बज्जिका शिरोमणि सम्मानबाट सञ्जय साह मित्र विभूषित

इनेप्लिज २०७७ चैत २९ गते १७:५२ मा प्रकाशित

रौतहट,बज्जिका भाषा र साहित्यका अभियन्ता सञ्जय साह मित्रलाई सर्लाहीको एउटा संस्थाले बज्जिका शिरोमणि सम्मान २०७७ बाट विभूषित गरेको छ।सर्लाहीको हरिपुर्वा नगरपालिका ३ धनकौलमा बज्जिका समृद्धि समाज गोडैता सर्लाहीले साहित्यकार मित्रलाई बज्जिका भाषा र साहित्यको सबैभन्दा ठूलो उपाधिबाट पहिलोचोटि विभूषित गरेको हो।

समाजका अध्यक्ष जियालाल राय,बज्जिका पत्रकार समाज नेपालका अध्यक्ष राजुकुमार श्रीवास्तव,हरिपुर्वा नगरपालिका ३ का अध्यक्ष धर्मराज सिंह तथा सभाध्यक्ष हरिनारायण महतो कुशवाहाले संयुक्तरूपमा साहित्य मित्रलाई बज्जिका शिरोमणि उपाधि सम्मानपत्रसहित प्रदान गरेका हुन्।

बज्जिका भाषाको बारेमा पहिलो लेख २०५२ सालमा नै प्रकाशित गरी निरन्तर भाषा विकासको सक्रियतामा रहेका मित्रको नेपालमा बज्जिका भाषाको पहिलो लेख,पहिलो कृति तथा सम्पादनमा पहिलो पत्रिका प्रकाशित छन्।२५ वर्षभन्दा लामो समयदेखि निरन्तर बज्जिका भाषा र साहित्यको सेवामा रहेका मित्रको सक्रियतामा बज्जिकाको विभिन्न संगठनहरु स्थापना पनि भएका छन्।

जिल्ला प्रशासन कार्यालय सर्लाहीमा रामचन्द्र महतो कुशवाहाको नाममा दर्ता भई प्रकाशन भएको बज्जी साहित्यिक त्रैमासिक पत्रिकाको पहिलो अंकको लोकार्पण समारोहमा मित्रलाई सो उपाधि प्रदान गरिनुका साथै बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष किशुनदयाल श्रीकृष्णलाई बज्जिका सम्राटको उपाधि प्रदान गरिएको छ।

पूर्वी बारादेखि महोत्तरीसम्म बोलिने बज्जिका भाषा २०६८ को जनगणना अनुसार देशको सातौँ र प्रदेश दुईको तेस्रो ठूलो भाषाको रुपमा तथ्यांकमा देखिएको छ ।बज्जिका भाषाको बारेमा निरन्तर चेतना वृद्धि भइरहेकोले आउँदो जेठ–असारमा हुने जनगणनामा बज्जिका भाषाको जनसंख्या तथा प्रतिशत दुवै बढ्ने विश्वास बज्जिका अभियन्ताहरुले व्यक्त गरेका छन्।कार्यक्रममा वडाध्यक्ष सिंहले एक महिनाभित्र बज्जिका भाषाको ठूलो र व्यवस्थित कार्यक्रमको आयोजना गरी सर्लाही र महोत्तरीमा बज्जिका भाषाको विस्तारमा आफूले योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

सर्लाही,महोत्तरी र रौतहटका शिक्षक,साहित्यकार तथा पत्रकार र समाजसेवीहरु सम्मिलित कार्यक्रममा जियालाल राय,रामचन्द्र महतो कुशवाहा, राजेन्द्र ठाकुर, रेणु गुप्ता,सञ्जय सुदामा,रामनगर गाउँपालिकाको शिक्षा शाखा प्रमुख रामपवित्र साह,गर्भु महतो,महेश्वरप्रसाद यादव,विश्वम्भर राय,धर्मेन्द्र यादव,राधेश्याम कुशवाहा सहितका वक्ताहरुले दुई उपाधिबाट विभूषित हुने सर्जकको प्रशंसा गर्दै बज्जिका भाषा र साहित्यमा योगदान दिने प्रतिबद्धता जनाएका छन्।

सर्लाहीबाट प्रकाशन आरम्भ गरिएको बज्जी साहित्यिक त्रैमासिकको विभिन्न पक्षको बारेमा प्रकाशक सम्पादक रामचन्द्र महतो कुशवाहाले प्रकाश पारेका छन्।पत्रिकाको संरक्षकमा पूर्व प्रजिअ डा.कमलेश्वरकुमार सिन्हा,कार्यकारी सम्पादकमा सञ्जय सुदामा,व्यवस्थापकमा किशुनदयाल श्रीकृष्ण,सल्लाहकारहरुमा मनमोहनसिंह मनोहर,महादेव झा,रामपवित्र साह,जियालाल राय र प्रधान सम्पादकमा सञ्जय साह मित्र रहेका छन्।

प्रतिक्रिया