मैले सरल र सहज अभिव्यक्तिका धनी साहित्यकार डा. खगराज बरालका सहित्यिक कृति पढ्ने गरेको छु । केही महिना पहिले मालामा नउनिएका फूलहरू नामको लेख सङ्ग्रह पढ्ने अवसर पाएँ । त्यसमा लेखक बरालका पढिरहुँ जस्तो लाग्ने बिस ओटा लेख रहेछन् । यी बिस ओटा लेख फरक फरक विषय क्षेत्रका र फरक फरक प्रकारका तर अत्यन्त उपयोगी र सन्दर्भिक सन्देश दिने रहेछन् । फरक फरक विषय क्षेत्रका लेखको सङ्ग्रह भएकाले उहाँले कृतिको नाम ‘मालामा नउनिएका फूल’ राखेको हुनसक्छ । यहाँ म ती बिस ओटा लेख पढेर बुझेका सन्देशको सार प्रस्तुत गर्न सान्दर्भिक ठान्छु ।
सङ्ग्रहको पहिलो लेख आमा बाबुका कुरा भन्ने शीर्षकको रहेछ । यसमा लेखकले मानिसहरू आमाबाबु पाल्ने भन्छन् तर आमाबाबु पशुहरू जस्तै पालिने होइनन् भन्न खेज्नुभएको छ । सन्तानले आमाबाबुको सेवा, सहयोग, हेरचाह गर्ने हो तिनको सल्लाह लिने हो । यसलाई पशु पाल्ने जस्तो गरेर भन्न मिल्दैन भन्ने लेखको राय छ ।
सङ्ग्रहको दोस्रो लेख हिजो र भोलि भन्ने शीर्षकको छ । यसमा लेखकले हामी पुरानो पुस्तले के के कुरा कसरी सिक्यौँ, त्यसले हाम्रो जीवनलाई कसरी व्यावहारिक बनाएको छ र नयाँ पुस्ताले के के कुरा सिक्न पर्छ भनेर सिक्ने कुराको लामो सूची नै दिनु भएकोछ ।
सङ्ग्रहको तेस्रो लेख बिहेका कुरा भन्ने शीर्षकको छ । यसमा लेखकले मानिसहरूले प्राकृतिक जीवन जीउन, पारिवारिक जीवन बाँच्न, सन्तान हुर्काएर परिपक्व हुन र पुस्ता निर्माणका लागि उमेर पुगेपछि बिहे गर्नैपर्ने सन्देश दिनुभएको छ ।
सङ्ग्रहको चौथो लेख खाना सबैका लागि भन्ने शीर्षकको रहेछ । यसमा मानिससहित सबै प्राणीलाई बाँच्नका लागि खाना चाहिने भएकाले खेतीयोग्य जमिनमा खेती लगाउने, अन्नबाली उब्जाउने, उब्जाएको खानेकुरा बाँडेर खाने, अन्नदान महादान भएकाले नहुनेलाई भोजन दान गर्ने भन्ने कुरा उल्लेख छन् ।
सङ्ग्रहको पाँचौ लेख बर, पिपल, समी र सुगा शीर्षक भन्ने छ । यो लेख आम मानिसले बुझ्नैपर्ने तथ्यपरक लेख रहेछ । यस लेखमा बर, पिपल र समीको फल चराले खाएर बिस्टाएपछि मात्र बिस्टामा रहेका मसिना बिउका गेडाबाट बर, पिपल र समीका बिरुवा उम्रिने तर भूइँमा झरेरको फलबाट बिरुवा नउम्रने कुरा उल्लेख छ । यस्तो साँचो सत्य कुरो मलाई यस अगाडि थाहा थिएन । उल्लिखित कृति पढेपछि मात्र यस कुराको जानकारी हुनगयो । बर, पिपल र समीको फेदमा यी वनस्पतिका बिरुवा हुँदैनन् । चरा उडेर पुग्ने घरका छतका कुनाकानी र रुखका टोड्कामा भने बर, पिपल र समी उम्रेको भेटिन्छ । सायद पिपलको जातसँग मिल्ने काब्रो, दुधिलो पनि यसै गरी उम्रने हुन्छन् ।
छैटौँ लेख कृष्णसारका कष्ट भन्ने शीर्षकको रहेछ । यो लेख पनि आम मानिसले बुझ्नैपर्ने तथ्यपरक लेख रहेछ । कृष्णसारले लामो छिप्पिएको घाँस नखाने रहेछन् । तिनले भर्खर पलाएको कलिलो छोटो घाँस मात्र खाने र तिनका लागि त्यस्तो घाँस उपलव्ध नभए तिनको जाति नै लोप हुनसक्ने रहेछ ।
सातौँ लेख कुकुरका कुरा भन्ने शीर्षकको रहेछ । यसमा लेखकले कुकुर मानिसको साथी, सेवक, रक्षक आदि भएकाले यसलाई पाल्न सकिन्छ तर व्यवस्थित तरिकाले पाल्ने, सडक घुमाएर फोहोर नगाराउने र पालेको कुकुर सडकमा छोडेर भुस्याहा हुन नदिने सन्देश दिनुभएको छ ।
मृगसँग बातचित भन्ने आठौँ लेखमा मानिस कृत्रिमतामा बाँचेको र उसले अन्य सबै प्राणीमाथि थिचोमिचो गरेको र कतिपयलाई लोपको अवस्थामा पु¥याएको भन्ने मार्मिक सन्देश छ ।
सङ्ग्रहको नवौँ लेख अतिथि आसनमा अलमल भन्ने शीर्षकमा छ । यसमा सरकारका औपचारिक कार्यक्रममा आयोजकलाई साना साना कुराले कार्यक्रम सञ्चालनमा अप्ठ्यारो हुने कुरा उल्लेख छ । एक पटक लेखक प्रमुख अतिथि हुन गएको कार्यक्रममा उहाँभन्दा माथिको मर्यादाक्रमा भएको पदाधिकारी सहभागी हुन आउनुभएकाले आयोजकलाई कार्यक्रम सञ्चालनमा अप्ठ्यारो परेछ । यसमा लेखकले सहभागी हुन आउनुभएको पदाधिकारीलाई नै प्रमुख अतिथि बनाउन सल्लाह दिएर अप्ठ्यारोको निकास दिनुभएको रहेछ ।
दसौँ लेख विद्वान् र बुद्धिजीवी भन्ने शीर्षकमा छ । यस लेखमा विद्वान् र बुद्धिजीवी छुट्याउने सहज उपाय दिइएको छ । विद्वानले अरुले के भनेका छन्, सिद्धान्तका कुरा गर्ने गर्छन् । बुद्धिजीवी भने आफूले देखेभोगेका अनुभव सिद्ध पाका कुरा गर्छन् । विद्वान् किताबी हुन्छन् भने बुद्धिजीवी व्यावहारिक र आफ्नो सोच विचारले चल्ने हुन्छन् ।
एघारौँ लेख के राम्रो के नराम्रो भन्ने शीर्षकको छ । यसमा लेखक हरेक समुदायका आआफ्नै सँस्कार सँस्कृति हुन्छन् र सबैलाई आफूले अभ्यास गरिआएका संस्कार संस्कृति मात्र राम्रो लाग्छ भन्नुहुन्छ । आफ्नो संस्कार संस्कृति राम्रो लाग्नेले अरूकालाई पनि त्यही नजरले हेर्नुपर्छ र सम्मान गर्नुपर्छ । यो राम्रो यो नराम्रो भनेर केलाउनु हुँदैन ।
अपरिचित परिचित भएपछि भन्ने शीर्षकको बाह्रौँ लेखमा लेखकले एक जना दृष्टिविहीन सहपाठी उहाँसँग परिचित भएपछि उहाँहरूका बिचमा लामो समय रमाइलो मित्रता कायम भएको, आपसमा सहयोग हुने गरेको र ती मित्रको देहावसनको कुरो सुन्दा उहाँलाई सारै दुःख लागेको कुरा कुरा व्यक्त गर्नुभएको छ । यसमा दृष्टिविहीनले पनि परेका बेला सहयोग गर्नसक्छन् भन्ने कुरा पनि बताइएको छ ।
सङ्ग्रहको तेह्रौँ लेख तीन पोर्टको रहर भन्ने शीर्षकमा छ । यसमा लेखकले कर्मचारीको विदेश भ्रमणका आशक्ति र विकृतिका बारेमा व्यङ्ग्यात्मक प्रस्तुति गर्नुभएको छ । तीनओटा पोर्टको रहरमा पासपोर्ट बनाउने रहर, अन्तर्राष्ट्रिय एयरपोर्ट टेक्ने रहर र पानी जहाजको पोर्ट (सिपोर्ट) वा बन्दरगाह हेर्ने रहर पर्ने रहेछन् । कर्मचारकिो विदेश भ्रमणको उद्देश्य केही सिक्नेभन्दा पनि घुम्ने, रमाइलो गर्ने र आम्दानी गर्ने भन्ने हुने रहेछ । यसमा कर्मचारी हरतरहले विदेश जान खोज्ने र पहुँचवाला पटकपटक विदेश भ्रमणमा गइरहने तर कोही भने पासपोर्ट नबनाइ अवकाश हुने विसङ्गति पनि उल्लेख छ ।
सङ्ग्रहको चौधौँ लेख अमेरिकी प्रोफेसरको सरल मन्तव्य भन्ने शीर्षकको रहेछ । यसमा लेखकले एकदम साधारण देखिने अमेरिकी विद्वान् प्रोफेसर जोन डेभिड स्निडरले सरल तरिकाले गुणस्तरीय शिक्षाका लागि के गर्नुपर्छ भन्ने बारेमा गहन विचार व्यक्त गरेर सहभागी विद्वानहरूलाई प्रभाव पारेको कुरा बताउनु भएको छ । यस कार्यव्रmममा प्रोफेसरले ‘क्याच इन द राइ’ उपन्यासको पात्र होल्डनका बारेमा बताएर शिक्षकले त्यही पात्रको जस्तो भूमिका निभाइदिए शिक्षामा परिवर्तन आउने कुरा बताएका रहेछन् ।
सङ्ग्रहको पन्द्रौँ लेख बालीको बास भन्ने शीर्षकको रहेछ । यसमा लेखकले इन्डोनेसियाको पर्यटकीय नगर बालीमा रहेका हिन्दु, उनीहरूको छुापछुत रहित वर्णाश्रम व्यवस्था, त्यहाँको भाषामा संस्कृतको अधिक प्रभाव, त्यहाँका हिन्दु देवी देवतासहित पिँजडामा पालिएका वन बिरालाका माध्यमले कफी प्रसोधनको रोचक कहानीको वर्णन गर्नुभएको छ ।
सोह्रौँ लेख फिलिपिन्सको सङ्घीयता भन्ने शीर्षकमा छ । यस लेखमा फिलिपिन्समा हालमा विकेन्द्रीकरणको राम्रो अभ्यास भएको र मिन्डानाओ टापुको समस्या समाधानका लागि सङ्घीयताका बारेमा छलफल गर्न थालेको कुरा बताइएको छ ।
सत्रौँ लेख संसद विघटनदेखि संसद विघटनसम्म भन्ने शीर्षकमा छ । यस लेखमा बि.सं. २०५१ सालको प्रतिनिधि सभा विघटन र मध्यावधि निर्वाचनको घोषणाका कारण देश अस्थिर राजनीतिमा प्रवेश गरेर पटक पटक संसद विघन गर्ने परम्परा बसेको र बारम्बार परिवर्तन हुने सरकारका कारण एउटा अधिकृत तहको कर्मचारी समेत कसरी प्रभावित हुनुप¥यो भन्ने कुरा मार्मिक तरिकाले बताइएको छ ।
सङ्ग्रहको अठारौँ लेख नेपालको शिक्षामा मेकालेको मनोमानी भन्ने शीर्षकको रहेछ । यसमा लेखकले अङ्ग्रेज शासन कालमा भारत भूमिमा मेकाले नामका शिक्षा विद्को सिफारिसमा पूर्वीय संस्कृतिमा आधारित शिक्षाको सट्टा अङ्ग्रेजी भाषासहित पश्चिमी मुलकको संस्कृतिमा आधारित कारिन्दा उत्पादन गर्ने शिक्षा लागु भएको, त्यही शिक्षा नेपालमा कपी गरिएको र हालसम्म पनि नेपालको शिक्षामा मेकालेकै शिक्षा प्रणाली हावी रहेको कुरा बताउनु भएको छ ।
सङ्ग्रहको उन्नाइसौँ लेख वैदिक दर्शन गुरुकुलीय शिक्षाको आधार भन्ने शीर्षकको रहेछ । यसमा लेखकले वैदिक दर्शन संसारको ठुलो ज्ञान भण्डार रहेको र गुरुकुल शिक्षामार्फत यस ज्ञान भण्डारको रक्षा, प्रचार प्रसार र पुस्तान्तरण हुँदै जानुपर्ने बताउनु भएको छ ।
बिसौँ लेख अदावी भन्ने शीर्षकको रहेछ । अदावी भन्ने शव्द खासै प्रयोगमा आएको शब्द होइन । लेखकले यस शव्दको राम्रो प्रयोग र प्रचार गर्नुभयो । यस शब्दले दावी नगर्ने वा त्यागी भन्ने अर्थ दिने रहेछ । यस लेखमा पौराणिक, प्राचीन र आधुनिक कालका त्यागी महापुरुष र नेपाल र बाहिरी देशका राजनीति क्षेत्रका त्यागी नेताको नाम उल्लेख छन् । लेखकले नेपालको शासन प्रशासनमा अधिकांश कर्मचारी सरकारी स्रोत उपभोगमा लुछाचुँडी गर्ने भए पनि केही कर्मचारी अदावी स्वभावका पनि रहेछन् भन्ने बताउनु भएको छ । उनीहरू पाउने सुविधा वा दिइएको सुविधा पनि दावी गर्दैनन् । देशमा यस्ता कर्मचारी पनि रहेछन् भन्ने पढ्दा गर्वको महसुस भयो । यो लेख साँच्चै गहन विषयको रहेछ । यस लेखले पाठकलाई इमान्दारिताको सन्देश दिएको छ ।
जे होस यो लेख सङ्ग्रहले पाठकलाई जानकारी नभएका अनेकन कुराको जानकारी गराउँछ । सिक्नुपर्ने कुरा र बुझ्नुपर्ने कुरा सिकाउँछ, बुझाउँछ । लेख सङ्ग्रह पढ्दा आनन्द लाग्छ, मनोरञ्जन पाइन्छ । यस्तो मूल्यवान लेख प्रकाशन गरेर हामीलाई पढ्ने अवसर दिनुभएकामा लेखकलाई धन्यवाद । सफल लेखनका लागि बधाइ पनि ।
डा. जयप्रसाद लम्साल
प्रतिक्रिया