प्रभु ! मलाई “म” हैन, “ऊ” बनाऊ !

इनेप्लिज २०७९ पुष १२ गते २३:३४ मा प्रकाशित

अन्जली ढकाल

प्रभु ! मलाई “म” हैन, “ऊ” बनाऊ !

प्रभु!

नयाँ वर्षमा मलाई

आमा बाबाले सोचे जस्तै

छोरी बनाऊ

दाजु-भाईले सोचे जस्तै

चेली बनाऊ

दिदी-बहिनीले सोचे जस्तै

पवित्र माया दिने बनाउ,

भाउजु/बुहारीले सोचे जस्तै

नन्द/अमाजु बनाऊ

प्रभु !

मलाई “म” हैन

जस्ले जे जे चाहन्छन, त्यस्तै बनाऊ
मलाई उनीहरुले सोचे जस्तै

“ऊ” नै बनाऊ

सासु ससुराले सोचे जस्तै

बुहारी बनाऊ

श्रीमानले सोचे जस्तै

श्रीमती बनाऊ

छोराछोरीले सोचे जस्तै

आमा बनाऊ

देवर-जेठाजु/नन्द-अमजुले सोचे जस्तै

भाउजु/बुहारी बनाऊ

प्रभु

मलाई “म” हैन

जस्ले जे जे चाहन्छन, त्यस्तै बनाऊ
मलाई उनीहरुले सोचे जस्तै

“ऊ” नै बनाऊ

भान्जा-भान्जीले सोचे जस्तै

माइजु बनाऊ

ईष्टमित्रले सोचे जस्तै

आफन्त बनाऊ

साथी भाईले सोचे जस्तै

हितैषी बनाऊ

छिमेकीले सोचे जस्तै

असल मित्र बनाऊ

प्रभु

मलाई “म” हैन

जस्ले जे जे चाहन्छन, त्यस्तै बनाऊ

मलाई उनीहरुले सोचे जस्तै

“ऊ” नै बनाऊ

गार्हो छ प्रभु मलाई

यहां “म” भएर बांच्न

सकिंदो रैनछ आफ्ना

इच्छाहरु पुरा गर्न

त्यसैले प्रभु मलाई म हैन

जस्ले जे जे चाहन्छन

त्यहि नै बनाऊ

उनीहरुले सोचे जस्तै

“ऊ” नै बनाऊ

प्रभु! मलाई “म” होइन, मलाई “ऊ” बनाऊ !!

-अन्जली ढकाल, भर्जिनिया, युएसए
डिसेम्बर २७ २०२२

प्रतिक्रिया