पञ्चचामर छन्दकाे अभ्यास गर्दै “छन्दमा टुक्का अभ्यास श्रृङ्खला ४०” सम्पन्न !

इनेप्लिज २०७९ मंसिर २१ गते १०:३६ मा प्रकाशित

काठमाडौँ,


टुक्का साहित्य समाजकाे आयाेजनामा २०७९ मङ्सिर  १७ गते “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-४०” सम्पन्न भएकाे छ। छन्द प्रशिक्षकद्वय अनिल खग्रास र रामशरण न्याैपानेले प्रशिक्षण गर्नु भएकाे उक्त अभ्यासमा नेपाल भारत लगायत विश्वका विभिन्न देशहरूबाट १६ नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सहजीकरण टुक्का साहित्य समाजका अध्यक्ष तथा परिकल्पनाकार ताराप्रसाद चापागाईँले गर्नु भएकाे थियाे ।

विभिन्न छन्दहरू सिकाउँदै छन्दमा टुक्का कविता लेखनकाे विकास गरि नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यका साथ छन्दमा टुक्का लेखन अभ्यास श्रृङ्खला सञ्चालन भई रहेकाे छ । यस श्रृङ्खलाका सहभागीहरूले वार्णिक छन्द अन्तर्गत पञ्चचामर छन्दमा अभ्यास गर्दै टुक्का कविताहरू सिर्जना गरेका थिए।

कार्यक्रमकाे समापन गर्दै अध्यक्ष चापागाईं तथा प्रशिक्षकद्वय खग्रास र न्याैपानेले प्रयाेगवादी नव काव्यिक उपविधा टुक्का कवितामा छन्दकाे प्रयाेग गर्दै केही मात्रामा भए पनि छन्दमा काव्य सिर्जना गर्न प्रेरित गर्दै नेपाली भाषा साहित्यकाे जगेर्ना गर्ने प्रयास गरिएकाे जानकारी गराउदै उत्साहपूर्वक सहभागी भई पञ्चचामर छन्दमा सुन्दर टुक्का कविताहरू सिर्जना गर्नुभएका सहभागी सबै टुक्काकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

~~~~~~~~~~~~~~~~
::: पञ्चचामर छन्द :::

~ १६ अक्षर हुन्छन्।
~ सूत्र: isi sis isi sis isi s
~ आठ अक्षरमा विश्राम हुन्छ
~~~~~~~~~~~~~~~~

प्रशिक्षकद्वय: 
१) अनिल खग्रास
२) रामशरण न्याैपाने
परिकल्पनाकार/ सहजकर्ता: ताराप्रसाद चापागाईँ
अभ्यास भएकाे स्थान : अनन्त टुक्का यात्रा अभ्यास समूह
~ अभ्यास सञ्चालन भएकाे मिति: २०७९ मङ्सिर १७ गते शनिबार ।

अभ्यासकाे क्रममा सङ्कलन गरिएका पञ्चचामर छन्दका केही टुक्का कविताहरू 

[१]
झरेछ आँसु लौ न यो परेछ चोट आँतमा,
बनी कठोर बोल्दछ्यौ छुरा मिसिन्छ बातमा।
•खग्रास
[२]
हजार बिध्न छन् यहाँ, छ त्रस्त जिन्दगी अति
छ गर्नु कर्मयुद्ध नै, टिकेर खान जे जति ।
•रामशरण न्यौपाने
भक्तपुर
[३]
दुखेर टाउकाे हरे, छिमेक टाेलटाेलमा
खटेर काम जाेतियाे, बिकेर तुच्छ मोलमा।
• ताराप्रसाद चापागाईँ
धुनिबेसी ।
[४]
दियौ नि चोट बेस्सरी, छ भित्र पीर तड्पन,
दुखेर भैदियो हियो, अशान्त हेर झन् झन ।
•वसन्त अनुभव
घोराही, दाङ
[५]
१.
बिहान शैल टल्किदा, हिमाल हाँस्छ मस्किदै
उषा मुसुक्क हाँसिछिन्,उमंग ज्याेति पस्किदै।।
२.
प्रभात खुल्छ छाँटमा , अनाज झुल्छ फाँटमा
किसान दिन्छ खाद झैं,खुशी र हर्ष  आँटमा ।।
•इन्दिरा प्रयास
सानाेठिमी,भक्तपुर
[६]
१.
स्वदेशको मियो उही रहेछ झै हुँदै गयो
चुनाव पर्खियौं बस्यौं बिडम्बना यही भयो ।
२.
न बाँचियो खुशी खुशी न देशले लियो गति
बितेछ काल बेसरी भएन राष्ट्र उन्नति ।
•चूडा निर्भीक
सिम्पानी गोरखा
[७]
बिहानदेखि  चाहना प्रदर्शनी कला, सुख,
मुहार पुस्तिका हरे फिॅंजाउने कहाँ मुख ?
•म्यामराज राई
हतुवागढी- ६,भोजपुर
[८]
१.
खुसी भएर बाँच्छु याे छ नै ल चाहना कति,
यसैगरी सधैँ ल हाँस्छु  गर्छु कामना यति ।
•शाेभा आचार्य गाैतम
काठमाडौँ
[९]
१.
छ रोगले र शोकले, सताउँदै छ जीवन,
बसेर आज के गरूँ, लिएर हातमा धन ।
२.
सहेर एकता गरौं, रहेर त्यो समाजमा,
हुनेछ भाइभाइमा, रमाइनेछ माझमा ।
•बेदु न्यौपाने
काठमाडौ
[१०]
१.
बुढो भएछ गोरु नै, गएन जोत्न खेतमा
पिटे धुरुक्क रून्छ लौ, घुसेन केहि चेतमा।
२.
तिहार चाड गैगयो, दिदी त आश मार्दछिन्
अगाध प्यार पस्किदै ,बलिन्द्र आँसु झार्दछिन् ।
•बाबुराम गौतम
गुल्मी
[११]
१.
सहेर बन्छ मोहडा खुशी छु भन्छ बातले,
लगेर हुन्न श्रेष्ठता नभुल्नु राय हातले।
२.
लुकाइ राख भावना नसम्झ क्षीण कोपिलो,
तिखो छ काँड घोचुवा छदैछ साथ घोपिलो।
•अच्युत घिमिरे
भुटानबाट
[१२]
नरोउ आँसुको ढिका, खसाइ त्यो कुना पसी
बजाउ  बाँसुरी  बरू ,  यही  दलानमा  बसी ।
•डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा ।
[१३]
१.
पढेर ज्ञान शानले, रमाउदै गए कता,
सकेर दौलतै यहाँ,असाहले जलेँ मता।
२.
थिएन पाप लोभको,भरेर दान गैगयो,
दिनै ढलेर रातमा,बिजोग अन्ध भैगयो।
•होम प्र.नेउपाने
धरान,सुनसरी ।
[१४]
बढाउ जीत नै सधै ज्ञान, मान, शानकाे
हटाउ रीत नै सबै घमण्ड युक्त मानकाे ।
•निरज काेइराला
इटहरी ।
[१५]
यहाँ अनेक साँगुरो त राजमार्ग बन्दछन्
सपार भ्रष्टचार यो, समाजभित्र  भन्दछन् ।
•भगवती दवाडी
झापा
[१६]
लगाम धारमा अनेक सारमा छ जिन्दगी
समान मागमा लिनेछु पारमा जसै बगी।
•जमुना आचार्य
सिन्धुपाल्चोक

::::: जय टुक्का! जय साहित्य!! :::::

प्रतिक्रिया