काठमाडौँ – जलवायु परिवर्तनजन्य असरको अग्रपंक्तिमा रहेका दुइ तिहाइभन्दा बढी शहरी गृह श्रमिक महिलाहरुलाई यसबारे जानकारी नभएको पाइएको छ ।
हालै नेपाल, भारत र बंगलादेशका शहरी क्षेत्रका अनौपचारिक बस्तीहरुमा बस्दै आएका गृह श्रमिक महिलामा गरिएको अध्ययनबाट ६६.३ प्रतिशतमा जलवायु परिवर्तन र त्यसका कारणबारे जानकारी नभएको पाइएको हो ।
अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ)को अभिसन्धी नं १७७ ले कम्पनी वा अन्यत्र गएर नभइ आफ्नै घरमा ल्याएर कन्ट्रयाकमा काम गर्नेहरुलाई गृह श्रमिकको रुपमा परिभाषित गरेको छ । यस्ता गृह श्रमिकहरु नेपालमा करिव १६ लाख रहेका छन् ।
गृह श्रमिक, विशेष गरी महिलामा जलवायुजन्य परिवर्तनको प्रभाव दक्षिण एसियामा कस्तो छ भनेर गरिएको अध्ययनको प्रतिवेदन गएको हप्ता (माघ १३) गते सार्वजनिक भयो । अध्ययनको निष्कर्ष सार्वजनिक कार्यक्रममा वोल्दै आयोजक संस्था साथीकी अध्यक्ष सजनी अमात्यले सहरी क्षेत्रमा वसोवास गर्ने विपन्न समुदाय खास गरी गृह श्रमिक महिलाहरुको जीवन र जीविकोपार्जनमा जलवायु परिवर्तनको असर न्युनिकरण तथा अनुकुलनको लागि अध्ययनले दिएका सुझाव तथा सिफारिसहरुको कार्यान्वयन हुन सके दीगो विकास लक्ष्यमा उल्लेखित जलवायु उत्थानशिल सहरको अवधारणालाई टेवा पुग्ने वताउनु भयो ।
महिला विरुद्ध हुने सवै प्रकारका विभेद उन्मुलनको लागि संयुक्त राष्ट्र संघीय महासन्धी सिड कमिटीकी विज्ञ सदस्य वन्दना राणाले तुलनात्मक रुपमा जलवायु परिवर्तनको असर महिलाहरुमा वढी परेको विभिन्न अध्ययनले देखाएको वताउनु भयो । राणाले जलवायु परिवर्तन न्युनिकरण तथा अनुकुलन सम्वन्धि योजना निर्माण प्रक्रियामा महिला तथा जोखिममा रहेका समुदायहरुको सहभागिता अनिवार्य रहेको वताउनुभयो ।
सञ्चारकर्मी तथा पूर्व सुचना आयुक्त यसोदा तिम्सिनाले जलवायु परिवर्तनको असरवारे सुचना तथा जानकारी सवैभन्दा जोखिममा रहेका समुदायमा प्रभवाकारी रुपमा सम्प्रेषण गर्नको लागि सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धि अत्यावश्यक रहेको वताउनुभयो ।
गोदावरी नगरपालिका वडा नं ३ का वडा अध्यक्ष वाल मुकुन्द घिमिरेले जलवायु परिवर्तन असर न्युनिकरण तथा अनुकुलन साथै उत्थालशिलता विकासको लागि स्थानीय सरकारका काम कर्तब्य तथा अधिकार कानुनमा नै उल्लेख भए पनि जन प्रतिनिधिहरुमा यस विषयको जानकारी कम हुनाले यो क्षेत्रमा उल्लेख्य काम हुन नसकेको वताउनुभयो । उहांले जन प्रतिनिधिहरुलाई जलवायु परिवर्तन सम्वन्धि तालिम तथा जानकारी सम्वन्धि कार्यक्रमको अपरिहार्यता रहेको पनि वताउनु भयो ।
वातावरण तथा संरक्षणविद डा. सिद्धार्थ वज्राचार्यले जलवायु सम्वन्धि अध्ययनहरु प्राय ग्रामिण क्षेत्रमा केन्द्रित हुने गरेको भन्दै यो अध्ययनले सहरी क्षेत्र समेटेकोमा धन्यवाद दिनुभयो । उहांले यस्ता अध्ययनहरु वृहत स्तरमा हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।
होमनेट साउथ एसियाको नेतृत्वमा बंगलादेशको ढाका, भारतको अहम्दाबाद र सुरत तथा नेपालको भक्तपुर र ललितपुरका शहरी सुकुम्बासी तथा अनौपचारिक बस्तीका गृह श्रमिकको अवस्था र जलवायु परिवर्तनलाई लिएर अध्ययन भएको गरिएको हो ।
अध्ययनमा सहभागी भएकाहरुमध्ये ११ प्रतिशतले जलवायु परिवर्तनलाई भगवानको लिलाका रुपमा बुझेको बताएको प्रतिवेदनमा उल्लेख छ ।
बंगलादेशका ५०, भारतका १०० तथा नेपालका ५२ घरधुरीमा गरिएको अध्ययनमा सहभागीहरु गारमेन्ट, हस्तकला, खाद्यन्न प्रशोधनको क्षेत्रमा काम गर्दै आएका महिलाहरु थिए । हाल नेपालमा १६ लाख गृहश्रमिक रहेको अनुमान छ र त्यसमा ६६ प्रतिशत महिला छन् । यस्तो अवस्थामा समान परिवेश भएका क्षेत्रमा जलवायु परिवर्तनको ज्ञान र प्रभावका सम्बन्धमा उनीहरुमा अध्ययन गरिएको हो ।
अध्ययनमा सहभागीहरुले आफूहरुले पछिल्लो १० वर्षमा तापक्रम वृद्धि भएको, वर्षाको ढाँचामा परिवर्तन भएको तथा आँधीहुरीका घटना बढेको अनुभव गरेको बताएका छन् । जाडो याममा कम जाडो भएको, गर्मी याममा तुलनात्मक रुपमा गर्मी बढेको, अविरल तथा अनियमित वर्षा भएको अनुभव गरेको उनीहरुको भनाइ छ ।
जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव गृहश्रमिकको परिवारमा परेको समेत देखिएको छ । ५५ प्रतिशत सहभागीले आफ्नो परिवारमा नै जलवायु परिवर्तनका प्रभाव परेको उल्लेख गरेका छन् । उनीहरुले नगद आयमा कमी, उत्पादकत्वमा कमी, पारिवारिक हेरचाह सम्बन्धी काममा वृद्धि तथा स्वास्थ्य समस्याहरु बढेको सहितका समस्या भोगेको बताएका छन् ।
६६ प्रतिशत सहभागीले विगत पाँच वर्षमा गृहबाट हुने आयमा कमी आएको बताएका छन् । उत्पादकत्वमा कमी आएको पनि उनीहरुको भनाइ छ । सबैभन्दा बढी ढाकाका सबै सहभागीले आफूहरुको उत्पादकत्वमा कमी आएको बताएका छन् ।
अध्ययनले महिलाहरुले निशुल्क रुपमा गर्ने घरायसी काम पनि बढेको पनि उल्लेख गरेको छ । यसले गर्दा महिलाहरुको आय गर्ने अवसरमा प्रत्यक्ष प्रभाव परेको देखिएको अध्ययनमा उल्लेख छ । गृह श्रमिकको कामको प्रवृद्धि अस्थिर प्रकारको हुने र आयको स्रोत पनि सोही अनुसारको रहने हुँदा जलवायुजन्य विपदको प्रत्यक्ष र गम्भीर प्रभाव उनीहरुमा हुने देखिएको अध्ययन प्रतिवेदनमा जनाइएको छ ।
जलवायु परिवर्तन र त्यसका कारण निम्तिएका विभिन्न जलवायुजन्य घटनाक्रमका कारण गृह श्रमिकहरु प्रत्याक्ष वा परोक्ष रुपमा प्रभावित भएको एक अध्ययनले देखाएको हो ।
दक्षिण एसियामा गृह श्रमिकको संख्या अत्याधिक रहेको परिवेशमा जलवायु परिवर्तनको प्रभाव उनीहरुमा स्थानीय र विश्वव्यापी रुपमा देखिन सक्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
गृह श्रमिकहरुलाई जलवायु परिवर्तनबारे राम्रोसँग बुझाउनु पर्ने र त्यसबाट आउन सक्ने विपद वा समस्यासँग कसरी जुध्ने वा अनुकूलन गर्ने भन्नेबारे सिकाउनु अहिलेको पहिलो आवश्यकता रहेको अध्ययनले सुझाव दिएको छ ।
नेपालमा महिला अधिकारको क्षेत्रमा काम गर्दै आएको साथी संस्था, बंगलादेशमा कोअलिसन फर अर्बन पुअर तथा भारतमा महिला हाउजिङ सेवा ट्रस्टको सहकार्यमा अध्ययन भएको हो ।
अन्तराष्ट्रिय श्रम संगठनले यस्ता गृह श्रमिकहरुलाई पनि सामाजिक सुरक्षा उपलव्ध गराउनु पर्ने माग गर्दै आएको छ ।
प्रतिक्रिया