मोरङका नव निर्वाचित महानगर प्रमुख सहित जनप्रतिनिधिहरको शपथ ग्रहण

इनेप्लिज २०७९ जेठ ९ गते २१:४४ मा प्रकाशित


विराटनगर,९ जेठ।मुख्य निर्वाचन अधिकृत भरत लम्सालले मोरङ जिल्लाका स्थानीय पालिकाका नव निर्वाचित महानगर प्रमुख सहित जनप्रतिनिधिहरुलाई आज यहाँ शपथ ग्रहण गराउनु भयो।

उक्त अवसरमा मोरङका एक महानगरपालिका,आठ नगरपालिका र आठ गाउँपालिकाका गरी १७ पालिकाका प्रमुख तथा अध्यक्षहरुलाई पद तथा गोपनियताको शपथ ग्रणह गराउनु भयो।

यसैगरी सोही अवसरमा विराटनगरका महानगरपालिकाका प्रमुख नागेश कोइरालाले उपप्रमुख शिल्पा निराला कार्की,महानगरका १९ वटा वडा अध्यक्ष र सदस्यहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भयो।

मोरङका मुख्य निर्वाचन अधिकृत लम्सालले पालिका निर्वाचन स्वतन्त्र, निश्पक्ष ,धांधली रहित स्वच्छ वातावरणमा सम्पन्न भएकोमा खुशी व्यक्त्त गर्दै निर्वाचनलाई सफल बनाउन सहयोग गर्ने आम मतदाता,सुरक्षा निकाय,राष्ट्रसेवक कर्मचारी र राजनीतिक दलहरुलाई धन्यवाद दिनु भयो।

महानगरका प्रमुख कोइरालाले मत बदरलाई हटाउन प्रदेश प्रदेशको अलग मत पत्र तयार भएमा सर्वसाधारण नागरिकलाई मत खसाल्न सहज हुने भन्नु भयो।

उहाँले मत बदर हुन नदिन निर्वाचन आयोगले निर्वाचन मिति घोषण भएपछि मतदाता शिक्षा सञ्चालन गर्नुपर्नेमा जोड दिनु भयो।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले स्थानीय तहको निर्वाचनमा शान्ति सुरक्षाको अवस्थामा दरिलो बनाइएको कारण जिल्लामा कुनै अप्रिय घटना नभएको भन्दै निर्वाचनमा निर्वाचित सवैलाई बधाई तथा शुभकामना दिनु भयो।

विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्की र कानेपाखरी गाउँपालिकाका अध्यक्ष राजमती इङगनामले जनप्रतिनिधिहरुले जनताको चाहना र आवश्यक्त्तामा केन्द्रित रही विकास निर्माणको कार्य गर्ने प्रतिवद्धता व्यक्त्त गर्दै आगामी निर्वाचनमा राजनीतिक दलले महिला प्रतिनिधि अभिवृद्धि गर्नुपर्ने सुझाव दिनु भयो।

विराटनगर महानगरपालिका नव निर्वाचित प्रमुख कोइरालाले आजै पदभार ग्रहण गर्दै नगरवासीको हितमा करको दायरा फराकिलो पारि कर घटाउन आफ्नो संकल्प अनुसार काम गर्ने पहिलो निर्णयमा हस्ताक्षर गर्नु भयो।

प्रतिक्रिया