मनोज दाहाल,
विराटनगर,७ माघ(रासस):‘बेसाहाराका लागि साहारा’बन्दै मानव सेवा आश्रमले आफ्नो नाम अनुसार काम गरेको छ।
मुख्य कार्यालय वागमती प्रदेशको राजधानी हेटौडामा रहेको आश्रम विसं २०६९ भदौ १३ गते पाँच जना सहयोगापेक्षीको साहारा बनी सञ्चालनमा आएको आश्रम ‘मानवीयताको कुनै सीमा हुदैन’ भन्ने नाराका साथ सर्वोत्कृष्ट जीवन,शाश्वत चिन्तन र भातृत्वको आधारमा काम गरिरहेको छ।
प्रदेश नं १ को राजधानी विराटनगरमा विसं २०७६ भदौमा विराटनगर– १० स्थित बहालको घरबाट स्थापना भएको प्रदेश आश्रममा अहिले एक महिनाको बालकदेखि ९५ वर्षका जेष्ठ नागरिक सहित २५२ जना सडक मानव, अपाङग,असहायहरुको वसोवास बनेको छ ।जसमा चार बालबालिका र ९२ महिला छन्।
आश्रय लिनेहरुमा मुख्यत बेसाहारा एवं असाहय भई भोकभोकै सडक पेटीमा वसोवास गर्ने,भीख माग्नेलाई सहारा दिने उद्देश्यले आश्रममा राखिएको छ भने भीख माग्ने पेशा बनाई, कुलत सङ्गत भई सडकमा वसोवास गर्नेहरुलाई पनि आश्रय दिने र अभिभावक भएकाहरुलाई परिबारलाई जिम्मा लगाउने गरिएको छ।यसकार्यमा स्थानीय निकायको सूचना एवं सहयोगबाट सडक मानवलाई आश्रमलाई बसोवासका लागि ल्याउने गरेको छ।
विराटनगर–१० स्थित तीनटोलिया र विराटनगर –३ वन कार्यालय उत्तर रहेको भवनबाट गरीब, असहाय र सडक मानवको सेवा कार्यमा जुटिरहेको छ। आश्रमले पुनःअर्को एक घर विराटनरमा –१ मा बहालमा लिई यही माघदेखि सञ्चालन ल्याउन लागिरहेको आश्रमका प्रदेश प्रमुख नवराज केसीले जानकारी दिनु भयो।
आश्रम सञ्चालनमा रहेको तीनटोलियामा तीन कठ्ठा १० धुर, विराटनगर–३ मा एक कठ्ठा १० धुर र आगामी दिनमा सञ्चालन हुने नयाँ आश्रमको दुई कठ्ठा जग्गामा आश्रमको भवनमा क्रमशः २२ कोठा,१७÷१७ कोठा रहेका छन्।
आश्रमले गएको पुस ७ गतेदेखि ११ गतेसम्म सञ्चालन गरेको मेची –महाकाली अभियान (नाना, छाना र खाना) विहीन अवस्थामा रहेका मोरङ, सुनसरी र झापा जिल्लाको राजमार्ग क्षेत्रमा रहेका असहाय, अपाङ्ग, सडक बालबालिका २५३ जनालाई उद्धार गरिएको छ।यसरी उद्धार गरिएकाहरुमा झापाका ७६, सुनसरीका १११ र मोरङमा ६६ मध्ये विराटनगरका ४५ जना रहेका छन्।उद्धार गरिएका मध्ये १० जना बालबालिकालाई इटहरीस्थित खोजतलास अनुसन्धान इटहरी र नौ जनालाई काठमाडांै पठाएको प्रमुख केसीले बताउनु भयो । उहाँले अन्य सडक मानवलाई आश्रमको विराटनगर–३ र १० मा रहेको भवनमा राखिएको छ भन्नुभयो।
उद्धार गरिएको अपाङ्गहरुलाई विराटनगरस्थित आश्रममा राखिएको छ । प्रदेशमा रहेको १४ जिल्ला मध्ये मोरङ, सुनसरी,झापा लगायतका पहाडी जिल्ला तथा भारतीय सडक मानवहरुलाई उद्धार गरी आश्रममा आश्रय दिइरहेका छन्।
प्रदेश सरकार,स्थानीय निकाय र समाजसेवी एवं दाताहरुको सहयोगबाट आश्रमको दैनिक कार्य सञ्चालन भइरहेको आश्रमले जनाएको छ।विराटनगर महानगरपालिकाले वहालमा लिएको दुई वटा आश्रम भवनको मासिक रु.दुई लाख २० हजार बहाल रकम व्योहोरी रहेको छ।प्रदेश सरकारले अन्य आश्रम सञ्चालन खर्चको ३० प्रतिशत भुक्तानी गर्ने गरेको आश्रमका प्रमुख केसीले बताउनु भयो।
स्वदेशी दाताहरुको सहयोगबाट सञ्चालित आश्रममा शर्त सहितको विदेशी सहयोग निशेध गरिएको छ।अहिलेसम्म आश्रममा बस्नेहरुमध्ये १०० जनालाई परिवारिक पुनःमिलन गराइएको छ,जसमध्ये आठ महिला र अन्य पुरुष छन्।
यसरी पुनःमिलन गराएकाहरुमा प्रदेश नं १ बाहेक कर्णाली र बागमती प्रदेशका समेत छन्।पुनः मिलन गराइएको मध्ये विगत छ वर्षदेखि मानसिक विक्षिप्त रुपमा रहनु भएकी झापा टुक्रेकी एक महिलालाई उनका श्रीमान,छोरीको साथ भेटाउँदा भक्कानो छोडेर रोएको अहिले पनि सम्झाना आइरहेको प्रमुख केसीले स्मरण सुनाउनु भयो।
प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीयतामा सडक मानवलाई आफ्नो सरकार भएको अनुभूति गराउने यसप्रकारको मानवीय सेवा कार्यलाई उच्च मनोबलका साथ सहयोग प्रदान गरिरहेको बताउनु भयो।
सामाजिक विकास मन्त्री समेत रहनु भएको मन्त्री कार्कीले मुुलुकमा सडक मानव विहीन तुल्याइ उनीहरुलाई ‘न्यानो ओछ्यान सहित भोको पेट विहीन’ बनाउन सरकार आफ्नो कर्तव्यमा अडिग रहेको धारणा व्यक्त गर्नु भयो।
आश्रममा वसोवास गर्नेहरुलाई पोषिलो खानेकुरा, चिया नास्ताको प्रबन्ध मिलाइएको छ भने मौसम अनुसार लत्ताकपडाको पनि व्यवस्था गरिएको छ । प्रदेशका निवर्तमान सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेशलाई सडक मानवमुक्त बनाउन विभिन्न कार्यमार्फत सहयोग गरिएको बताउँदै सहज वसोवासका लागि ग्रामथानमा आश्रम निर्माणाधीन अवस्थामा रहेको जानकारी दिनुभयो ।उहाँले आश्रमले उद्धार गरिएका सडक मानवका लागि आवास, स्वास्थ्य उपचारमा ध्यान केन्द्रीत हुने बताउँदै सडक मानवमुक्त प्रदेश निर्माणमा सबैको सहयोग आवश्यक छ भन्नुभयो।
विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले विराटनगरलाई सडक मानव मुक्त महानगर बनाउनका लागि अभियानलाई निरन्तर सहयोग गर्ने बताउनु भयो ।उहाँले कष्टकर जीवन यापन गरिरहेका सडक मानवलाई सहज जीवनका लागि महानगरको सहयोग सदैव रहने धारणा राख्नु भयो।
जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेशप्रसाद पोखरेलले अशक्त, असाहय मानिसको उद्धार कार्यले मानव सभ्यताको सकारात्मक सन्देश समाजमा फैलिँदा सडकमा मागेर जीविको पार्जन कार्यको अन्त्य हुन्छ भन्नु भयो।आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले सातवटै प्रदेश सरकार,स्थानीय पालिका र सर्वसाधारण नागरिकको मुठ्ठिदानले आश्रम सञ्चालन भएको बताउनुभयो।उहाँले उद्धार कार्यलाई राजमार्ग वाहेक अन्य क्षेत्रमा समेत निरन्तरता दिने जानकारी दिनु भयो।
प्रदेश सरकारले सडक मानव पुनस्थार्पनाका लागि मोरङको ग्रामथान गाउँपालिकामा ११ विगाहा क्षेत्रमा निर्माण भइरहेको आश्रम आगामी वैशाखदेखि सञ्चालनमा आउने भएको छ। उक्त गाउँपालिका अन्तर्गत वडा नं ६ र ७ मा ७२ बटा घर रु. तीन करोड ५० लाखको लागतमा १० विगाहा १४ कठ्ठामा निर्माण भइरहेको र सो स्थानमा मानवआश्रम,जेष्ठ नागरिक ग्राम र बालबालिक ज्ञान केन्द्र रहने बताइएको छ।बन्दाबन्दी पछिको समयमा महिनामा १५ देखि २० दिनसम्म खाना,फलफूल,लत्ता कपडा लगायतका सामान आश्रमलाई नागरिक तहबाट सहयोग भइरहेको प्रमुख केसीले जानकारी दिनुभयो।
पछिल्लो समयमा सम्पन्न मानिसहरुले वार्षिक पुण्यतिथि,जन्मोत्सव, बिवाहको वार्षिकोत्सव,पास्नी,छोरा छोरीले सफलता प्राप्त गरेको खुशीको दिन लगायतका समयमा खाना,लत्ता कपडा प्रदान गर्नाले आश्रम सञ्चालनमा सहयोगमा पुगेको छ भने चकलेट,मिठाई वाहेक अन्य तयारी खाद्य सामाग्री ल्याउन आश्रमले निषेध गरको छ।सहयोग गर्न चाह्ने दाताका लागि प्रति व्यक्ति प्रति छाक रु १०० र खाजाको लागि प्रति व्यक्ति रु ५० दर कायम गरिएको छ।
आश्रममा वसोवास गर्नेमध्ये ७० प्रतिशत राम्ररी बोल्न सक्ने अवस्थामा नरहेकाले उनीहरुको उचित रेखदेख र स्याहार सुसारमा आश्रमले विशेष ध्यान पुर्याइएको छ।सडक मानव मुक्त बनाउन स्थानीय पालिकाहरुले पनि सहयोग गर्दै आकाएको छ यसका लागि झापाको दमक नगरपालिका,मोरङको सुन्दरहरैचा नगरपालिका,कानेपाखरी र सुनसरीको इटहरी उपमहानगरपालिकाले आश्रममा सहयोग गरिरहेको बताएको छ।आश्रममा आश्रित मध्ये ३० प्रतिशतले भोक लागेको जानकारी दिने गरे पनि दिसापिसाव गरेको थाहा नपाउने अवस्थाका छन् ।उनीहरुलाई सरसफाई आदिका लागि आश्रमले आफ्ना स्वयंसेवकहरुलाई खटाउने गरेको छ।
मानसिक बिरामी रहेको आश्रितहरुका लागि आवश्यक उपचारका लागि डा निकिश राजभण्डारीले आश्रममै पुगेर सेवा दिइरहनु भएको छ भने जटिल किसिमका बिरामीलाई कोशी अस्पताल,बालबालिकको अस्पताल,नोबेल शिक्षण अस्पतालमा सःशुल्क उपचार गर्ने व्यवस्था आश्रमले गर्दै आएको छ।
बन्दाबन्दीको समयमा श्रमिक, सडक मानवलाई दैनिक बिहान बेलुका खाना खुवाउने अभियानमा जुटेका सामाजिक अभियन्ता वसिम आलमले समाज सेवा नै सबैभन्दा ठूलो तथा धर्म भएकोले आश्रममा वसोवास गर्ने,गरीब, बेसाहार,असहायलाई जाडोबाट बचाउन न्यानो लुगा र खाद्य सामाग्री प्रदान गरिरहेको छु भन्नुभयो।
विराटनगर–१५ का इन्दु सुव्वाले आफ्नो श्रीमानको वार्षिक पृण्य तिथिमा आश्रमममा एक छाक खाना खुवाउन पाउँदा ज्यादै नै सन्तुष्टि प्राप्त भएको प्रतिक्रिया दिनुभयो।यसैगरी आश्रमलाई साहारा नेपाल(राकुस)झापा विर्तामोडले रु तीन लाख मूल्य बरावरको न्यानो कपडा, वल्र्ड लिङकले इन्टरनेट सेवाले कपडा सहयोग गरेको छ।
यसैगरी पुस ७ गतेदेखि सञ्चालन भएको मेची महाकाली सडक मानव उद्धार अभियान अन्तर्गत माघ ६ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतसम्म ५३० जना सडक मानवलाई उद्धार गरेको आश्रमका केन्द्रीय कार्यालय हेटौडाका अभियन्ता मनोज घिमिरेले जानकारी दिनु भयो।आश्रमले सात प्रदेशको १५ जिल्लाको २२ स्थानमा असाहय,सडक मानवहरुलाई व्यवस्थित वसोवास कार्य गरिरहेको छ।
आश्रमले प्रदेश नं १ अन्तर्गत मोरङको विराटनगर हाल दुई, प्रदेश नं २ को सर्लाहीको हरिवन,पर्साकोको वीरगञ्ज,वागमती प्रदेशको सामुखुशी, र वुढानिलकण्ठ, ललितपुरको हात्तिवन,नागदह, भक्तपुरको कौशालटार,हेटौडाको वडा नं २ र ९ मा रहेको आश्रममा उद्धार गरिएकालाई व्यावस्थापन गरिएको छ ।
यसैगरी चितवनको भरतपुर वाइपास रोड,गण्डकी प्रदेशको गोखरा जिल्लाको गोरखा बजार,वालजुङ्गको वागलुङ बजार,लमजुङ्गको वेसी शहर नगरपालिका, कास्कीको पोखरा छोरेपाटन र हेम्जा, प्रदेश नं ५ अन्तर्गत रुपेन्द्रहीको वुटवल सुख्खा नगरमा दुई स्थानमा आश्रम सञ्चालन गरिएको अभियन्ता घिमिरेले बताउनु भयो ।यस्तै कर्णाली प्रदेश अन्तर्गत सुर्खेतको वीरेन्द्र नगरपालिका,र सुदूरपश्चिमीको कैलाली जिल्लाको धनगडीमा गरी जम्मा एक हजार ६५० जनाले असाहय एवं सडक मानवले आश्रय लिइरहेका छन्।आश्रमको मुख्य कार्यालय हेटौडा नगरपालिका–९ मा उद्घाटन हुने अवस्थामा रहेको २६ कोठे भवनमा २००जना सडक मानवलाई वसोवास गरिरहेका अभियन्ता घिमिरेले जानकारी दिनु भयो।
आश्रममा १२० जना स्वयंसेवक अभियन्ताले सेवा प्रदान गरिरहनु भएको छ।
पत्रकार
प्रतिक्रिया