रौतहट ,अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स)को भाषा तथा साहित्य समितिले आदिकवि भानुभक्त आचार्यको १०९औँ जन्म जयन्तीको अवसरमा विशेष कार्यक्रम सम्पन्न गरेको छ । समितिको आयोजनामा आदिकवि भानुभक्त आचार्यको योगदान तथा कविता वाचन कार्यक्रम भर्चुअल विधिबाट सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. मुक्तिप्रसाद बरालले भानुभक्त आचार्यको जीवनीबाट मनको भावनालाई शब्दमा उतार्न सबैलाई सल्लाह दिएका छन् । मानिसको शरीर नाश भएर जान्छ तर लेखेको कुरो रहिरहन्छ भन्दै डा. बरालले भानुभक्तले दिएको योगदान अतुलनीय रहेको बताएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै डा. तुलसी भट्टराईले आदिकविलाई विश्वका सबै देशमा रहेका नेपालीले सम्मान गर्ने भएकाले नेपाली भाषा र साहित्यसँगै भानुको कर्मलाई अनुकरण गर्ने र भानुलाई सम्मान गर्नेको संख्या बढ्दै गएको बताएका छन् ।
समिति अध्यक्ष डा. जानुका नेपालको अध्यक्षतामा भएको कार्यक्रमलाई इन्सका अध्यक्ष अर्जुन घिमिरेले भानुभक्तको आचार्यको जन्मोत्सवको अवसरमा इन्सको भाषा तथा साहित्य समितिले आयोजना गर्ने गरेको कार्यक्रमले देश विदेशमा भानुको सम्मानमा वृद्धि हुनुका साथै भानुबारे अझै धेरै काम गर्न बाँकी रहेको महसुस भएको बताएका छन् ।
कार्यक्रममा समितिका वरिष्ठ उपाध्यक्ष रोमकान्त सापकोटा, महासचिव चैतन्य अधिकारी, महालक्ष्मी अधिकारीलगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा नेपालसहित विभिन्न देशबाट करिब डेढ दर्जन सर्जकले साहित्यका विभिन्न विधाका रचना वाचन गरेका थिए ।
समितिले गत वर्ष पहिलो कार्यक्रम भानु जयन्तीको अवसर पारेर नै गरेको थियो । देश र विदेशका भाषा तथा साहित्यसेवीलाई यस समितिले जोड्दै आएको छ ।
प्रतिक्रिया