मैले तपाईंको रगतले नुहाएको छु
तपाईंको पसीनाले धोएको छु
तपाईंको सिटामोलमाथि खेलेको छु
तपाईंको अधिकारमाथि ताण्डव मचाएको छु
देशको छातीमा आसेपासे नचाएको छु
खाने पनि खाएको छु
नखाने झन खाएको छु
न्याय किनेको छु
आफ्नामात्रै चिनेको छु
कर्णाली रुवाएको छु
गण्डकी तुहाएको छु
नाता पोसेको छु
युवालाई मरुभूमितिर झोसेको छु
तपाईंको घरबार उठएर
आफ्नो दरबार ठडाएको छु
अझै पनि कत्ति लाजै नमानी
सातौं पटक म चुनावमा उठेको छु
तर मलाई भोट कत्ति नहाल्नू
हाल्नै परे उसलाई हाल्नू
जसले होलीवाइन खाएको छैन
विदेशीअगाडि लम्पसार लाएको छैन
देशको सिमाना देखेको छ
सगरमाथाको सफा हिउँले इतिहास लेखेको छ
विश्वको अनुहार बुझेको छ
जो तराईलाई सलाम गर्छ
पहाडको आदर गर्छ
हिमालको पूजा गर्छ
मेरो पेटमा त पुल कुहेको छ
राष्ट्रियाता तुहेको छ
बाटो भत्केजस्तै भत्केको छ मेरो अनुहार
गल्लीको फोहरजस्तै गन्हाएको छ मेरो पहिचान
मैले छिमेकीको फरिया बेरेको छु
आफ्नै मन्डलीहरूको नाङ्गो नाच हेरेको छु
मेरा आँखा पापी छन्
मेरा बोल्ने भाका पापी छन्
मेरा हात दुष्ट छन्
मेरो टाउको रुष्ट छ
गाली मलाई पूजा गर्ने थालीजस्तै हो
ताली मलाई बगैंचाको मालीजस्तै हो
म बोलेर कहिल्यै थाक्दिनँ
विकास के हो हेक्कै राख्दिनँ
त्यसैले मलाई कत्ति भोट नहाल्नू
हाल्नै परे
गिदी सद्दे भएको हेर्नू
मन भव्य भएको हेर्नू
जसले कालोलाई कालै भनोस्
सेतो नभनोस्
सेतोलाई सेतै भनोस्
कालो नभनोस्
कम्तीमा पढेको हेर्नू
सडेको नहेर्नू
यस्तालाई भोट झ्याप्पै ठोक्नू
दुष्टलाई भोट ढ्याप्पै रोक्नू ।
-जगन्नाथ पौडेल
प्रतिक्रिया