गाउँमा फेरी “साधु” आए रे 

-दिपेश पराजुली २०७९ असोज ७ गते २१:५६ मा प्रकाशित

सानोमा सुनेको-

कुनै पनि मानिसले एउटै नदिमा
दुई पटक टेक्न सक्दैन रे
किनकि दोस्रो पटक टेक्दा
त्यो मानिसको भाव अर्कै
त्यो नदिको बहाव अर्कै
जल होस् या स्थल होस्
आकाश होस् या भूतल होस्
हर क्षण ब्रह्माण्डको स्वभाव अर्कै
तर, अपवादमा केहि “साधु” यस्ता हुन्छन
जसले शक्तिशाली समयलाई पनि घुमाइदिञ्छन
आफ्नो तिलिस्मी प्रभावलेसमयको सघन धारालाई पनि थामिदिञ्छन
घटना, परिघटना- अकारण, यहाँ सधैं दोहारिन्छ
मर्त्यमंडलको गतिविधिमा मानिस त्यसै घेरिंछ
तर हरेक पांच वर्षमा
समय, टक्क फेरी त्यहीं आएर उभिन्छ
अनि ती पुरानै साधुहरु
आफ्ना “देदिप्यमान” अनुहार लिएर
भोट माग्न गाउँ गाउँमा फर्किन्छन ।

ती त्यस्ता महान साधु,
जो तिम्रा गाइ चोर्छन र
तिमीलाई दूधभातका सपना बाँडछन
जो तिम्रा भाइ मार्छन र
र तिमीलाई भातृत्वको दर्शन सुनाउंछ्न
जो आस्थाका पूलहरु भत्काएर
बैमनस्यको पर्खाल लगाउंछन
जो तिम्रो बहुमुल्य समय छिनेर
हातमा नयाँ घडी किनिदिञ्छन
मिलुन्जेल उनीहरु तालमेल गर्छन
नमिले त्यसलाई नै जालझेल भन्छन
तिनको न कुनै सोच, न कुनै सिद्धान्त
लुट्नलाई नचाहिने कुनै वेद वा वेदान्त
त्यस्ता दिब्यपुरुष, त्यस्ता मायावी साधु,
घर-घरमा फेरी छाए रे
गाउँमा फेरी साधु आए रे !

गाउँ त भनिहालें माथि
अब त ठाउँ मात्रै भन्नु पर्ला
भग्नावशेष मात्रै रह्यो अब गाउँ त
भावाभेशमा दुख्छ मात्रै अब घाउ त
मरुभूमि झैँ लाग्ने बाँझा खेतहरु
दिउँसै तर्साउने सम्झनाका प्रेतहरु
बिछोडमा विक्षिप्त मनहरु
चाहनामा भड्किएका तनहरु
अनगिन्ति आकांक्षाहरु भुलाई आज
युवा खाडीमा पसिना बगांउछ्न
निर्जर, निर्धन, निसार भविष्य सम्झेर
आखाँ तिनको त्यसै रसांउछन
तिनका बृद्ध बा-आमा कतै कुरिरहेछन
उमेरले भन्दा बढी निर्जनताले मुर्मुरिरहेछन
बिदेसिएको छोरो – बाकस बोकेर आउने कि
बाकसमा सुतेर आउने हो थाहा छैन
देहमा भन्दा मनमा चोट धेरैनदुखेको आखिर कहाँ छैन ?

ती माथिंगलमा समृद्धिका गफहरु त कति सुनिए
कल्पनाको सागरमा पानीजहाजहरु त धेरै तैरिए
तर यथार्थ अर्कै छ-गाउँ, आज गाउँ जस्तो छैन
मन त छ धेरै,
तर यत्तिकै फर्केर जाउँ जस्तो छैन !

जे होस्, सहर्ष सुनियो फेरी –
गाउँमा साधुहरुको मेला लाग्यो रे
सित्तैमा पाइने सपनाहरुको ठेला लाग्यो रे
फेरी हुनेछ खाना, गाना अनि बजाना
अर्को पांच वर्षको लागि सुनौला योजना
भक्तहरुको त्यो लावालस्कर
मायावीहरुको त्यो घनचक्कर
पुराना आश्वासनहरुको बाँडफाँट
नयाँ क्रांतिहरुको गड़गड़ाहट
तिमी चैँ – लाचार अनि निर्बिचार,
साधुका मुखार्बिन्दुबाट निस्किने अमृत बचन पिउनु
उन्नति र समृद्धि पुरानै प्रवचनमा जिउनु
बरु आइदिएकोमा अनुग्रहित हुनु ती मूर्धन्य प्रति
पाउ बिझ्ला तिनको- हटाइदिनु बाटोका काडाँहरु जति
पुनश्च, बधाई छ –

गाउँमा फेरी साधु आए रे
तिर्खा मेटाउने कुवा, आज आफै धाए रे
तिर्खा मेटाउने कुवा, आज आफै धाए रे !

–दिपेश पराजुली

प्रतिक्रिया