काठमाडौ, टुक्का साहित्य समाजकाे अायाेजनामा “छन्दमा टुक्का अभ्यास श्रृङ्खला- ३३” सम्पन्न भएकाे छ।
प्रशिक्षक अनिल खग्रासकाे संयाेजनमा सञ्चालित उक्त अभ्यासमा नेपाल भारत लगायत विश्वका बिभिन्न देशहरूबाट ३५ नेपालीभाषी सर्जकहरू सहभागी भई लाेक छन्द अन्तर्गत झ्याउरे छन्दमा टुक्का कविताहरू सिर्जना गरेका थिए।
छन्दमा टुक्का अभ्यास श्रृङ्खला विभिन्न छन्दहरू सिकाउदै छन्दमा टुक्का कविता लेखनकाे विकास गरि नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यका साथ टुक्का साहित्य समाजका संस्थापक अध्यक्ष ताराप्रसाद चापागाईंकाे परिकल्पनामा प्रारम्भ भएकाे थियाे ।
कार्यक्रमकाे समापन गर्दै संस्थापक अध्यक्ष चापागाईं तथा संयाेजक/ प्रशिक्षक खग्रासले उत्साहपूर्वक झ्याउरे लाेक छन्दमा सुन्दर तथा चाेटिला टुक्काहरू सिर्जना गर्ने सबै सहभागी टुक्काकारहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।
झ्याउरे लाेक छन्द सूत्र : ३+२,३+२,३+३=१६
अभ्यासकाे क्रममा सङ्कलन गरिएका झ्याउरे लाेक छन्दका टुक्का कविताहरू
[१]
१.
झरीको बेला भएर भेला असारे गाउन,
छ्यापेर हिलो रोपेर धान उन्नति पाउन।
२.
मनको सोच उमङ्ग घोच पँखेटा फिँजाई,
अँचिलो आली जंगल फाली शरीर भिजाई।
✍️ अच्युत घिमिरे
भुटान बाट 🇧🇹
[२]
हे आमा तिमी हिउँ झै सफा उज्यालो मनकी
हे महादेवी सृष्टि बिधाता सन्तान जनकी ।
✍️ निरज काेइराला
इटहरी
[३]
१.
असारे झरी जहान खेत रोपाईं गराई,
भएन गर्नु आराम कत्ती तस्विर बिछाई।
२.
लगाउ खोक फलाउ मुरी मानाको खेतमा,
बसौंला फेरी फुर्सद हुँदा गरौला भेटमा।
✍️ सुरेशकुमार पान्डे
दाङ घोराही १८
[४]
हारेकाे कर्म मानव चाेला दुःखले छाेडेन
रुनु कि हाँस्नु भनीदे दैव भाग्यले माेडेन ।
✍️ ताराप्रसाद चापागाईं
धुनिबेसी
[५]
धानको बिउ काढेर सानू राखेर मेलैमा
के छनि नास्ता दिएर जाऊ मलाई बेलैमा ।
✍️ अनुग्रह राना मगर ‘पुष्प’
संखुवासभा हाल मलेसिया
[६]
असार मास बर्षात बेला धान त्यो रोपेर
फलाऔं अन्न भोलिका निम्ति धर्ती यो खोपेर ।
✍️ त्रिलाेचन भण्डारी
मेचीनगर,झापा
[७]
१.
कमाई थोरै जहान धेरै जीवन किसानी,
यही छ पेशा गरेर बाँच्ने पुर्खाको निसानी।
२.
कहिले हिलो हलाको माटो बस्दछु टाँसेर,
खडेरी पर्दा खेतका गह्रा बस्दछन् हाँसेर।
३.
सजिलो भन्छन् असारे झरि किसान रमा’को,
कसले देख्छ किसानी बेथा ऋणले समा’को।
✍️ होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
[८]
१.
रमोमा रम्छु, पसिना पोख्छु, सुनौला दानाले,
भकारी थाप्छु नापेर भर्छु, मुरी र मानाले ।
२.
सन्तोष खुसी, सुख र ऐस, माटो मै देख्दछु ,
खियाई नङ्ग्रा, पसिना मसी, बनाई लेख्दछु ।
✍️ रामजी लामिछाने
पोखरा ।
[९]
१.
गरिब भनी नगर हेला सकेको गर्नेछु
जतन गरि कमाइ धन भकारी भर्नेछु ।
२.
आँखाले देख्यो मनले रोज्यो तिमी नै हौ भनी
पर्खेर बस्छु बाटो म हेर्छु मनको छु धनी ।
३.
मङ्गलबार गणेश पूजा सबैले गर्नुछ
कमाइ धन सपना पूरा गरेर मर्नुछ ।
✍️ राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ, हाल- प्रवास
[१०]
१.
लिएर साथ, कर्मको हात, पवित्र सम्झियौ,
आउँदा फेरि,भविष्य हेरी,विचित्र झल्कियौ ।
२.
भाग्यको दोष,पुगेन होस,सकिनौ पर्खन,
बखान गर्ने, आँखा नै तर्ने, रहेछ तर्कन ।
३.
के देख्यौ त्यहाँ ,छैन र यहाँ ,छोडेर नेपाल
आपत आए,सङ्कट लाए,होला है बेहाल ।
✍️ प्रेम थापा ‘मन’
[११]
१.
असारे मास काटेर घाँस मेलामा जानुछ,
दिनमा रोपी मध्याह्न दही चिउरा खानुछ ।
२.
वर्षाले दुःख दिए नि सुख आनन्द लिएर ,
असारे गीत लाउँदै प्रीत हिलोमै दिएर ।
३.
मेलामा सबै घरमा खाली डर भो मनमा,
खेतमा काम सकेर फेरी जानुछ वनमा।
✍️ जमुना आचार्य
सिन्धुपाल्चोक
[१२]
गर्जियो मेघ दर्कियो पानी यो बर्खा मासमा,
चुहियो पानी बिजोग भयो हाम्रो यो बासमा ।
✍️ डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा. -६, दोलखा ।
[१३]
१.
छुपुमा छुपु रोपेर धान असार मनाऔँ,
चिउरा दही खाएर खाजा संस्कृति जनाऔँ।
२.
छरेर मानो उमार्ने मुरी सबैको चाहना,
चाहना हरू सफल बनोस् यही छ कामना।
✍️ अरुण कु.भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।
[१४]
असार मास धानको बिउ खेतमा छरेर
रोपेर फल्छ मंसिर तिर उठाऔँ भरेर ।
✍️ अम्विका अधिकारी
झापा विर्तामोड
[१५]
१.
बाँचेछु भने आउला फर्की बसौँला हाँसेर,
सुख र दु:ख काटौँला सँगै पिरती गाँसेर ।
२.
हाड र छाला घोट्नु नै पर्छ जसरी तसरी,
नगरी काम हात र मुख जोडौँला कसरी ?
३.
सायद सोच्छ्यौ रुपैयाँ पैसा फल्दछ बोटमा,
बिस्तारा चट्ट बनाई उता सुत्दछ नोटमा ।
✍️ वसन्त अनुभव
घोराही १४, दाङ
[१६]
१.
हिमाल हाम्रो उच्चो छ शिर यो बिश्व भरिमा,
नेपाली हामी बोकेर झण्डा बड्दै छ गरिमा।
२.
झुकेन सिर सामान्त बैरीहरुका सामुमा
घेरेर आफ्नो सिमाना राखे लडेर काबुमा
३.
न भोक तिर्खा पानीको सारा मुहान थुनेका
अनेक जाली खेल ती दुष्टहरुले बुनेका
✍️ सुर्यमणी रेग्मी
चितवन
[१७]
रछ्यान्को मल बोकेर हिँड खेतमा हाल्नलाई,
कामनै गर्ने मायालै हुन्छ सजिलो पाल्नलाई ।
✍️ पवन कुमार बुढाथेाकी
काठमाडौं
[१८]
१.
हलो र जुवा काँधमा बोकी यो खेती गर्नुछ ,
वर्षमा खाने अन्न र बाली भकारी भर्नुछ।
२.
बेंसीको खेत रोपौंला धान सिमित धनले ,
गुन्द्रुक ढिंडो खाएर बसौं आनन्द मनले।
✍️ बेदु न्यौपाने
काठमाडौ
[१९]
१.
जिन्दगी मेरो खाडी मै बित्यो कहिले हो रम्ने ,
सम्झेर पनि दिक्दार लाग्छ अाँसुले भो जम्ने ।
२.
पठाऊ छिटो पैसाको बिटो भन्छिन प्यारीले ,
सम्हाली घर बसेछु तिम्रो एउटी नारीले ।
✍️ बुद्धिमान दनुवार
सुरुङ्गा ४ झापा
[२०]
१.
किसानहरू माटोमा खेल्ने मास याे असार,
खाएर मुठ्ठी फलाओै मुरी बिजन खसार ।
२.
प्राणीहरुकाे प्राण नै धान्ने थलो यो सिंगाराैं,
गराैं न राम्रो गरि नराम्रो भूमि नबिगाराैं ।
३.
मैदान घाँसे लेकमा गाई भैंसी छ गाेठमा,
पहाडी ठिटो ठिटीकाे सँधै मुस्कान ओठमा ।
✍️ रामप्रसाद पुरी
बादेल, खाेटाङ ।
[२१]
१.
न भन यो हो, पूर्खाको रीति, चलेको भनेर,
पूर्खाहरू त, ओढार बस्थे, जंगली बनेर ।
२.
पूर्खा त तिम्रा, बुद्ध पनि हुन्, अहिंसा पुजारी,
महान पक्कै, भएनन् उनी, जीव जन्तु मारी ।
✍️ पदमा शर्मा आँचल
कालचिनी, प. बंगाल
[२२]
१.
असार मास रोपेको धान मंसिरमा काटौला
बाहुसे दाजु रोपारे बैनी पिरती साटौला।
२.
लुकी र छिपी लाएको माया जाँदैछ बढेर
यो मन भित्र त्यो मन झन जाँदैछ गढेर।
✍️ सरस्वती श्रेष्ठ
इटहरी
[२४]
१.
असार मास झरीकाे साथ राेपाइँ गरेर,
कमाई गर्छु सन्तति पाल्छु भकारी भरेर ।
२.
गर्दिन आश पर्दिन भर बगाइ पसिना ,
पाैरख गर्छु स्वतन्त्र हुन्छु बन्दछु हसिना ।
३.
फुल्याै है फूल बगैंचा विच सुन्दर देखियाे ,
के कसाे भयाे झ्यउरे छन्द खुलेर लेखियाे ।
✍️ प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।
[२४]
१.
असार मास छ हाम्रोतिर खडेरी परेको
देखिन्न मुस्लो उठेर मेघ पानी नै झरेको।
२.
गैह्रीको खेत रोपाइँ भयो के गर्नु रोपेर,
लैजान्छ होला मेलाम्चीको त्यो बाढीले छोपेर।
३.
यो देशभित्र प्रभाव जम्छ बल र छलको,
खेतीको बेला अभाव हुन्छ सधैँ नै मलको।
✍️ रामशरण न्यौपाने
भक्तपुर
[२५]
१.
मायाको आश, देखायौ तिमी, अबेर नगर
आ’को छु सानु लैजान भनी, कस है कमर ।
२.
छोडेर जान्न भन्दथ्यौ तिमी, एकलै मलाई
सम्बन्ध तोड्यौ अर्कैकी बन्यौ, दिल यो जलाई ।
✍️ गाेपालकृष्ण डंगाेल
काठमाण्डौ, हाल इटहरी
[२६]
१.
झम्केर पानी ,पर्दैछ सानी, निष्ठुरी बनेर,
ओढेर स्याखु, झर्दैछु बेँसी, भेटिन्छ्याै भनेर ।
२.
हितैकाे माया, बसे है बायाँ ,सुटुक्क आएर,
मनका कुरा, खाेलाैँला पूरा, कसमै खाएर ।
३.
नमरी बाँचे ,दैवले साँचे, फेरि नि भेटाैँला,
एकान्त बास, बसेर हामी ,तिर्सना मेटाैँला ।
✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
[२७]
१.
असार मास पानी है पर्यो दरर दर्केर
गएको साल आउने छैन फरक्क फर्केर।
२.
हातमा बिउ भिजेको जीउ दर्केको पानीमा
हतार गर्दै आउनु भयो भिजेर सानीमा।
३.
पानीको धारो फोहोर भयो बर्षाको भेलले
निर्माण गरे झुटको खेती नेताको झेलले।
✍️ प्रदीप के रिमाल
इटहरी, सुनसरी।
[२८]
१.
कि गरि खान्छु कि मरि जान्छु भनेर हिँडेको,
जेसुकै पर्ला कालले टार्ला भनेर भिँडेको।
२.
हे मेरी प्यारी नमान दु:ख म फर्की आउँछु,
जसरी पनि कमाई गरि सुखमा ल्याउँछु।
✍️ मल्ल लक्ष्मी श्रेष्ट
मेची किनार, बिर्तामोड झापा
[१९]
जेठको बेला, धानकाे बिउ, बेलामा छरेर,
बेलैमा राेपि, उब्जाइ बाली, भकारी भरेर।
✍️ सहयात्री शाेभा अर्याल
रुपन्देही १४ बुटवल
[३०]
१.
देशको माया लाग्दछ कान्छी,विदेशी भूमिमा
दस वर्ष भो आएको म त,पैसाको धुनिमा।
२.
हेर आकाश कालो छ गंगा,असारे मासैमा
झरीको बेला रोपौला धन,हिलो है छ्याप्पैमा।
✍️ एवाइ प्रभात
धनकुटा, हाल मोरङ
[३१]
१.
असार लाग्यो खेतको आली पानीले भरियो
छिमेकी सबै डाकेर धान रोपनी गरियो।
२.
असारे पन्ध्र चिउरा दही मुछेर खाँनेछौं
झरीको बेला हतार गरी खेतमा जाँनेछौं।
✍️ दीपक ठटाल जलन
खरसाङ
[३२]
१.
तिमीले दियौं दु:खको भेल कसरी सहनु ,
भाग्यको खेल भोगेर हिदा कस्लाई कहनु।
२.
सम्झेर बस्थे हजारौं कुरा पाउछु भनेर,
सकिन कैले आफ्नै हौं भन्न मायालु बनेर।
३.
कहिले पनि दु:खको पिडा छुटेन मनमा ,
न्याउली रुने बेदना बुन्दै सुन्दै छु बनमा।
✍️ दुर्गा आचार्य
मोरङ
[३३]
१.
विदेश जान थिएन मन बाध्यता परेर ,
नराेऊ प्यारी आउछु चाँडाे कमाई गरेर ।
२.
उपाय केही पईन यहाँ सम्पत्ति जाेडन ,
थिएन मन एकलैपारी माेफती छाेडन ।
✍️ रामकृष्ण दुवाडी
पाेखरा ।
[३४]
१.
असार मास पानी है पर्यो गरामा भरियो
खेतमा खाजा लिएर जाँदा चिप्लेर लडियो ।
२.
खोलामा बाढी उर्लेर आयो मुडा नै बगायो
हर्केले खाजा बोकेर ल्यायो डोको नै लडायो ।
३.
रोपारे रानी रोपन बिउ त्यो हार मिलाई
आलीको छेउ भित्तामा हेर त्यो झार केलाई ।
✍️भगवती दवाडी
झापा
[३५]
१.
धानका बाला हरियाे फाँट मन यो रमायो
जाँगर गरी जो काम गर्छ उसैले कमायो ।
२.
दु:खका दिन भुलेर काम गरेको असार
सप्रियोस् बाली प्रकृति रानी बित्याँस नपार ।
✍️ रचना शर्मा प्रतीक्षा
ललितपुर ।
>> जय टुक्का! जय साहित्य!! <<
प्रतिक्रिया