काठमाडौँ,
टुक्का साहित्य समाजकाे आयाेजनामा यही २०७९ जेठ ३१ गते “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-३२” सम्पन्न भएकाे छ।
प्रशिक्षक अनिल खग्रासकाे संयाेजनमा सञ्चालित उक्त अभ्यासमा नेपाल भारत लगायत विश्वका विभिन्न देशहरूबाट २७ नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे ।
छन्दमा टुक्का अभ्यास श्रृङ्खला विभिन्न छन्दहरू सिकाउँदै छन्दमा टुक्का कविता लेखनकाे विकास गरि नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यका साथ टुक्का साहित्य समाजका संस्थापक अध्यक्ष ताराप्रसाद चापागाईंकाे परिकल्पनामा प्रारम्भ भएकाे थियाे ।
यस श्रृङ्खलाका सहभागीहरूले लाेक छन्द अन्तर्गत कर्खा लाेक छन्दमा टुक्काहरू सिर्जना गरेका थिए।
आधुनिकताकाे चपेटामा परेर लाेक संस्कृतिकाे रुपमा रहेकाे कर्खा लाेक भाका हाल लाेप हुँदै गएकाे अवस्थामा प्रयाेगवादी लघुत्तम काव्यिक विधा टुक्का कवितामा यसकाे प्रयाेग गर्दै नेपाली लाेक संस्कृतिकाे जगेर्ना गर्न खाेजिएकाे हाे ।
कार्यक्रमकाे समापन गर्दै संस्थापक अध्यक्ष चापागाईं तथा संयाेजक/ प्रशिक्षक खग्रासले कर्खा लाेक भाका हराउँदै गएता पनि त्यही शैलीमा प्रयाेगवादी नव काव्यिक विधा टुक्का कवितामा यसकाे प्रयाेग गर्दै केही मात्रामा भए पनि संस्कृतिलाई जाेगाउने प्रयास गरिएकाे र उत्साहपूर्वक कर्खा लाेक छन्दमा सुन्दर टुक्काहरू सिर्जना गरिएकाेमा सहभागी सबै टुक्काकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।
आक्षरिक छन्द अर्थात लाेक छन्द अन्तर्गतको कर्खा भाका
~ यस भाकामा अक्षरको गन्ती हुन्छ।
~ आकार,इकार,उकार लागेका सबैलाई १ अक्षर गनिन्छ।
~ आधा अर्थात काटिएका अक्षर गन्ती हुँदैनन्।
~ काठे भाकाकाे सूत्र ५+५+५+५=२०
अभ्यासकाे क्रममा सङ्कलन गरिएका कर्खा भाका (लाेक छन्द) का केही टुक्का कविताहरू
[१]
यो जिन्दगीको यात्रा प्रवाह कतै रोकिन्छ कतै ठोकिन्छ,
जे-जे भए नि बाधा आए नि मन्जिल चुम्ने लक्ष्य बोकिन्छ।
डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा. -६, दोलखा ।
[२]
साउने भेल उर्लेर आयाे, मनकाे बाँध भत्काई देला
साँची राखेकाे पीडाहरू ती, विष्फाेट हुने आएछ बेला ।
ताराप्रसाद चापागाईं
धुनिबेसी हाल प्रवास
[३]
बर्खा नी लाग्यो असारे गीत, गाउँदै झरेको बेंसी खेत
मानो रोपेर फलाऔं मुरी , बनेर अब सबै सचेत।
अनुग्रह राना मगर ‘पुष्प’
संखुवासभा हाल मलेसिया
[४]
कालो मैलो भो हुरी चलेको वर्षा हुँदा यो मन डरायो,
धेरै बिपत्ति निम्त्याउने भो मान्छेको सारा धन बगायो ।
भगवती दवाडी
झापा
[५]
बितेका दिन सम्झदा फेरि मन च्यात्तिने डर हुनेछ,
अनौठो माया एकपलको हुँदा त भित्री मन छुनेछ।
अम्विका अधिकारी
झापा विर्तामोड
[६]
१.
आँखामा राखे नबिझाउने रूप छ तिम्रो हौ तिमी रानी,
मेरो जीवन तिम्रै नै भयो सदाको लागि भैदिनु सानी ।
२.
आइपुगेँ म यो संसारमा तनाव झेल्न बाटो भुलेर,
बुझ्न सकिँन कसरी पाउँ मनको शान्ति एक्लै डुलेर ।
३.
विकास गर्ने नारा दिएर चुनाव जिति नेता आएका
आश्वासन त्यो दिएर सबै बजेट जति च्वाम्म खाएका ।
राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ, हाल- प्रवास
[७]
देशबासीले बुझ्नैपर्नेछ हाम्रो देशले के पायो आज,
साम्राज्यवाद आएर यहाँ हाम्रै छातीमा गर्दैछ राज।
सुरेशकुमार पान्डे
दाङ घोराही१८
[८]
कुरा भयाे छिटाे आऊ भनी , आए नासु रहेछन् सुकुल
दिएछन् जिम्मा करकाे दर , थाले काम लगाई चुकुल । कृष्ण अधिकारी
बिर्तामोड ,झापा
[९]
१.
सम्झनाहरु साँचेर हेर! जिन्दगीलाई मीठो मानेर,
यादहरु ती तीता भुलेर , कल्पना शक्ति-मित्र ठानेर।
२.
वसन्त ल्यायो यो जिन्दगीमा भुलें तड्पेका ती दिनहरू,
अँगालो मार्यौ सिधै मलाई हराए लाज र घिनहरु।
परिक्रमा श्रेस्ठ
धरान, सुनसरी ।
[१०]
१.
हिमाल मुनि गुराँस फुल्यो, डाँफे मुनाल यसैमा भुल्यो,
चरन चर्ने बकेर्नो गाई , बेंसीमा गोठ अाकाश खुल्यो।
२.
बेली चमेली फुलेका कतै, हावामा मीठो सुगन्ध छरि,
झरना उस्तै खसेको छाँगा,मनमा दिने अानन्द हरि।
होम प्रसाद न्यौपाने
धरान,सुनसरी ।
[११]
१.
जीवन हाँसो रोदन अनि,शीतको थोपा भनेर भन्दा,
बुझिनौ प्रिया जिब्रोको अर्थ,झरेका दाँत सामुन्ने गन्दा।
२.
कसमै खाई रूदिन भन्थ्यौ,कुनामा पसि रोएछौ प्रिया,
तोड्नै थियो त खाएथ्यौ किन,सबैको सामू तिमी किरिया?
३.
उजाड पाखा हरियो बन,जीवन दुवै बुझाऊ मन,
उमेर बित्दा सिथिल बन्छ,रसिलो अनि कसिलो तन।
अरुण कु.भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।
[१२]
१.
घृणा साँचेर राख्नु हुदैन खुम्चिन्छ आँफ्नै यो अनुहार,
खुशी नै खुशी मनमा राखे हँसिलो पार्न सक्छौं मुहार।
२.
लाली गुराँस फुल्ने यो देश उच्च हिमाल पर्वतमाला,
शान्तिको बाटो सधैँ रोजेर विकास तर्फ सुरले जाला।
३.
खुशी टिपेर भेटेको छैन कहिले सम्म सक्नु खोजेर,
आफैले चाहे त्यागेर हेला सकिन्छ बस्न खुशी रोजेर।
अच्युत घिमिरे
भुटान बाट
[१३]
१.
अबुझ कति बुझेर पनि, कपटी जाली फटाहा मान्छे,
कस्लाइ गँरू उजुर यहाँ, मालिक उहीँ उहीँ छ भान्छे।
२.
खाएको विष लाग्दछ भन्थे, नखाएकै पो लागेर मर्यो,
लिलाम भयो ईज्जत सारा, मायाले दैव अति नै गर्यो।
वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ
[१४]
१.
खहरे खोला उर्लेर आयो , गैरी खेतको रोपा बगायो ,
निष्ठुरी माया सम्झना आयो , फेरि मनमा माया जगायो ।
२.
हाँसेको थिएँ , रमाएँ पनि , तिम्रो नै माया साथ पाएर ,
काटौला जुनी बसौला सँगै , भनेर आए माया लाएर ।
बुद्धिमान दनुवार
कनकाई नगरपालिका ४ झापा
[१५]
१.
बर्खाको बेला पानी है पर्यो के छनी नानी तिम्रो खबर ,
काम त्यो गर्दै जाँदैमा खेरी बिचैमा हेर पार्यौ अबर ।
२.
सामु है पर साथमा आऊ कसम खाऊ भाउ नखोज ,
मिलेर बसौं हाँसेर बसौं त्यो एक्लो पन तिमी नरोज ।
बेदु न्यौपाने
काठमाडौ
[१६]
१.
प्रीतिकाे खेल नगर झेल,पछुताे हाेला जिन्दगी भर ,
तिमी हाै नङ म चाहिँ मासु , खाल ठट्टा त गर्दै नगर ।
२.
देशकाे माया नगरे हामी ,सन्ततीलाई के बुझाउने,
देशका नेता भासिए कता, देशकाे निधि खै ? जाेगाउने ।
प्रद्युम्न चालिसे
भक्तपुर
[१७]
१.
म कता जाउँ उकालो बाटो, भुतुक्कै लाग्ने थकाई सोला,
कत्तिको पिर परेको होला, बोकेर झोला तर्नुछ खोला ।
२.
अँधेरी रात नभए साथ, कामेका तिनी लागेर डर,
कसैको पनि नमान्नु छिट्टै , विश्वास अनि नगर्नु भर ।
जमुना आचार्य
सिन्धुपाल्चोक
[१८]
१.
दिलैमा राख्दा नहराउने मन्द छ रुप मुस्कान नानी,
सबैले हेर्दा असल धेरै ज्ञानी छ तिम्रो लजालु बानी।
२.
लाजले माऱ्यो भुतुक्कै पार्यो मुस्काई बोल्ने त्यो तिम्रो बानी,
संसार भरी को पो छ होला यतिको राम्री हे मेरी नानी
सहयात्री शाेभा अर्याल
रुपन्देही १४ बुटवल।
[१९]
१.
मलाई पनि रहर थियो,सुटबुटमा चिटिक्क हुन,
तर मलाई जीवन भरी, फुर्सद छैन बसेर रुन।
२.
परिवर्तन लुच्चा लफुङ्गा, फटाहालाई दाइजो भयो,
दुःखीहरुको जीवन भने,जस्ताको त्यस्तै कष्टमै गयो।
चिरञ्जीवी ढकाल
नेपालगन्ज -२०
राँझा एयरपोर्ट बाँके
[२०]
१.
बिदेश पसी बितायौ दिन सकिन्न तिरी साहुको रिन
फर्केर हेर्दा जन्मेको ठाउँ लाग्दैन माया मुटुमा किन ?
२.
हिमाली छॉया चोखो छ माया नलाऊ मन दायॉ र बायॉ,
मिलेर माया जोडे त नाता मिल्छ नि कान्छी सितल छॉया !
इन्दिरा देवकोटा
कपिलवस्तु
[२१]
१
राम है राम रावणको घर,जादैछौ हामी लक्ष्मण साथ,
लडेर हामी जितेर सीता,लंका है बाट रावण माथ।
२.
पाचँ पाण्डव मिलेर साथ,देशको भुमि रक्षक गरे,
हिमाल मुनि यो देश हाम्रो,हाँसेर खेल्ने नेपाल परे।
एवाइ प्रभात
धनकुटा, हाल मोरङ
[२२]
तिमीलाई नै भनि म पर्खी बसेथेँ मेरी माया पहिले,
अर्काको भएँ प्रिया कसरि बुझाउँ मन हेर अहिले ।
पवन कुमार बुढाथेाकी
काठमाडौं
[२३]
१.
ठूलाले गर्दा सानाले सिक्छन् , असल मात्र सबैले गर्नु ,
बाँचेर केही गर्नु त पर्छ , अवश्य एक दिन् पर्नेछ मर्नु ।
२.
हिमाल मुनी बालेर धुनी , बस्या रहिछन् उनी भनेको सुनी ,
जाऊ न घर भन्छु म तर , सर्छिन् त पर मनमा गुनी ।
गुणनिधि घिमिरे
खान्द्रोङ्ग पाँचथर, उर्लाबारी
[२४]
१.
देउरालीमा जाउँला कान्छी, वनदेवीको सामु बसौँला
वाचा कसम खाउँला अनि, पिरतीको त्यो गाँठो कसौँला।
२.
छुपुमा छुपु रोपेर धान, असारे गीत गाऊ रोपार
आलीमा गोडा पसारी बस, दही र च्यूरा खाऊ अचार।
३.
सगरमाथा शिखरमा नै, यो मन मेरो लाग्यो दौडिन
बादलमाथि चिल घुमेझैँ, चक्कर खाई थाल्यो पौडिन ।
रामशरण न्यौपाने
भक्तपुर
[२५]
१.
बाँझो छ खेत छैनन् र लाठे, खेलेर पर्म राेपी सकाैँला,
पर्मेली हामी गाउँदै गीत, मिलेर काम सकी बसाैंला ।
२.
लाठेकाे बल असारे भल,छेकेर पानी दह जमेको,
अल्लारे युवा युवती गीत, गाएर काम गरि रमेकाे ।
रामप्रसाद पुरी
बादेल, खाेटाङ ।
[२६]
एक्लाेपनकाे भाँडो भर्यौ रे लौ के थियो र छिपेर नाश
गरेर गल्ती चाडो तर्यौ रे थुनेर नाक अपाच्य सास ।
प्रेम थापा “मन”
बागलुङ
[२७]
मायालु खाेजी म धाएँ धेरै , पाइनँ माया कहिले किन,
बल्लले पाएँ फूलझैँ तिमी, खाेज्दिन अरु त कुनै दिन ।
निरज काेइराला
बेलका १, उदयपुर
>> जय टुक्का! जय साहित्य!! <<
प्रतिक्रिया