मोरङको लेटाङमा कफ्यु

इनेप्लिज २०७८ चैत ७ गते ९:४९ मा प्रकाशित

विराटनगर,७ चैत।जिल्ला प्रशासन कार्यालय मोरङले तनावग्रस्त बनेको मोरङको लेटाङमा अर्को सुचना जारी नभएसम्म आज विहान ७ बजेदेखि कफ्यु लगाएको छ।

यौन द्रुब्यबहारका आरोपित शिक्षकलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रोशित भीडको आक्रमणबाट एक महिला प्रहरीको मृत्यु भएपछि तनावग्रस्त बनेको लेटाङमा आज बिहान ७ बजेदेखि कर्फ्यु लगाइको छ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार लेटाङ नगरपालिकाको वडा नम्बर ३ र ४ को गंगेचौक र कमलपुर क्षेत्र,वडा नम्बर ५ को सबै क्षेत्र र उत्तरमा वडा नम्बर ६ को वडा कार्यालय क्षेत्र,पूर्वमा मोरङ्गे खोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यु लगाइएको छ।

लेटाङ–५ स्थित खरुवामा आइतबार साँझ भएको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो।

लेटाङ नगरपालिका–५ खेरुवास्थित शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत विद्यार्थीमाथि होलीका दिन दुर्व्यवहार गरेको घटना आइतवार विहान सार्वजनिक भएको थियो।

घटनाका सम्वन्धमा विद्यालयमा शिक्षक र अभिभावकको बैठक बसिरहेको समयमा आक्रोशित भीडले शिक्षकलाई बन्दी बनाएर आक्रमणको प्रयास भएपछि स्थितिलाई नियन्त्रणमा लिन पुगेको प्रहरीसँग झडप भएको हो।

आक्रोशित भीडले सवारी साधनमा आगजनी र तोडफोड गर्नथालेपछि प्रहरीले हवाइफायर र केही सेल अश्रुग्याँस प्रहार गरेको थियो।घटनामा दुई विद्यार्थीसहित १६ जना सुरक्षाकर्मी घाइते भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया