गीतकार नारी स्रष्टा उन्नती बोहरा ‘शीला’ को बालमनोविज्ञानमा आधारित तृष्णा नामक उपन्यास पढ्ने अवसर पाएको छु।तृष्णामा कुनै कसुरबिना पुरुषप्रधान समाजबाट शोषित हुन पुगेकी एउटी नारीको कथा ब्यथा राखिएका छन्।यसमा आजका सचेत नारीहरुले पनि स्वअस्तित्वको लागि कतिसम्म मानसिक यातना र पीडा सहनुपर्छ भन्ने कुरा दर्शाइएको छ।उपन्यासकार उन्नतीले काल्पनिक भावमा समेटिएर कृति तयार पारे पनि हाम्रो सामाजिक जनजीवनको घटना र परिघटनाको पृष्ठभूमिमा मैले एउटी नारीको मनोदशा र कर्मचित्रण गर्न कोसिस गरेकी छु,जो आफ्नो समाजबाट भन्दा आफ्नै परिवारबाट बढ्ता प्रताडित हुन बाध्य छिन् भनेकी छिन्।एक्काईसौं शताब्दीमा आइपुग्दा पनि हाम्रो सामाजिक संरचनामा नारीले अस्तित्वविहीन जीवन विताउन विवश छन्।आफ्नो स्वअस्तित्वको लागि उसले जीवनभर नै सङ्घर्ष गरिरहनुपर्छ।यस उपन्यासभित्र आफ्नो आशयलाई अभिव्यक्ति दिनका लागि उपन्यासकार उन्नतीले बढी सुनियोजित पाराले घटना र पात्रको संयोजन गरेकी छिन्।संवाद संयोजन पनि उस्तै योजनाबद्ध ढङ्गले गर्न उनी सफल देखिएकी छन्।उपन्यास सरल र शिष्ट भाषामा वर्णनात्मक शैलीमा लेखिएको छ। दैनिक बोलीचालीको भाषाले उपन्यासमा मिठास भरिएको छ।
तृष्णा उपन्यास उनको नवौ कृति हो।यसभन्दा अगाडि उनको सिक्काका दुई पाटा नामक उपन्यास २०६३ वैशाखमा प्रकाशित भएको थियो । यो उनको दोस्रो उपन्यास हो।उनको कोसेली उसैलाई नामक कवितासङ्ग्रह २०५९ मा पहिलो कृतिको रुपमा प्रकाशित भएको थियो।उनी कविता र गीत विधामा कलम चलाउछिन्।योगमाया श्रेष्ठ सङ्घर्षकी पर्याय हो भन्दा अतिशयोक्ति नहोला।हुन त जीवनमा हरेक मानिसले गरेको सङ्घर्षको आफ्नै कथा व्यथाहरु हुन्छन् तर जीवन घाम छाँयाझैँ सुख दुःखको सम्मिश्रण हो।रातपछि दिन हुने प्रकृतिको अकाट्य नियम भएझैँ सुख दुःख एक अर्काका पूरक हुन् भन्ने कुरा सर्वव्यापी छ।तर योगमायाको जीवन कथालाई बुझ्ने र जान्ने कोसिस गर्दा दुःखै दुःख सङ्घर्षै सङ्घर्षले पछ्याएको देखिन्छ यस उपन्यासमा भनिएको छ।कविता र गीत विधामा कलम चलाउने उन्नतीको यो उपन्यास सबैले पढ्नयोग्य नै छ।प्रस्तुत उपन्यास जीवनका नया र पुराना पुस्ताका सांस्कृतिक सोचहरुको अन्तर्सङघर्षमा तयार भएको छ । जीवनका सांस्कृतिक सङ्क्रमणहरु उपस्थापन गर्ने क्रम पनि आजको सृजनाको मूल ध्येय रहन्छ।तृष्णा यसै क्रममा तयार भएको उपन्यास हो।उपन्यासकार उन्नतीको औपन्यासिक चेतना सांस्कृतिक दृष्टिले वर्तमानको स्वतन्त्रता र लैङ्गिक सीमान्तीयताको अवस्था समेटिएर उपन्यासको कार्य निर्माण भएको छ।
यसका पात्रहरु सबै नेपाली जनजीवनका वास्तविक पात्रहरुका रुपमा उभिन सफल भएका छन्।आधुनिक नेपाली उपन्यासको आरम्भ नै रुद्रराज पाण्डेको रुपमती उपन्यासबाट भएको हो।रुपमतीले अघि सारेको आदर्शउन्मुख यथार्थवादी औपन्यासिक चिन्तन–धारालाई तृष्णाले प्रष्टसंग पछ्याएको अनुभूत हुन्छ । अबोध बालकले बुबाको बिछोडको पीडा महसुस गर्न नसके पनि कमला र योगमायाले भने जङ्घलाई एकदम सम्झिराखेका थिए।तर सेनाको जागिर खाएपछि एक ठाउँबाट अर्को ठाउँमा सरुवा त भइ नै रहन्छ भनेर चित्त बुझाउने कोसिस पनि गरिरहेका थिए यस उपन्यासमा भनिएको छ।योगमायाको पहिलेको जस्तो उज्यालो मुहार छैन ।आफूसँग छोरी कमला र नाति श्रवण भएपनि छोरी र ज्वाइँ छुट्टिएर बस्नुपरेको पीडाले उसलाई भित्रभित्रै खाइरहने गर्दथ्यो भनिएको छ।
उपन्यास दुखान्त छ।पढिसक्दा पाठकले त्यसको अवसाद अनुभव गर्दछ।जीवनका सुखदुःखलाई र खासगरी समय र भाग्यले मानिसलार्ई कहाँबाट कहाँ पूर्या इदिन सक्छ उपन्यासको सन्देश यो पनि रहेको छ।लेखिकाले प्युठान अनि त्यहाँको खलङ्गा बुटवल र पाल्पाको प्राकृतिक,सांस्कृतिक र सामाजिक चित्रण विस्तारका साथ गर्न आफ्ना तर्फबाट कुनै कसर बाँकी राखेकी छैनन्।यसले पाठकलाई आफ्नै देशको एउटा नपुगेको दृश्यमा उभिएझैं अनुभव गराउने उपन्यासकारको उद्देश्य रहेको देखिन्छ त्यो पूरा भएको छ भनि डा ध्रुबचन्द्र गौतमले लेखेका छन्।जीवनको हरेक अवस्थामा आमाको कति आवश्यकता पर्छ र ममताको तृष्णा कति प्रबल हुन्छ भनेर देखाउनु यस उपन्यासको लक्ष्य हो वरिष्ठ उपन्यासकार गीत केशरीले लेखेकी छिन्।
तृष्णा विभिन्न प्रकारका मानवीय तृष्णाहरुलाई चित्रित गर्ने उपन्यास हो । उपन्यासले प्रेमका विभिन्न छारङ्ग देखाउँदछ।प्रेममा त्यागको महत्व हुँदाहुँदै पनि मौलिकताले मानिसलाई अङ्कमाल गरिरहने कुरालाई सन्देशकै रुपमा यस उपन्यासमा प्रस्तुत गरिएको छ।बिहानको नौ बजिसक्दा दुबै जना उठेका छैनन्।आमाले फोन गरिहेकी थिइन् तर उनीहरु सुतिरहेकाले रेस्पोन्स भएन भनेर होटलको रिसेप्सनबाट भनिरहेको थियो।बल्ल बल्ल धु्रवले फोन उठायो र आमासँग कुरा गर्यो।आमाले उसलाई घरमा बोलाएकी थिइन्।ध्रुब उठेर नुहाई तयार भएर घर गयो यस उपन्यासभित्र भनिएको छ।यो बालमनोविज्ञानमा आधारित घटनाले निर्मित सन्देशमूलक उपन्यास हो।यसभित्र चरित्र निर्माण सम्बन्धी प्रस्तुत तथ्यहरु रहेका छन्।मन र मस्तिष्कको संयुक्त प्रयास र इन्द्रियहरुको सहयोगले नै प्रत्येक व्यक्तिको जविन चलिरहेको हुन्छ।यस उपन्यासको प्रकाशक प्रज्वल बोहरा हुन्। २०७१ सालमा प्रकाशित यस उपन्यासको मूल्य रु.३५०।–राखिएको छ भने पृष्ठ संख्या २०१ छ।अन्त्यमा उपन्यासकार जलेश्वरी श्रेष्ठको कलमले नेपाली समाजका अन्य अँध्यारा पक्षको अनुशीलन गर्दै नयाँ कृतिहरु जन्मन सकोस् भन्ने अपेक्षा राख्दछु।
अरुणबहादुर खत्री ‘नदी’
सामाखुसी मार्ग, सरकारी धारा, काठमाडौं
मोबाइल नम्बर ९८८९०८२५०१
मोबाइल नं. ९८४१७९७६६४
काठमाडौं
प्रतिक्रिया