अंकल
तिमीलाई कस्ने डोरी
कस्तो थियो कुन्नि म कसरी बुझूँ
तिमीलाई डस्ने दुस्मन
कस्तो थियो कुन्नि म कसरी चिनूँ
तर
ती कोठाचोटा र
ती भाइबहिनीका आँखाहरू पक्कै रुखा थिएनन्
तिनले कति खोज्ने होलान् तिम्रा प्रिय आँखाहरूलाई
लामो भविष्यको आगन भरि
तिमीले
करेसाबारीभरि उमारेका तोरीका साग
तिनले कहिले सम्म डाक्ने होलान् तिमीलाई
हावासँग लहडिंदै र हल्लिंदै
तिमीले लगाएका गमलाका फूलहरू
तिनले कहिलेसम्म फुलिरहनु पर्नेहोला
दुरदुरसम्म तिम्रो बाटो हेर्दै
तिनको तिर्खा कस्ले मेटाउनेहोला
भविष्यको गहिरो ट्याङ्कीबाट पानी उभाएर
तिमीले सबैका आँखामा उमारेका
कलिला विश्वासका कोपिलाहरू
कहिलेसम्म फुल्न नपाउने हुन्
यादका भुमरीमा अल्झिएर
तिमीले बिछ्याएको
घरअगाडिको चिटिक्क परेको बाटो
के तिमी नहिंड्ने नै भयौ अब
के तिनले नपाउने नै भए तिम्रा पाउका स्पर्श
अब मैले सुन्न नपाउने भएँ, ‘छोरा सन्चै छौ?’ का मधुरमधुर आवाजहरू
मैले स्पर्श नपाउने भएँ
प्रिय लाग्ने माया र सद्भावका आशीर्वचनहरू
यसरी जानु नै थियो भने
किन बिघ्न प्रिय बनेका पडोसीहरूका
यसरी गल्नु नै थियो भने आधा बाटोमा
हामीलाई किन सिकाएका जीवनको लामोलामो गोरेटोमा हिंड्न
जानुअगाडि
तिमीलाई याद भएन होला तिमीले भरेको सिउँदो
बाटो छेकेनन् होला
हाम्री आमाका कलिला सपनाहरूले
अब संसारको कुन समयले भर्पाई गर्नसक्छ
चट्याङ्ले थिलथिलिएको उनको छातीमा
हो अंकल
मैले मेरा बुवाको अत्यास मेटाउन
त्यो अप्रिय समय बिर्साउन
तिम्रा हँसिला ओठहरू सम्झिन्थें
ती शूलहरू उक्काउन
तिम्रा उज्याला हातहरू सम्झिन्थें
खैर
नजानु थियो गैगयौ
देउताको प्यारो भैगयौ
देउतासँग बसेर
भाइबैनीका
ती कलिला हातहरू नबिर्सनू
हाम्री आमाको चिरिएको छाती नबिर्सनू
साथीसङ्गीको संसाथ नबिर्सनू
जे भने पनि निष्ठुरी त बनिगयौ
देउतासँग देउता भएर बस्नू
आफूले आफ्नो असाध्यै ख्याल राख्नू
अलबिदा !
अलबिदा !
–जगन्नाथ पौडेल
प्रतिक्रिया