मोहम्मद सदरुल,
विराटनगर,२८ माघ(रासस):मोरङको बुढीखोलास्थित सुनसरी–मोरङ सिँचाई आयोजनाको नहर संरचना अत्यधिक जोखिममा परेको छ।
वर्षेनी बर्षातको समयमा खोलामा आउने बाढीको कारण कटानले तीव्रता लिएपछि खोलाको पुल र नहर जोखिममा परेको आयोजनाले जनाएको छ। खोलाको पूर्व र पश्चिम तथा दक्षिण तर्फबाट तीव्र गतिमा कटान भइरहेको छ भने यसलाई बचाउन आयोजनाले नदीको पानी खस्ने ठाउँमा सिमेन्ट,कङ्क्रिट ब्लक र ढुङ्गा सहितको तारजाली लगाउनु पर्ने आवश्यकता देखिएको छ।बुढी खोलाको नहरको संरचना १६५ मिटर लम्बाईको एक्वाडक्ट कम ब्रिज हो।खोला दिन प्रति दिन गहिरिदै जानाले पनि नहरको संरचनाको जोखिम बढेको हो।
यदि यो संरचना नदी कटानको कारणले भत्कियो भने मोरङमा रहेका नौ वटै शाखा नहरहरु छुरछुरिया शाखा, हरिनगरा शाखा, विराटनगर शाखा,वरियाती शाखा,नयाँ पट्टी शाखा,आम झोडा शाखा,रञ्जनी शाखा,चिस्याङ शाखा र झमनपुर शाखामा आश्रित कृषकहरु सिँचाईबाट बञ्चित हुने अवस्था सिर्जना हुन्छ ।
तीन वर्ष पहिले मोरङको लोहन्द्राखोला स्थित नरहको संरचनालाई बाढीले बगाएपछि छ वटा शाखामा आश्रित किसान अहिले पनि आकाशे पानीको भरमा खेती गर्न बाध्य छन् भने यो संरचना बनाउन आयोजनाले मूल्यअभिवृद्धि कर सहित रु.२९ करोड ९७ लाख ५६ हजारमा ठेक्का लगाई काम भइरहेको आयोजना प्रमुख भिलानन्द यादवले जानकारी दिनुभयो।
बुढी खोलामा अहिलेको जस्तै कटान लोहन्द्रा खोलामा पनि देखिएको थियो तर आवश्यक बजेटको अभावमा तत्काल काम गर्न नसकिएपछि नहरको संरचनालाई बाढीले बगायो भने त्यस क्षेत्रका करीब १० हेक्टर जग्गामा धानखेतीको समयमा किसानले पानीका लागि सास्ती व्यहोर्नु परेको प्रमुख यादवले बताउनुभयो।उहाँले कुनै पनि समस्यालाई तत्काल नै समाधानको उपाय गर्नु पर्ने कुरामा जोड दिँदै सिँचाई जस्तो सम्वेदनशील क्षेत्रमा विभागले समयमै बजेट विनियोजन गरेर समस्या समाधान तर्फ लाग्नु पर्ने धारणा राख्नुभयो।उहाँले लोहन्द्रा खोलाको नहर यसैवर्ष सञ्चालन गर्न रु.आठ करोड आवश्यक छ,नभए बनेको संरचनालाई आउने बर्षातमा हुने बाढीले संरचनालाई जोखिममा पार्न सक्ने बताउनुभयो।
लोहन्द्रा खोला देखि पूर्व रहेको बुढी खोलामा पनि नहरको पुरानो संरचना हो र यसलाई बचाउन विभागले तत्काल रु.एक करोड ५० लाख विनियोजन गर्नु पर्ने अयोजनाका डिभिजनल इन्जिनियर रमेशलाल कर्णले जानकारी दिनुभयो।उहाँले बुढी खोलाको संरचनालाई जोगाउन तत्काल विभागबाट विनियोजित बजेट रु.३४ लाखको बोलपत्र आह्वान भइसेको छ भने यसवर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार रु.६२ लाख बजेट विनियोजन भई बोलपत्र आह्वान हुने अवस्थामा रहेको जानकारी दिनुभयो।यो संरचनालाई बचाउन थप रु.एक करोड ५० लाख बजेट भएमा बाढीबाट हुने नोक्सानीबाट जोगाउन सकिने दावी गर्नुभयो।उहाँले कुनै कारणले यो संरचना भत्कियो भने मोरङमा सिँचित हुने २८ हजार अर्थात ४२ हजार विघा खेतमा सिँचाई गर्न समस्या हुने बताउनुभयो।
विराटनगर शाखा नहर जलउपभोक्ता समितिका अध्यक्ष वीरेन्द्र माझीले बुढी खोलाको संरचना भत्कियो भने मोरङको कुनै पनि शाखा नहरहरुमा पानी जाँदैन,यस बाट किसानलाई मात्र होइन राज्यलाई पनि धेरै नोक्सानी हुने बताउनुभयो।उहाँले यो संरचना कुनै पनि हालतमा भत्किनु हुँदैन,त्यसैले विभागले समयमै यसको उपचार गर्नुपर्छ भन्नुभयो।हरिनगरा शाखा नहर जलउपभोक्ता समितिका अध्यक्ष सुजित माझीले हामीले धेरै पहिले देखि नै बुढी खोलाको संरचना बचाउनका लागि आवाज उठाइरहेकाछौँ तर पनि विभागले ध्यान नदिएकोमा दुःख व्यक्त गर्नुभयो।उहाँले भन्नुभयो–‘अन्न उत्पादनको रुपमा चिनिने जिल्ला मोरङमा सिँचाई बिना कसरी बाली उत्पादन गर्न सकिन्छ।’
बरियाती शाखा नहर जलउपभोक्ता समितिका अध्यक्ष मोहन श्रेष्ठले दिनप्रतिदिन बुढी खोला गहिरिदैँ गएको छ,यो खोलाको नहरको संरचनाले पनि ५० वर्ष पार गरिसक्यो,त्यसैले यसलाई बचाउनुको विकल्प छैन,नभए मोरङका किसान भोकभोकै मर्ने स्थिति सिर्जना हुने भन्नुभयो।
प्रतिक्रिया