“मालामा नउनिएका फूलहरू” मा पोखिएको अनुभूति

–नारायणप्रसाद सुवेदी, पर्वत २०७९ माघ २ गते १०:५२ मा प्रकाशित

–नारायणप्रसाद सुवेदी, पर्वत

डा. खगराज बरालद्वारा लिखित पुस्तक मालामा नउनिएका फूलहरू एक निकै रोचक र प्रेरणादायी लेखहरूको सँंगालो हो । कुल ३२४ पृष्ठमा सजिएको यो पुस्तकमा बिस शीर्षकमा लेखिएका लेख र लेखकको तर्फबाट भन्ने एक गरी जम्मा २१ ओटा शीर्षकमा लेखकले आफ्नो जीवनमा भोगेका र भोगाइबाट सिकेका कुराहरू उनेर एउटा बृहत् पुस्तक तयार पार्नुभएको छ । यो पुस्तक हेर्दा र पढ्दा लाग्छ यहाँ मालामा नउनिएर पनि फूलहरू त्यति नै सुगन्धित, सुन्दर र महत्त्वपूर्ण छन् । पुस्तक पढेपछि सबै फूलहरूले मालामा उनिने सौभाग्य पाउँदा रहेनछन् तर पनि ती सुन्दर र महत्त्वपूर्ण पनि हुँदा रहेछन् भन्ने बोध हुन्छ । लेखकको सुन्दर प्रस्तुतिले पुस्तकले धेरै कुराहरू बोलेको छ । धेरै कुरा सिकाएको छ । सिक्न चाहनेले साधारण घटनाबाट पनि सिकाइ धेरै हुँदो रहेछ । त्यो सिकाइलाई जीवनमा उतार्न सकिने हो भने त्यस्ता मान्छेहरू महान् नै बन्दछन् ।

लेखकले विशेषतः जागिरको दौरानमा जिम्मेवारी निर्वाह गर्दाका बखत हासिल गरेका अनुभवहरू पुस्तकभरी छरेका छन् । त्यससँगै आफूँले विद्यालयमा अध्ययन गर्दा, देश विदेश भ्रमण गर्दाका अनुभवहरू, साथीहरूसँगको भेटमा भएका छलफलका सन्दर्भमा अनुभूति गरिएका कुराहरू यस मालामा उन्ने प्रयत्न गरेका छन् । कतिपय अवस्थामा जागिरको क्रममा आफ्नो भूमिका निर्वाह गर्ने क्रममा भएका सिकाइहरूलाई सिलसिला मिलाएर अभिव्यक्ति गरिएको छ ।

हाम्रो सामाजिक विसङ्गतितर्फ व्यङ्ग्य गर्दै बाबुआमाले जिन्दगीभर पालेका हुन्छन् तर अलि ठूलो भएपछि छोरा छोरीहरूले बाबु आमाहरू मसँग बस्नु भएको छ भनेर बडो गौरव साथ भन्ने गरेको कुरालाई चोटिलो प्रहार गरेका छन् । जीवनभर आफूँलाई पालेका बाबुआमालाई आफूँले पालेको भनेर भन्नेहरूले वास्तवमा माया गर्दैनन् । पढालेखा भनिएका जागिरे जीवन बिताएका कर्मचारीहरूले समेत बाबुआमालाई तुरुपका रूपमा प्रयोग गरिएको पाइयो । आफ्नो रोजाइभन्दा बाहिरको ठाउँमा अपायक सरुवा हुँदा बाबुआमा बुढाबुढी, बिरामी र असक्त, तर विदेश जाने र कतै कार्यक्रममा काज जाने अवसर आएमा जसरी पनि व्यवस्थापन (मेनेज) गर्छु भनेर अवसरवादी बन्ने कतिपयको बानी देखियो । यो परिपाटीले राम्रो सन्देश दिँदैन । गर्वसाथ भन्न सक्नु पर्छ कि म बाबुआमासँग बस्छु । कुनै विदेशको अवसर पाए पनि मलाई अनुकूल छैन म विदेश जान पनि सक्दिनँ भनेर । अनि उहाँहरूलाई ससम्मान सँगै बस्न सक्नु पर्छ । वृद्धाश्रमको पनि लेखकले जमेर विरोधी मत राखेका छन् । वृद्धवृद्धाहरू घरबाट हेला हुँदै जाने र उनीहरूलाई स्याहार सुसारके लागि वृद्धाश्रम खोल्दै जाने हो भने अहिलेको यान्त्रिक युगमा मानिसहरू बाबुआमाबाट छुटकरा लिन पनि वृद्धाश्रमको जिम्मा लगाउने प्रवृत्ति झन बढेर जान्छ । उनीहरूले बाबुआमा प्रतिको कर्तव्य बिर्सेर केबल प्रक्रियाको रूपमा नै उनीहरूलाई वृद्धाश्रमको जिम्मा लगाउने प्रवृत्ति मौलाउँदै जानेछ ।

लेखकले बाल्यकालको अनुभूति विद्यालयमा खाजा खान नपाएको बेला, भोकाएको बेला गरेको अनुभव जस्ताको त्यस्तै उतारेका छन् । त्यही कारण दिवा खाजको आवश्यकता छ भनेर पनि उनले महत्त्व दर्शाएका छन् ।

फेरि लेखक आफैँ शाकाहारी भएको माछामासु खान मन नपराउने व्यक्ति हुन् । यो दुनिँयामा शाकाहारी भएर पनि बाँच्न कहाँ सहज छ र? कतिपय ठाउँमा पाहुना भएर जाँदा चाहे त्यो भोज भतेर होस् चाहे त्यो साथीहरूको बिचमा खाना खान जाँदा नै होस् हरेक पटक किन शाकाहारी हुनु भएको भनेर गरिने प्रश्नले अफ्ठ्यारो पार्ने गरेको अनुभूति लेखकले गरेका छन् । वास्तवमा शाकाहारी हुनु असल कुरा हो राम्रो बानी हो, स्वास्थ्यका लागि पनि लाभदायक हो भनेर भनिने गरे पनि यसलाई पछ्याउने भने निकै थोरै मानिस हुँदा रहेछन् । उनलाई उदाहरण दिएर पनि खाने बेला नछोड्ने बानी परेका मानिसहरूको सङ्गतको अनुभूति पनि लेखकले यस पुस्तकमा उतारेका छन् । त्यस लेखको मकसत पनि सबैजसो मानिस शाकाहारी बनून् भन्ने हो ।

लेखकले जीवन चक्रको बारेमा बर, पिपल, समी र सुगा भन्ने लेखमा राम्रोसँंग उतार्ने प्रयास गरेका छन् । जुनसुकै जीवलाई पनि निश्चित अवस्था पार गरेपछि मात्र जीवन प्राप्त हुन्छ र त्यो जीवनको निरन्तरता रहन्छ । जसरी समीको विरुवा उमार्नका लागि सुगालाई पाकेका फल खान दिनुपर्ने र त्यो फल खाएर विष्टाएपछि त्यसलाई नर्सरीमा लगेर उमार्ने । यसरी केही चक्र चराको पेटमा परेपछि पूरा हुँदोरहेछ अनि बल्ल त्यो बिजमा उम्रने शक्ति प्राप्त हुँदोरहेछ । त्यो क्रिया बर, पिपल र समीका बोटको लागि अनिवार्य नै रहेछ । त्यसैलै मज्जाले फल लागेका यी जातका रुखमुनि यही जातका विरुवा उम्रेको देखिँदैन ।

लेखकलाई जनावरहरू प्रति पनि औधी प्रेम छ । उहाँले कुकुरका कुरा भन्ने शीर्षकको लेखमा निर्दोष प्राणी मारिनु हुन्न । यसलाई काटेर मासु खाने, अनावश्यक रूपमा दुःख दिने यातना दिने जस्ता कुराहरूको प्रतिकार यस लेखमा लेखकले गरेका छन् । एउटा साथी रवि कर्माचार्यले कुकुरहरूप्रति दर्शाएको माया र गरेको सेवा देख्दा उहाँलाई खुब आनन्द आएको कुरा अभिव्यक्त छ । यसरी सबै जनाले जनावरहरूप्रति त्यसरी नै माया भाव राखिदिने हो भने यो संसार साँच्चै सुन्दर हुने थियो ।

लेखकले विदेश भ्रमण गर्दाको अनुभव पनि प्रभावकारी तवरमा मुखरति गरेका छन् । उहाँले अफ्रिकन देश केन्याको भ्रमण गर्दा एक नेसनल पार्कमा जनावरहरूको अवलोकन गर्दाको अनुभूति मान्छे र विशेष गरी मांसाहारी मान्छेप्रति एउटा मृगलाई पात्र बनाएर पोखेका छन् । मानिसहरू निर्दोष जीवलाई मारेर खुब मनोरञ्जन गरेर उसको मासु खान्छन् । त्यो जीवको के दोष थियो र उसले मर्नुपने ? नश्ल सुधारका लागि गरिएका प्रयासको पनि लेखकले जमेर आफ्नो विचार राखेका छन् । नश्ल सुधारको नाममा गरिएका कतिपय प्रयासहरू प्रकृति विरोधी छन् जसले गर्दा असल जातीहरू लोप पनि भएका छन् । त्यसैले यसलाई खास ठाउँमा सीमित पुस्ता (जेनेरेसन) मा मात्र प्रयोग गरिनु पर्छ भनेर लेखकले बलियो तर्क पेस गरेका छन् ।

लेखकले आफूँ ब्युरोक्रेसीको उच्च पदसम्म नै काम गर्दा गरेको एउटा अनुभूति बहुत रोचक रूपमा प्रस्तुत गरेका छन् । कर्मचारी तन्त्रमा माथिल्लो तहको कर्मचारीलाई रिझाउन सकिने र त्यसैमा रिसाउन पनि सक्ने सम्भाव्य घटना प्रस्तुत गर्नु भएको छ । यसमा आम कर्मचारीको प्रवृत्ति र असहज परिस्थितिले कहिलेकाहीँ कुनै कार्यक्रम पनि बिथोलिन सक्ने कुरा एउटा प्रमुख अतिथिका लागि परेको समस्यालाइ लिएर व्यक्त गरेका छन् । कुनै कार्यक्रममा प्रमुख अतिथि भनेर आफूँलाई बोलाएकामा बिचमा मर्यादाक्रममा माथि भएको कोही कर्मचारीको उपस्थितिले कार्यक्रमको आयोजकलाई निकै समस्या परेको अवस्था रहेछ । त्यो त्रेला उनले प्रमुख अतिथिको स्थान आफूँले नलिइदिएर कार्यक्रमलाई सहजीकरण गरिदिँदा आयोजक कत्ति खुसी भएको घटना उल्लेख गरेका छन् । यसरी कुनै परिस्थितिमा गरिने सहजीकरणले पनि ठूलै महत्त्व राख्छ भन्ने संदेश दिन लेखक सफल भएका छन् ।

विद्वान् र बुद्धिजीवी भन्ने शीर्षकमा उल्लेख गरिएको तथ्य पनि खुव मर्मस्पर्शी छ । खास विद्वान् हुनका लागि पढेर ज्ञान हासिल गरेर मात्र भइन्छ भने बुद्धिजीवी भन्ने चाहिँ नपढेका मानिस समेत हुन्छन् । सबै विद्वान्हरू बुद्धिजीवी हुन्नन् । त्यस्तै मन र बुद्धि पनि एउटै होइनन् भन्ने कुरा उदाहरणसहित प्रष्ट पार्ने प्रयास लेखकले गरेका छन् ।

यसरी बहुत रोचक रूपमा प्रस्तुत गरिएका मालामा नउनीएका २० ओटा फूलहरूको सँगालोमा हरेक लेखले एक न एक सन्देश दिएको छ । वास्तवमा यी मालामा नउनिएका फूलहरू ढिलै गरि उनिए पनि आम पाठकसमक्ष पुग्न सक्षम भएको छ । अदावीमा लेखिएका फरक प्रसङ्गहरूले झन् मालामा नउनिएका महत्त्वपूर्ण फूलहरूको महत्त्वलाई अझ उजागर गरेर पुस्तकको शोभा थप बढाएका छन् । छोटा छोटा प्रसङ्गहरूले नउनिएका फूलको सङ्ख्या बढाएको छ । पुस्तकको भाषा त लेखको शैली नै हो, सलल बगिरहेको छ । आफ्नो बस्ने ठाउँ र गाउँतिरको स्थानीय शैलीमा पनि कतिपय शीर्षक लेखिएका छन् । यसमा लेखकले आफ्नो जागिरे जीवन पनि छर्लङ्ग देखाउन सफल भएको पाइन्छ ।

कृतिः “मालामा नउनिएका फूलहरू”
विधाः गैह्र आख्यान अनुभूति
लेखकः डा. खगराज बराल
प्रकाशकः शिखा बुक्स प्रा.लि.
संस्करणः पहिलो (२०७८)
पृष्ठः ३२४
मूल्यः रु ४७५

प्रतिक्रिया