बरामद गरिएको काठको बिगो कम गर्न योजना बन्दै,पार्टीको ध्यान जान जरुरी छ

वीरेन्द्र रावल २०७८ जेठ ३१ गते २२:५८ मा प्रकाशित


वीरेन्द्र रावल/धनगढी, जेठ ३१÷ वन कर्मचारी,वन माफिया र सामुदायिक वनका केहि टाठा बाठाहरुको मिलेमतोमा कैलाली जिल्लामा व्यापक काठको तस्करी हुन थालेको छ।कैलाली जिल्लामा देश कोरोना कहरले आक्रान्त बनेको छ।सरकारले कोरोना भाइरस नियन्त्रण र रोकथाम गर्नका लागि निषेधाज्ञा जारी गरेको छ।निषेधाज्ञा जारी गरेको आज ४५ दिन पुगेको छ।तर कैलाली जिल्लामा भने निषेधाज्ञाको मौकामा वन फडानीका गतिविधिहरु बढ्दै गएका छन।

वर्षाैंदेखि कैलाली जिल्लाको वनमा गिद्वेदृष्टि लगाएका वन माफिया र तस्करहरु बन्दाबन्दीको बेला सक्रिय भएका छन।यतिबेला सक्रिय भएका वन माफिया र तस्करहरुले रातारात जिल्लामा रहेका सामुदायिक तथा राष्ट्रिय वन फडानी गरि काठ तस्करी गर्न थालेका छन।

जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ५,७ र ९ पर्ने राष्ट्रिय वनमा कटान आदेशबिनानै सालका रुखहरु अबैध रुपमा कटानी भएको पाइएको छ।

वन निगम धनगढीबाट छपान,कटान र संकलनको स्वीकृति पाएको शिवशंकर, सुनपाल,निराजन र अण्डैया बालुवागडा क्षेत्रमा पर्ने राष्ट्रिय वनमा अबैध रुपमा काँचा सालका रुख कटान गरिएको पाइएको छ।काटिएका रुखका काठहरु सुखाखडाको नामका कटानी आदेश लिएको भनेर घाटगद्धिमा संकलन गरिएको छ।सो राष्ट्रिय वन क्षेत्रमा एक हजार एक सय क्युफिट बराबरको सालका गोलिया रहेको बताइएको छ।

वन कर्मचारीकै मिलेमतोमा कैलाली जिल्लाको वन सखाप पारिदै छ । वन कर्मचारीसंगको मिलेमतोमा ठेकेदारको योजना अनुसार वन माफियाहरुले वन फडानी गर्ने गरेको बताइन्छ।

२८ थान सालको गोलिया बरामद

डिभिजन वन कार्यलय धनगढीबाट खटिएको टोलीले २८ थान सालको गोलिया बरामद गरेको छ।गौरिगंगा नगरपालिका वडा नम्बर ७ मा रहेको निराजन राष्ट्रिय वन क्षेत्रबाट अबैधरुपमा लुकाएर राखिएको २८ थान सालको गोलिया बरामद गरिएको डिभिजन वन कार्यालय कैलालीका सूचना अधिकारी डबल बोहराले जानकारी दिनुभयो।

सो क्षेत्र वन फडानी काठ तस्करी बढ्दै गएको गोप्य सूचनाका आधारमा अनुगमन गर्न जाँदा २८ थान सालको गोलिया बरामद गरिएको उहाँले जानकारी दिनुभयो।सामुदायिक वनसँग जोडिएको राष्ट्रिय वन क्षेत्रमा वन निगमलाई कटान छपानका लागि दिएका नम्बर भन्दा नयाँ नम्बर रुखमा लेखेर काठ गोलिया तस्करी गरिएको बोहराले जानकारी दिनुभयो।

सो क्षेत्रमा वन निगमले स्थानीय काठका ठेकेदारहरुलाई छपान, कटान र ढुवानी संकलनको जिम्मेवारी दिएको थियो।तर गतवर्ष नै संकलन भैसकेका रुखको नम्बर नयाँ रुखहरुमा छपान हालेर कटान गरिएको स्थानीयले बताएका छन।तर अवैधरुपमा काटिएका रुखहरुलाई वन कर्मचारीहरुले बेवारिसे बनाउन खोजेको स्थानीयको आरोप छ।

वन निगम तथा वन कर्मचारीले रुख कटान हुने फिल्डमा पुगेर प्रत्यक्ष अनुगमन निरीक्षण गर्नुपर्नेमा सामुदायिक वनको कार्यालयमा बसेर ठेकेदारले दिएको विवरण वन कर्मचारीहरुले भर्ने काम गरेकाले कर्मचारीकै मिलेमतोमा काठ गोलिया तस्करी भएको नाम नबताउने सर्तकमा एक कर्मचारीले बताउनु भयो । उहाँले भन्नुभयो, स्थानीयले चासो दिन थालेपछि घटना घटना बाहिर आएको हो।

ठेकेदारको योजना र वन कर्मचारी मिलेमतो

पछिल्लो समय कैलाली जिल्लाको वन ठेकेदारको योजना र वन कर्मचारीको मिलेमतोमा सखाप पारिदै छ । डिभिजन वन कार्यालय धनगढीबाट वन पेशी दिई सव डिभिजन वन कार्यालय मसुरियामा पर्ने ठेक्का नं (एनबीएनएल–डि–एनसीबी–एस–२०७६–७७–०४) मा पर्ने प्लट शिवशंकर राष्ट्रिय वन प्लट नं ८ ढलापडा काठ दाउरा मिति २०७७ –२ –८ मा भएको कटान मुछान संकलन म्याद थप गरेर पठाएको सम्झौता विपरित रुख कटानी भएको फेला परेको वन निगम लिमिटेड धनगढीका सहायक तारा भट्टले बताउनु भयो।यसले वन कर्मचारीसंगको मिलेमतोमा वन फडानी भएको बुझिन्छ।

वन निगमसँग प्रयाप्त कर्मचारी नहुदाँ एकैपटक कैलाली र कञ्चनपुरका राष्ट्रिय वनमा काम हुदा सबै तिर ध्यान पुर्याउन नसक्दा ठेकेदारलाई कटान सहमति पत्र सहित अनुमति दिईएको सोही क्रममा स्थानीय संकलन कर्ताहरुबाट कमजोरी भएको भन्दै यसलाई सामान्य रुपमा लिएर मिलाउनु पर्ने भट्टले बताउनु भयो । उहाँले सामुदायिक वन उपभोक्ता समूह,वन कार्यालय,वन समन्वय समिति र गौरीगंगा साझेदारी वन व्यवस्थापन समितिसँगको समझदारीमा अहिले भएको बदमासीलाई स्थानीय रुपमा मिलाउनु पर्ने भन्दै समन्वयात्मक कार्यक्रम संचालन गर्न प्रस्ताव राख्नुभएको छ।

काठ कटानीको क्रममा स्थानीय वन सम्बद्व निकायले ठेकेदारहरुले सम्झौता र कार्यआदेश विपरित नयाँ छपान गरेर काठ कटान भएको भन्दै सव डिभिजन वन कार्यालय मसुरिया, डिभिजन वन कार्यालय धनगढी र वन निगम लिमिटेडलाई स्थानीयहरुले पटकपटक सूचना र खबरदारी गर्दा समेत सम्बन्धित कार्यालयले बेखबर जस्तै भएको हो । गत असोजदेखि ती क्षेत्रमा संगठित रुपमा काठ कटान तस्करी भैरहेको स्थानीयहरुले बताउँछन।

काठ तस्करीमा देउवाको हात

गौरीगंगा वडा नम्बर ९ मा पर्ने शिवशंकर सामुदायिक वनका पुर्व अध्यक्षसमेत रहेका महेन्द्र देउवा काठ तस्करीमा संलग्न भएको आरोप लागेको छ।राजनैतिक संरक्षण, वन कर्मचारी आफ्नो जिम्मेवारीबाट पन्छिनु र तस्करकै ठूलो गिरोहले उनलाई देउवाले साथ दिने गरेका कारण काठ तस्कर गर्ने गरेको स्रोतको दाबी छ।

देउवाको समुहले शिवशंकर सामुदायिक वनको घाटगद्वीबाट गएको असोजमा १६ थान गोलिया चोर्नुका साथै सुनपाल शिवशंकर राष्ट्रिय वन क्षेत्रबाट करिब ६५ वटा सालका रुख कटान गरेर तस्करी गरेको वन कार्यालयलाई सूचना दिदा समेत सम्बन्धित निकायले बेवास्ता गरेको बताइन्छ । वन निगम लिमिटेडले पनि स्थानीय छपान कटान र संकलनको जिम्मा काठका ठेकेदार र तस्करहरुलाई दिनुले पनि तस्करीमा सरोकारवाला निकायको पनि मिलेमतो रहेको पष्ट देख्न सकिन्छ।

राष्ट्रिय वनबाट तथा सामुदायिक वनमा चोरी तस्करी भइरहेका समाचारहरु विभिन्न सञ्चार माध्यममा आउँदा समेत डिभिजन वन कार्यालय धनगढी, सव डिभिजन वन कार्यालय र सरोकारवाला निकायको ध्यान नजाँदा तस्करी मौलाउदै गएको बताइन्छ।प्रदेश वन निर्देशनालय धनगढीले म्याद थपमा कटान आदेश दिएर अनुगमन गर्नुपर्ने दायित्वबाट पन्छिनुले पनि कर्मचारीको मिलेमतो छकी भन्ने प्रश्न चिन्ह्र खडा भएको छ।

काटिएका रुखहरु बेवारिसे बनाउन खोज्दै कर्मचारी

राष्ट्रिय वनमा कटान भएका अवैध रुखलाई बेवारिसे बनाएर संकलन गर्न सव डिभिजन वन कार्यालय मसुरिया लागिपरेको स्थानीयको आरोप छ।गौरीगंगा –७ को निराजन सामुदायिक वनसँग जोडिएको राष्ट्रिय वन क्षेत्रमा कटान भएका २८ थान गोलिया सव डिभिजन वन कार्यालयले बेवारिसे बनाएको हो।इनामेल पेन्टले नम्बर लेखेर अवैधरुपमा काटिएका रुखको काठ बरामद गरी कारवाही गर्नुपर्ने डिभिजन वन कार्यालय काटिएका रुखहरुलाई बेवारिसे बनाएर तस्करलाई बचाउन लागिपरेको बताइन्छ।

ठेकेदारहरुलेनै गतवर्षनै संकलन भैसकेका रुखको नम्बर नयाँ रुखहरुमा छपान हालेर कटान गरि छोडेको स्थानीय बताउँछन।ती गोलिया तस्करमा संलग्न व्यक्तिलाई जोगाउन बेवारिसे बनाई सव डिभिजन कार्यालयले बरामद गरेको स्थानीय सामुदायिक वनका उपभोक्ताहरूले बताएका छन्।जेठ ७ गते सम्मको मात्रै म्याद रहेको थियो।काठ,दाउरा र गोलिया छपान,कटान,ढुवानी गरि घाटगद्दी संकलनको कार्य रहेको वन निगमका कर्मचारी अनिल चौधरीले बताउनु भयो।

विगो कम देखाउन चलखेल हुँदै

वन डिभिजन कार्यालय कैलालीले सहायक वन अधिकृत डबल बोहराको संयोजकत्वमा छानविन समिति समेत गठन गरि अवैध रुपले कटानी भएको क्षेत्रमा अनुसन्धानका लागि पुग्ने क्रममा फेला परेका सालका गोलियाको परिमाण घटाउने र कम विगो देखाएर मुद्धालाई कमजोर बनाउन कार्यमा ठूलो समूह सक्रियतापूर्वक लागि परेको समेत स्रोतले जनाएको छ ।

स्रोतका अनुसार जिल्ला सरकारी वकिलको कार्यालय सम्म विगो कम राख्नु पर्ने भन्दै कर्मचारीहरु र तस्करहरु सक्रियतापूर्वक लागि परेको स्रोतले बताएको छ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया