ने भनेर
जालाे बुन्दै, तनमन सबै, हाेम्न थाले ल हेर ।
•ताराप्रसाद चापागाईँ
धुनिबेसी ।
[१३]
देख्दा साँच्चै भुवन पनि यो लाग्छ बेजोड हाम्रो,
बास्ना छर्ने मगमग सधैँ सृष्टिको फूल राम्रो ।
•शाेभा आचार्य गाैतम
काठमाडौँ
[१४]
आमाले नै भुवन भरिका सर्ब चिन्ता भगाइ
पाल्छिन् बच्चा निशदिन अहो! दुग्ध धारा बगाइ ।
•बाबुराम गौतम
गुल्मी
[१५]
चौतारीमा पवन छ र यी साथमा नै रमाए,
मान्छे मान्छे मन वचनले धर्म सारा कमाए ।
•आर्त अकुलीन
कैलाली
[१६]
हेरेको थ्यौ टुलुटुलु बसी धेर मेरो तमासा,
राखेँ आशा मधुर ममता फेरियो त्यो निरासा।
•हरि पराजुली
गोरखा
[१७]
हाम्रो भाषा अजर छ नि नेपाल देशै अपार
साँचो साँचो मन वचनले बोल व्यर्थ नपार ।
•डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा ।
[१८]
पीडा धेरै कठिन दिलमा हेर्न खोजे निराश
बारम्बारै मुलुक भरमा दुर्दशाको विकास।
•भगवती दवाडी
[१९]
१.
आयो यो निष्ठुर समय जाडो छ धेरै धरामा,
खस्यो फुस्फुस् हिउ जब परेको छ सेतै गरामा।
२.
टाढाको हैन म नबन टेडो तिमी सोच मानी,
देखाई हेरुँ म दिल उघारेर हेर्ने त सानी ।
•रामप्रसाद पुरी
बादेल खाेटाङ।

::::: जय टुक्का! जय साहित्य!! :::::

प्रतिक्रिया