‘बयान नै कहाँ गर्न सक्छु र म!’

रजनी (कन्चन) मल्ल २०७९ कार्तिक ३ गते २१:३२ मा प्रकाशित

बिशाल आकाशले मुग्ध भै धर्तीलाई हेरेको

सुर्यले खुशी हुदै प्रकाश छरेको

पहाडले अग्लिदै आकाश छुन खोजेको

नदीले गुनगुनाउदै संगीत छरेको

त्यो प्रकृतिको सुन्दरताको बयान कहाँ नै गर्न सक्छु र म !

पवनको झोका संगसंगै सल्लाघारी सुसेलिएको

अनि रुखका पातहरु रमाउदै नाचेको

आकाश माथि बादलले पानीका बुद्हरु समेट्दै

धर्तीलाई सिंचित गर्न खोजेको

अनि पवनको गति संग संगै सुन्दर चित्र कोर्न खोजेको

त्यो बादलको बयान कहाँ नै गर्न सक्छु र म !

पहाडको उचाईबाट शितलता छर्दै झरणा झरेको

अनि धर्तिको चट्टान संग ठोक्किदै नदीसंग मिलेको

सागर संग मिल्न आतूर हुदै हरियो खेत बीच बगेको

त्यो नदीको बयान कहाँ नै गर्न सक्छु र म !

चराचुरुंगीको सुमधुर आवाजले हरियालीलाई मुग्ध बनाएको

अनि अन्य जनावरहरुले मन्त्र मुग्ध भै प्रकृतिलाई पछ्याएको

सप्तरंगी इन्द्रधनुले सुन्दरता छर्दै क्षितिज पारि रंगिन बनाएको

त्यो इन्द्रधनुको बयान कहाँ नै गर्न सक्छु र म !

पवनको झोक्का संगसंगै मडारिदै बादल उडेको

पलाक पुलुक गर्दै बिजुली चम्केको,

अनि धर्ती नै थर्किने गरि मेघ गर्जेको

सबैलाई मोहनी लगाउदै धर्तीलाई रुझाउन खोजेको

त्यो बर्शिरहने झरीको बयान कहाँ नै गर्न सक्छु र म !

अन्धकार रातमा अनगिन्ती ताराहरुले सजिएको

अनि चारैतिर प्रकाश छर्दै चन्द्रमा मुस्कुराएको

सुनसान रातमा मस्तसँग धर्ती निदाएको

त्यो सुन्दर चाँदनी रातको बयान कहाँ नै गर्न सक्छु र म !

आखिर प्रकृति त् प्रकृति नै हो, अनगिन्ती सौन्दर्यताले भरिएको

न त् कुनै छलकपट नै लुकेको, न त् कुनै कृतिमताले सजिएको

बस् प्रकृतिले यी अमुल्य प्राकृतिक दृश्यहरु बरदान स्वरुप दिएको

त्यो प्रकृतिको सुन्दरताको बयान कहाँ नै गर्न सक्छु र म !

-रजनी (कन्चन) मल्ल

प्रतिक्रिया