काठमाडौं।नेकपा एमाले महाधिवेशनको तेस्रो दिन आज केपी शर्मा ओलीले नेतृत्वको सूची बाचन गर्दै हलबाट ध्वनी मतका आधारमा नेतृत्व टुंग्याउने तयारी गरेका छन्।
हिजो शनिबारको बन्द सत्रले अध्यक्ष ओलीलाई केन्द्रीय समिति र पदाधिकारीका लागि नाम प्रस्ताव गर्ने जिम्मेवारी सुम्पिएको थियो।त्यसअनुसार ओलीले आफू निकटस्थहरुसँग परामर्शमा सूची बनाउने र बन्दसत्रमा पढेर सुनाउने तयारी गरिएको छ।
अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रको हलमा नाम घोषणा गरेपछि प्रतिनिधीले ध्वनी मतबाट त्यसलाई सदर गर्ने संस्थापन पक्षका नेताहरु बताउँछन्।
एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले संसदमाजस्तै ‘हुन्छ’ र ‘हुन्न’ भनेर प्रस्ताव लैजाने र हलले ताली पिटेर अनुमोदन गर्ने बताए।महाधिवेशन प्रतिनिधिहरुमा अधिकांस ओलीकै प्राधिकारको पक्षमा छन्।त्यसैले उनले नाम घोषणा गर्दा बदर हुने सम्भावना नगण्य देखिएको छ।
भीम रावलले अध्यक्षमा दावेदारी प्रस्तुत गरिरहेका छन्।कसैले उम्मेदवारी दिन चाहेमा निर्वाचन प्रक्रियामा जाने पार्टीको निर्वाचन आयोगले बताइरहेको छ।तर,पार्टी संस्थापनले भने कसैले उम्मेदावरी दिएमा त्यसलाई पनि ध्वनीमतबाटै टुंग्याउने रणनीति बनाएको बुझिएको छ।यस्तोमा रावलका पक्षमा बहुमत प्रतिनिधि नपुगेको भन्दै ओलीलाई सर्वसम्मत अध्यक्ष घोषणा गर्ने सम्भावना रहेको छ।तर रावलले कुनै पनि हालतमा निर्वाचनमा जाने अडान दोहोर्याएका छन् ।
प्रतिक्रिया