विन्दुहरु वीच हरिवंशराय बच्चन

किशोर पहाडी २०७९ साउन ६ गते २२:५२ मा प्रकाशित

शुरुमा मैले हरिवंशराय बच्चनलाई कलाकार अमिताभ बच्चनको बाबुको रुपमा चिनेँ । त्यसको धेरैपछि मात्र उहाँ त कवि पनि हुनुहुन्छ भन्ने थाहा भयो । हुनपनि फिल्मी कलाकार र लेखक कविवीच प्रसिद्धिको विषयमा तुलना गर्नु व्यर्थ छ । निकै कम योगदान दिने फिल्मी कलाकार प्रसिद्धिको शिखरमा पुग्छन् भने लेखक कविहरु चाहिँ दशकौँको कठीन साधना पश्चात पनि जनमानसबाट हराइरहेका हुन्छन् ।

हरिवंशराय बच्चनका ६० वटाभन्दा बढी पुस्तक प्रकाशित भइसकेका रहेछन् र अझैँ पनि ‘हरिवंशराय बच्चन ?’ भनेर अल्मलिनेहरू छन् । यो एकाध महिनाभित्र मैले यी नै हरिवंशराय बच्चनको आत्मकथाका पुस्तकहरु पढ्ने अवसर पाएँ ।

‘क्या भूलूँ क्या याद करुँ’, ‘नीड का निर्माण फिर’, ‘बसेरे से दूर’ र ‘दसद्वार से सोपान तक’ शिर्षकमा चार भिन्न भागमा विभाजित आत्मकथाका पुस्तकहरु पढिसकेपछि मलाई यसले धुम्म पारी प्रभावित पारिराख्यो । मैले जीवनमा पढेका पुस्तकहरु मध्ये यति इमान्दारीका साथ, साहसका साथ लेखेको उच्च साहित्य पहिले पढेको थिइनँ ।

आत्मकथा उहाँले आफ्नो वंशको कथाबाट शुरु गर्नु भएको छ — करीब ५–६ सय वर्षअघिको कथाबाट । त्यतिखेरका ‘पाण्ड’े उपजातिका एक ब्राम्हणको कन्याबाट भारतका विभिन्न स्थानमा फैलिएका मध्ये श्रीवास्तव हरिवंशराय बच्चनका पुर्खा हुन् । ‘बच्चन’ उहाँको थर होइन । घरमा ‘बच्चा’ भनेर बोलाइने नाम हो । पछि यही नाम छोरा, नाति, पनातिनीसम्म सरेर गइसकेको छ । हाल ‘आराध्य बच्चन’ पनातिनीको रुपका यस पृथ्वीमा पदार्पण गरिसकेको कुरा त जगजाहेर नै छ ।

आफ्ना मातापिताका उहाँ छैठौँ सन्तान । भगवानदेइ उहाँभन्दा सात वर्ष जेठा । हरिवंशराय नाम राख्नुको पनि कारण छ — भगवानदेइपछि जब दुई बच्चाहरु कम उमेरमै बितेर गए, पण्डित रामचरण शुक्लले उहाँका बाबु प्रतापनारायणलाई आमा गर्भवति हुँदा ‘हरिवंश पुराण सुनाउनू, ठीक हुन्छ’ भनेका रहेछन् । हरिवंश पुराण सुनाइयो पनि र नाम नै ‘हरिवंश’ राखिएको रे ।

उहाँले आफूले आत्मकथा लेख्नुको कारणमा भन्नु भएको छ — ‘के कहिल्यै सुविधाका साथ बसेर, बितेर गएका दिनहरुको रील इच्छानुसार , इच्छित गतिमा, सीधा उल्टो चलाएर, रोकेर, जिइसकेकोलाई फेरि जिएर होइन जिइसकेकोलाई अधिक व्यापकतासित, अधिक गम्भिरतासित, अधिक सघनताकासाथ अर्थात कलामा, सिर्जनामा जिएर, यी रंगरुप, ध्वनिहरु, घटनाहरु, भावनाहरु मध्ये केहीलाई समात्न सकिन्छ ? यो प्रयास यही लेखन हो ।…’ र उनको यो लेखन प्रयास बडो बुलन्द बनेर आएको छ ।

उहाँको शिक्षा स्थानीय कायस्थ पाठशालामा भयो र पछि ईलाहावाद विश्वविद्यालय र बनारस विश्वविद्यालयमा पनि पढ्न पुग्नुभयो । उन्नाइस वर्षको उमेरमा उहाँको विवाह चौध वर्षकी श्यामासँग भयो । उहाँले लेख्नुभएको छ ‘श्यामा मेरो अगाडि बिल्कुल बच्ची जस्तै थिई । सोझी, सानी, केही नजान्ने, नबुझ्ने, हँसिली कुनै यस्तो बगैँचाकी गुलाफकी कोपिला थिई, जसले न कहिल्यै पतझड देखेको छ, न काँडासँगको निकटताको बारेमा नै थाहा छ ।’

क्रूर समयको कारण तर श्यामा क्षयरोगले ग्रस्त भइन् । साधारण ट्युसन स्युसन गरेर चलाउनु पर्ने परिवार झन् झन् जर्जर हुँदै गयो । एक ठाउँमा त उहाँ यति धेरै निराश र व्यथित हुनु भएको छ कि… …

उहाँकै शब्दमा — ‘म अब आफू पढ्नको लागि कमाउँ कि श्यामाको उपचारको लागि ? म जति कमाउन सक्थेँ, उपचारको निम्ति त सारै थोरै हुन जान्थ्यो । यसैवीच एउटा अर्को अपमानजनक घटना घट्यो । घर बनाउँदा ईटावालको दुई हजार जति दिन बाँकी थियो । त्यसले नालिश हालिदियो । ईटावालाले घर लिलाम गराएर रुपैया असुल गर्ने भए अब र एक दिन अमिन आएर डिमडिम गर्दैे फुक्न थाल्यो– फलक खुदा का, मुलुक बादशाह का, हुकुम बडे साहब का, बाबु प्रतापनारायण वल्द भोलानाथ का मकान नीलाम होता है जिसको बोली बोलना हो आगे आए… घर टोलमा धुमधामसँग हाम्रो गरीबीलाई नांगो पार्ने यी शब्दहरुले हामीलाई बडो अपमानको अनुभव भयो । घरमा सबैलाई जमिन फाटोस् र त्यसभित्र एकएकगएर हामफालैाँ जस्तो लाग्यो । नयाँ ठाउँ भएकोले मात्र पुरानो ठाउँ भएको भए हामी सबै आत्महत्या गर्नेथियौँ ।’

जिन्दगी हो यो । मानव जिन्दगी हो, विचित्र छ । कुनै समय यसरी सामुहिक आत्महत्या गर्छु भनी सोचेको परिवारको अर्को पिढीको हैसियत अहिले भारतमा कस्तो छ कसैबाट लुकेको छैन ।

सक्दो सेवासुश्रुषा गर्दागर्दै पनि हरिवंशका पहिली पत्नी श्यामाको अन्ततः निधन हुन्छ । त्यसको पाँच वर्षपछि अनि उहाँले विवाह गर्नुहुन्छ तेजी बच्चनसँग । तेजी बच्चन अर्थात् अमिताभ बच्चनकी आमा ।

तेजी बच्चन पनि अभिनयमा रुचि राख्ने महिला रहिछिन् । हरिवंश लेखनमा, तेजी अभिनयमा । शेक्सपियरका नाटकहरु हरिवंशराय र तेजी दुबै मिलेर अभिनय गर्ने गराउने गर्दा रहेछन् । अमिताभ बच्चनको अभिनय प्रतिभाको सम्बन्धमा एक ठाउँमा उहाँले यस्तो पनि लेख्नुभएको छ — ‘मलाई सम्झना छ १९४२ को भारत छोडो आन्दोलनको समय जब संकटकाल लागु गरिएको थियो र युनिभर्सिटी २– ३ महिनाको लागि बन्द गराइएको थियो, हामीदुबै (हरिवंश र तेजी) घरमै बसेर शेक्सपियरका नाटकहरुको सम्वाद अभ्यास गर्दथ्यौँ । अमित (अमिताभ) पेटमा थियो । अब मान्छेहरु सोध्छन् अमिताभमा अभिनयको प्रतिभा कहाँबाट आयो भनेर । म ती दिनहरु सम्झदै प्रतिप्रश्न गर्दछु – अभिमन्युले चक्रव्युहबाट बाहिर निस्कने कुरा कहाँबाट सिकेका थिए ?’

रमाईलो । रमाईलो कुरा हो यो तर अमिताभ बच्चन बच्चैबेलादेखि अभिनयमा राम्रा थिए भन्ने कुरा यसबाट पनि थाहा पाइन्छ कि नैनीताल स्कूलमा गोगोलको नाटक इन्स्पेक्टर जनरल मञ्चन गर्दा अमिताभले १५ वर्षको उमेरमा झण्डै ४५ वर्षको मेयरको भूमिका गरेका थिए । त्यो भूमिका अमिताभले बडो आत्मविश्वासका गरेका थिए र नाटकको अन्तमा निर्णायकहरुले सर्वश्रेष्ठ अभिनयको पुरस्कार ‘केण्डल कप’ अमिताभलाई नै दिएका थिए । तर त्यतिखेर कसैले पनि सोचेका थिएनन् कि समयको अन्तरालले अमिताभलाई यति प्रिय र सर्वेात्कृष्ट अभिनेता बनाउँछ भनेर ।

एउटा घटनाको उल्लेख छ — उहाँको कविताको प्रभावले एक प्रशंसकलाई परेको प्रभाव निकै मार्मिक छ । एक दिन उहाँ बरेलीमा कवि सम्मेलनमा भाग लिन जानु भएको थियो । त्यहाँ रेलवे स्टेशनमा कोट प्यान्ट लगाएका एक नवयुवक उहाँलाई भेट्न आउँछन् । आफू उहाँको प्रशंसक भएको र कविता सुन्न आएको कुरा गर्छन् । कविगोष्ठीमा हरिवंशले कविताहरु पढ्नुहुन्छ र अन्तमा ‘पाँच पुकार’ कविता वाचन गर्नुहुन्छ । त्यो निराशा र त्रासदीपूर्ण कविताले दर्शकहरु बोझिल मन लिएर हलबाट निस्कन्छन् । सब त्यो कविताबाट मर्माहत भए झैँ देखिन्छन् । फर्कँदा हरिवंशसँग त्यो नवयुवक दर्शक पनि सँगै आउँछन् । उनमा पनि कुनै उत्साह हुँदैन , निराश हुन्छन् । उनी रेलमा अर्कै डब्बामा बस्छन् । हरिवंश थाकेर निदाउनु हुन्छ । निद्रा खुल्दा वीचमा कतै रेल रोकिएको हुन्छ र थाहा भयो एक जनालाई रेलले किचेको रहेछ । गएर हेर्दा त्यो त त्यही बरेलीमा भेटेको युवक पो रहेछन् । त्यसपछि हरिवंशलाई यो प्रश्नले सताइराख्छ– ‘के त्यस युवकको आत्महत्याको लागि मेरो कविता उत्तरदायी थियो ?’

आफ्नो आत्मकथामा हरिवंशराय बच्चन अति नै इमान्दार बनेका छन् । कतिसम्म भने आफ्ना व्यक्तिगत कुराहरु पनि खुलेर लेखेका छन् ।

हरिवंशराय बच्चन विद्यावारिधीका लागि लण्डन गएको बेला श्रीमती तेजी बच्चन यता भारतमा एक्ली र अरक्षित स्थितिमा थिइन् । यस्तो स्थितिमा एक प्रकाशन व्यवसायमा लागेका व्यक्तिको सोचाइ तेजीप्रति नराम्रो पर्दै गएछ । फूल बिरुवाको निहुँमा घरमा आउन थालेछ । पहिले पहिले आउँदा आफ्नी श्रीमतीलाई पनि साथमा ल्याउँथ्यो । पछि यदाकदा एक्लै आउन थाल्यो । त्यसपछि एक्लो एक्लै आउन थाल्यो । र एक दिन त्यसको राक्षसी रुप पनि प्रकट भयो । तेजीको तर्फबाट विरोध भएपछि अनि ऊ उग्र र उदण्ड भएको कुरा पनि छ । यस्तो कुरा पनि आत्मकथामा आएको छ ।

अर्को उल्लेखनीय कुरा लेखेका छन् यिनले मानवेतर सम्बन्घको बारेमा — ‘आफ्नो प्रारम्भिक दाम्पत्य जीवनमा समीकरणको एउटा अर्को समस्यातिर पनि तपाईको ध्यान आकर्षित गर्न चाहन्छु । प्रेमी र प्रेमिका प्रायः एक दोश्रोका लागि पर्याप्त हुन सक्छन्, तर पति–पत्नी हुन सक्दैनन् । पति–पत्नी मिलेर भावनाको एउटा स्थान घेर्न चाहन्छन् । गृहस्थी त्यसको स्थूलरुप हो । अब स्थान दुई विन्दुवीच घेरिँदेन । त्यसको वीचमा ज्यामितिको एउटा रेखा तानिन्छ । पति–पत्नी मात्र छाडिदियो भने उनीहरुलाई छिटै नै एक दोश्रोसँग पट्यार लाग्नसक्छ । संयुक्त परिवारमा त यो समस्या सजिलै हल हुन्छ । स्थान घेर्ने एउटा तेश्रो विन्दु चाहिन्थ्यो । पत्नीलाई त्यो विन्दु देवरसँग प्राप्त हुन्थ्यो भने पतिलाई सालीबाट । मनोवैज्ञानिक दृष्टिबाट भन्नु पर्दा पतिलाई एक उप–पत्नी या पत्नीलाई एक उप–पतिको आवश्यकता हुने गर्दछ । यो तेश्रो विन्दु साली, भाउज्यू या देवरको रुपमा आएन भने कुनै साथीको रुपमा आउँछ र सीमामा रह्योभने पति–पत्नीको सम्बन्धलाई सुखद र सामञ्जस्यपूर्ण बनाउँछ । सीमाको अतिक्रमण गरियो भने अथवा पारस्परिक मानसिक आवश्यकताको समझदारी भएनभने चाहिँ यो सन्देह र ईष्र्याको कारण पनि बन्न सक्छ ।’

यस्तै हरिवंशको जीवनमा पनि तेश्रो विन्दुको आवश्यकता, अनिवार्यता, मंगलमयताका कुराहरु छन् ।

हरिवंशराय बच्चन नेपालमा चार पटक यात्रा गरेको कुरा छ । त्यसमध्ये दुई पटकको वर्णन आफ्नो आत्मकथामा विस्तृत रुपमा गरेका छन् ।

विस्तृत वर्णन गरिएका मध्ये पहिलो भारतीय राजदुतावासका सचिव तथा उहाँका मित्र श्री महाराज कृष्ण रसगोत्रको निमन्त्रणामा आउनुभएको हुन्छ– गर्मीको छुट्टीमा सपरिवार । धेरै वर्षअगाडिको कुरा । उहाँको लेखाइ अनुसार त त्यतिखेर हाम्रो अन्तरराष्टिय विमानस्थल ‘गौचरण’ मा थियो कि जस्तो लाग्छ । किनभने उहाँले लेख्नुभएको छ — ‘पटनासम्म रेलमा र त्यहाँबाट हवाईजहाजबाट गएका थियौँ । गौचर हवाई अड्डामा (जहाँ गौचरभूमि थियो, त्यहाँ अब हवाईअड्डा थियो, मध्ययुगबाट आधुनिक युगमा पुगेको संकेत यो के कम थियो ?’

उहाँले यहाँ त्यतिखेर घुम्नु भएको मात्र छैन, साहित्यिक कार्यक्रम गरिएको वर्णन पनि छ । हाम्रा आदरणीय साहित्यकारहरु बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, माधवप्रसाद घिमिरे, केदारमान व्यथित, भवानी भिक्षुहरुसँग भेटघाट भएको कुरा पनि आएको छ — एक अर्काका रचनाहरु सुनेको कुरा ।

त्यसपछि विस्तृत वर्णन छ चौथो पटक आउनु भएको अमिताभ बच्चनसँग ‘महान’ फिल्मको शुटिंगमा । हाम्रो देशको बारे उहाँले गरेको वर्णन पढ्दा उहाँ हाम्रो देशको सुन्दरता र कलाकारीताबाट अत्यन्त प्रभावित जस्तो लाग्छ । पशुपतिनाथ, बौद्धनाथ, बूढानीलकण्ठ, स्वयम्भूनाथ आदिको खुलेर प्रशंसा गर्नु भएको छ्। त्योभन्दा पनि बढी उहाँले बूढानीलकण्ठको मूर्ति बनाउने कलाकारको प्रशंसा गर्नु भएको छ — ‘कुनै युगमा कुनै महान कलाकारले यस उजाड खण्डमा कुनै ठूलो कालो ढुंगा देखे होलान् । आफ्नो कल्पना, कला, श्रमद्वारा उनले त्यो कालो ढुंगालाई ताछेर त्यसबाट शेषनागमा सुतेका विष्णु भगवानलाई निकाले होलान् । ती कलाकार को थिए, कस्ता थिए, कहाँ बस्दथे, कति वर्ष लाग्यो होला आफ्नो कल्पनाको मूर्ति तयार गर्न यी कुरा यिनको कृतिभित्रै बिलाएर गएका छन् ।’

हरिवंशराय बच्चनले ईंगित गर्नु भएको कुरा वास्तवमा हो पनि कसले निर्माण गरे होलान् ढुंगामा त्यस्तो मूर्तिको सिर्जना ? हामीकहाँ यस्ता धेरै कुरा रहस्यमै छन् ।
लेखक परिचयः किशोर पहाडी मूलत कथाकार हुन् । उनले ‘विसुदाई” कथा सङ्ग्रहका लागि साझा पुरस्कार पाएका थिए । उनका मौलिक कथा सङ्ग्रहहरु तथा अनुवाद कथा सङ्ग्रह प्रकाशित छन् । उनले निकै नाटकहरुमा अभिनय गरेका थिए र टेलिचलचित्रहरुमा समेत अभिनय गरेका थिए ।

– किशोर पहाडी

 

प्रतिक्रिया