वीरेन्द्र रावल-अलाड,असार १३÷कैलाली जिल्लाको चुरे गाउँपालिकाको कार्यालयतर्फ जाने सडक समयमै सम्पन्न नहुँदा स्थानीयबासीहरु शास्ती खेप्न बाध्य छन्।
सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनी र गाउँपालिका प्रशासनको चरम लार्पवाहि र ढिलाशुस्तीका कारण सडक निर्माणको कार्यले तिब्रता नपाएपछि बर्षातको बेलामा सडक हिलाम्मे हुँदा सो सडक भएर ओहोर दोहोर गर्ने मानिसहरुले कठिनाई भोग्नु परिरहेको छ।
ठेक्का सम्झौता भए संगै कामको थालनी नगर्ने जव बर्षातको समय वा असार मसान्त आउँ तवमात्रै काम गर्ने परिपाटी नियतिझैं बनेका कारण पनि सडक निर्माणले तिब्रता पाउन सकेको देखिदैन।
वर्षातको समयमा पहाडी क्षेत्रका सडकहरु उसै पनि बाढी र पहिरोकाकारण भताभुङ्ग अवस्थामा हुन्छन्।मानिसहरुलाई सवारी साधन त परै जाओस् पैदल हिड्न पनि निकै कठिनाई हुने गर्दछ तर विकास निर्माणका नाममा वर्षातको बेला बजेटको हिनामिना गर्ने र कमाउ धन्दाले निर्माण गरिएका सडकहरुले दुर्घटना निम्त्याउने खतराप्रति स्थानीयले चिन्ता व्यक्त गरेका छन्।
त्यसै अनुरुप अहिले चुरे गाउँपालिकाको असारे चटारोले प्रायःसडकहरु हिलाम्मे भएका छन।जसले गर्दा चुरेबासीदेखि लिएर चुरेमा विभिन्न कामका लागि आउनेहरु सडकको अवस्था देखेर कामनै नगरी फर्किनु पर्ने बाध्यता छ।भने कतिपय स्थानीयहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन।असारे चटारोमा चुरे गाउँपालिका कार्यालय छ किलोमिटर सडक निर्माण हुँदै छ।निर्माण भइरहेको सडकमा नाला व्यवस्थापन नहुँदा सडक हिलाम्य भएको छ।जसले गर्दा सेवाग्राहीहरु देखि लिएर अन्य यात्रुहरुले जोखिमपूर्ण यात्रा गरिरहेका छन।
कैलाली जिल्लाको दुर्गम पहाडी गाउँपालिका चुरेको कार्यालय सहजपुरबाट छ किलोमिटर टाढा रहेको छ।छ किलोमिटरको सडक निर्माण समयमै नगरिदा वर्षातमा हिलाम्य हुनुका साथै यात्रुहरुलाई आवतजावत गर्न समस्या भएको हो।
निर्माणधिन सडक खण्डमा ठाउँठाउँमा खाल्डाखुल्डी छन् भने वर्षाको पानीले सडक चिप्लो छ।असारे विकासको चटारोले छोएको सो सडकमै निर्माण सामग्री र उपकरणहरू अव्यवस्थित ढंगले राखिएका छन्।जसले गर्दा दुर्घटनाको जोखिम बढेको छ।
ज्यानको बाजी लगाउँदै चुरेबासी
चुरे गाउँपालिका वडा नम्बर ६ का स्थानीय धन बहादुर कठायत गाउँपालिकामा सिफारिस लिन बिहीबार घरबाट निस्किनु भयो।केही समयमै सकिने सामान्य कामका लागी उहाँले दुई दिन कुर्नु पर्यो।कारण हो,गाउँपालिकासम्म जाने निर्माणधिन सडक।‘बाटोको समस्याले गर्दा गाडी चल्न सक्ने अवस्था छैन,हिँडेरै आए,उहाँले भन्नुभयो,‘बिहीबार विहान ५ बजे घरबाट हिँडेका थियौँ,तर साँझ मात्रै सहजपुर पुग्यौँ,त्यहाँबाट ज्यानको बाजी राखेर हामी चिप्लो बाटमै हिँडेरै फेरी गाउँपालिका कार्यालय पुगौँ तर त्यहाँ सबै काम सकिएन,त्यो रात हामी फल्टुडे बस्यौँ,शुक्रवार बिहान फेरी गाउँपालिका पुगेर काम भयो, अहिले फर्किँदै छु।’
बाटोको कारण निकै सास्ती भएको उहाँले गुनासो गर्नुभयो।असारको महिनामा काम गर्दैन,बाटोको अवस्था निकै दयनीय छ, उहाँले थप्नु भयो,‘सडकमा ग्राभेल हालिदिए पनि धेरै राहत हुनेथ्यो।’
सडकका कारण सेवा लिन निकै समस्या भइरहेको अर्का सेवाग्राही मनोज थापाले दुखेसो पोख्नुभयो।सडकका कारण हामी अलपत्र प¥यौँ,उहाँले भन्नुभयो,‘कुनै ठाउँमा हिलो छ,कतै ढुङ्गा त कतै खाडलहरू छन्,दुई घण्टा हिँडेर गाउँपालिका पुग्यौँ,तर बाटोमै पानी पर्यो,ओत लाग्ने ठाउँ पनि पाएनौँ।’
सडक धेरै हिलाम्मे र चिप्लो छ, उहाँले भन्नुभयो, ‘यो त पहाडी क्षेत्र हो सडकबाट खसेपछि बाँच्ने सम्भावना निकै कम हुन्छ, हामीले यस्तो जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ।’अनि हामीले घरघरमा सिंह दरवार आएको कसरी महसुस गर्ने।
अनुगमनका लागि गएको सरकारी टोली फर्कियो
शुक्रवार प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको टोली कृषि क्षेत्रको अनुगमन गर्न चुरेको लागि निस्कियो।सहजपुर क्षेत्रबाट गाउँपालिका कार्यालय रहेको बाटो हुँदै गएको टोली सडकको दुर्दशा देखेर अनुगमननै नगरे फर्कियो।
अनुगमनका लागि चुरे पुगेका एक कर्मचारीले भन्नुभयो, ‘हामीले विभिन्न संघसंस्थाहरूसंग सहकार्य गरेर कृषकहरुलाईं अनुदान दिएका थियौँ,त्यसैको अनुगमनको लागि आएका हौँ,तर सडकको कारण हामीले जान सक्ने अवस्था रहेन,त्यसैले फर्कियौँ।’
सरकारी कर्मचारी त फर्किए, अनुगमननै नगरे अर्को दिन गर्ला भनेर सेवा ग्राही गणेश बोहराले भन्नुभयो,‘तर हामी फर्किन सक्ने अवस्था पनि छैन, उहाँहरूको पो सरकारी बजेट होर आउनुहुन्छ फर्किनुहुन्छ।तर हामी यसरी खर्च गर्न पनि सक्दैनौँ,त्यसैले हाम्रो लागि कम्तीमा सडकमा ग्राभेल हाली दिए हुन्थ्यो ।’
चालु आर्थिक वर्षको असार (वर्षात)मा मात्रै सडकमा डोजर चलाउँदा झन् समस्या भएको चुरेबासीको गुनासो रहेको छ।आर्थिक वर्ष सकिने बेला काम गरे जस्तो गर्दै छन्,यसअघि यो सडकमा काम नै नभएन स्थानीयहरु बताउँछन।योजना फुत्किन नदिन काम गरे जस्तो गर्ने र ठेकेदारसंग जनप्रतिनिधिको मिलेमतोमा असारे महिनामा भ्रष्टाचार गर्ने उदेश्यले काम गर्ने गरेको आरोप स्थानीय जनप्रतिनिधिहरुलाई लाग्ने गरेको छ।र बजेट अनुसारको काम पनि नहुने स्थानीयहरुले बताउने गरेका छन।
असार मसान्तमा म्याद सकिँदै, कार्यप्रगति शुन्य
२०७६ मा गाउँपालिकाले बझाङको जागृति निर्माण सेवासँग आठ किलोमिटर कालोपत्रे सडक निर्माणका लागि तीन करोड ६४ लाखमा ठेक्का सम्झौता भयो । दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरिए पनि हाल सम्म आयोजनाको २० प्रतिशत काम पनि पुरा भएको छैन।बजेट अनुसाले काम १४ किलोमिटको सडक निर्माणसंगै कालोपत्रे हुनुपर्ने हो।र समयमै काम सकिनुपर्ने हो।तर ठेक्का सम्झौता सकिन १८ दिन बाँकीस् हुँदा पनि काम २० प्रतिशत पनि भएको छैन।
निर्माण कम्पनीको चरम लापरवाही र प्राविधिक त्रुटिका कारण सडक निर्माणमा ढिलाइ भएको इन्जिनियर विक्रम कँडेल बताउँछन्।आठ किलोमिटर सडकका लागि सम्झौता भएको छ।‘हामीले गाउँपालिका कार्यालयसम्म पुग्ने गरी सडक बनाउन खोजेका हौँ,त्यसमा प्राविधिक त्रुटि पनि भएको छ।प्राविधिक त्रुटीले गर्दा दुई किलोमिटर पनि काम भएको छैन कँडेलले भन्नुभयो।उहाँले म आउनु भन्दा पहिला नै सम्झौता भइसकेको थियो,समयमै काम सक्न निर्माण कम्पनीलाई झकझकाइरहेका छौँ,तर असार मसान्तमा म्याद सकिँदैन,कार्य प्रगति शुन्य दिखिएको बताउनु भयो।
ठेकेदारको चरम लापरबाहीका कारण सेवाग्राही र जनप्रतिनिधि सबैले सास्ती पाएको गाउँपालिका अध्यक्ष धन बहादुर रोक्का मगरले बताउनु भयो । निर्माण कम्पनीले बदमासी गर्यो,दोष हामीमाथि छ,उहाँले भन्नुभयो,‘हामीले पटक—पटक ताकेता गर्दा पनि असारसम्म कुनै काम गरेन।ठेकेदारले अहिले डोजर चलाएर सडक झन् बिगार्यो।’
‘हामीले अन्तिम चेतावनी दिइसकेका छौँ,असार मसान्तमा म्याद सकिदैँछ,यस्तै बदमासी गर्नेलाई फेरी म्याद थप्न सकिने अवस्था छैन,हामी छलफल गरेर निर्णय गर्छौँ,’उहाँले भन्नुभयो।
स्थानीय तहका अनुगमन समितिहरु प्रभावकारी नहुँदा विकास निर्माणले तिब्रता पाउन नसकेको गुनासाहरु बढ्दै गएका छन।
विकास निर्माणका कार्यहरुमा भैरहेका ढिलाशुस्ती देखि लिएर अनियमिततामाथी छानविन गर्ने निकायले बेलैमा अनुगमन नगर्दापनि सडकको अवस्था सुधार नभएर ज्यूँका त्यूँ अवस्थामा रहिरहने गरेकोले हरेक विकास निर्माणका कार्यमा राज्यको पहरेदारी आवश्यक रहेको पनि स्थानीयको जोड रहेको छ।
वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।
प्रतिक्रिया