साङ्ग्रिला बुक्स प्रा.लि. ले २०७७ सालको अन्त्यतिर खगराज बरालको “स्यानी” उपन्यास बजारमा ल्याएको छ।उपन्यासका लेखक खगराज बराल बहुआयमिक व्यक्तित्व हुन्।नेपाल सरकारको २७ वर्षे जागिर जीवनको उतारचढावमा बरालका अनगिन्ति अनुभवहरू छन्।साहित्यिक फाँटमा श्रमिक बरालका नामबाट सिर्जना गर्ने बराल कुनै नौलो नाम होइन।बरालका अनुभवबाट खारिएका डेढ दर्जन बढी कृतिहरू प्रकाशित छन्।बराल साहित्यमा श्रमिक बरालको नामबाट चिनिन्छन्।तर,यो पटक उनी खगराज बरालका नामबाट “स्यानी” उपन्यासका साथ आएका छन्।अनुभव र सैद्धान्तिक ज्ञानबाट प्रेरित बरालको लेखन सरल र सहज मात्रै होइन,तार्किक र मिठास पनि छन्।पाठकलाई यथार्थ कुरा बताएर पाठककै कल्पनाको दुनियाँमा लिएर जान सक्ने बरालको क्षमता मात्र होइन, विशेषता पनि हो।
“स्यानी” उपन्यासमा आमा नहुँदाको वास्तविकता पोखिएको छ।आफ्नो जन्मदाता आमाकै नामबाट शीर्षक राखी लेखकले आमाको मृत्यु भएको दिनदेखि १३ दिनको काजकिरियाको अवधिमा घटेका घटनाहरूमा आधारित भएर विगतको स्मरणलाई विषयवस्तु बनाएर पृष्ठ १९ देखि २५७ सम्म पस्केका छन्।
“स्यानी” सामाजिक र पारिवारिक परिवेशमा घटेका घटनाहरूमा आधारित उपन्यास हो।उपन्यासमा सीमित पात्र भए पनि त्यसले ब्रह्माण्ड नै समेटेको जस्तो लाग्छ।नारीको महत्त्वलाई मिहिन किसिमले दर्शाएको छ।यस पृथ्वीका प्राणीका आमा प्रतिको मायालाई प्रतिबिम्बका रूपमा जीवित बनाएको छ।उपन्यास स्याङ्जा जिल्ला र पोखरा महानगरपालिका वडा नम्बर २२ को ठूलिविणी भित्रका भूगोल,परिवेश,समाज,वातावरण,संस्कार छ भने समग्र हिन्दुका साँस्कृतिक र धार्मिक संस्कारलाई समेटेको देखिन्छ।लेखकले हामीलाई म पात्र मानी उपन्यास लेखेका छन्।नेपाली बोलीचालीका झर्रा शब्द, भाषा, रहनसहनलाई राम्ररी केलाएका छन्।धर्म, सस्कृति बिर्सन लागेका आजका पुस्तालाई गतिलो उदाहरण दिएको छ।
उपन्यास पढ्दै जादा जन्म दिने आमाको सम्झनाको विषयवस्तु धाराप्रवाह रूपमा अगाडि बढेको छ।नजिकको तीर्थ हेला गर्ने आजका छोराछोरीलाई उपन्यासले पाठ सिकाएको छ।बुबा आमालाई बोझ मानी अशक्त उमेरमा पाटी,पौवा,मन्दिरका सिढी,सडक र धर्मशालामा छाड्ने छोराछोरीलाई आमाबाबुको महत्त्व दर्साएका छन् लेखकले।विषयवस्तुमा प्रवेश गरेपछि कुनै कुनै ठाउँमा पाठकका ओठहरू थरर्थराउछन्, हातहरू काम्छन्, मन र मस्तिष्कले सोच्न थाल्छन्। तैपनि,लेखकका हातले विश्राम लिदैनन्,आमासँग बिताएका विगतका पहलहरू,एकछिन नदेख्दा खोज्ने ती आँखाहरू र मनका अनगिन्ती सपनाहरू आमाको अनुपस्थितिमा किंकर्तव्यविमूढ बन्छन्।पाठकहरू यसरी सलल बग्दछन् कि उपन्यास नसकी उठ्न सक्दैनन्।यो उपन्यासकार बरालको अनुपम प्रतिभा हो।
हिन्दु संस्कारमा मृत्यु शाश्वत सत्य हो।यही मृत्युपछिको १३ दिनको काजकिरियाको अवधिभित्र उपन्यास घुमेको छ।आजका भौतिक दुनियाँका स्वार्थी मानवलाई विगतमा मान्छेमा भएको सहिष्णुता,प्रेम,माया,आदर सत्कारको चेतना दिएको छ।लेखकले चिन्नेको रुखलाई आमाको प्रतीक मानेका छन्।आमा नहुँदा त्यही चिन्नेको रुखलाई ग्वाम्लङ्ग अँगालो हालेका छन्।विषयवस्तुको गहन अध्ययन तथा अनुसन्धानपछि आफूमाथि परेको परिवेशलाई वास्तविकतामा ढाली कथाको माध्यमबाट पस्केको यस उपन्यासलाई यथार्थपरक उपन्यास भन्दा फरक पर्दैन।आमा हुने र आमा गुमाएका सबैले एकपटक पढ्नै पर्ने पुस्तकका रूपमा “स्यानी” उपन्यास हो भन्दा अत्युक्ति हुँदैन।
कृतिः“स्यानी”
विधाःउपन्यास
लेखकःखगराज बराल
प्रकाशकःसाङ्ग्रिला बुक्स प्रा.लि.
संस्करणःपहिलो (२०७७)
मूल्यः४९५
पृष्ठः२५७ पृष्ठः२५७
प्रतिक्रिया