विराटनगर, ५ माघ । विपद् घण्टी बजाएर नआउने भएकोले यसबाट बच्नु बचाउनु नै सबै भन्दा राम्रो उपाय रहेको धारणा सहभागीहरुले राखेका छन्।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आज यहाँ आयोजित वन डढेलो तथा आगलागीको जोखिम पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सो धारणा राखेका हुन।
आगलागी,हावाहुरी, भारी बर्षा,चट्याङ,भूकम्प जस्ता विपद्ले मानिसहरुको ज्यान मात्र नभएर भौत्तिक सम्पति पनि नष्ट गर्ने भएकोले यसतर्फ सबैको ध्यान जानु आवश्यक रहेको भनिएको छ।
विश्वमा नेपाल जलवायुको हिसाबले चौथौ, भूकम्पको हिसाबले ११औँ र बाढी पहिरोको हिसाबले ३० औँ जोखिमको देशमा रहेकाले प्रदेश नं१ पनि यसबाट अछुतो रहन नसकेको कार्यक्रम संयोजक जनार्दन गौतमले बताउनुभयो।उहाँले १० वर्षको अवधिमा प्रदेश नं १ मा भूकम्प भन्दा पनि आगलागीको तीन हजार ८७७ वटा घटनामा ११८ जनाले ज्यान गुमाएको, ३१३ जना वेपत्ता भएको,चट्याङबाट २८७ जनाको मृत्यु, पहिरोबाट १४५ जनाको मृत्यु, ३४ बेपत्ता, ९४ जना घाइते, बाढीबाट १४२ जनाको मृत्यु, ८४ जना वेपत्ता २५ जना घाइते, भारी बर्षाबाट दुई जनाको मृत्यु, हावाहुरीबाट ११ जनाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँले सोही अवधिमा सुनसरीमा ६४० वटा आगलागीको घटनामा २३ जनाको मृत्यु भएकोले मानिसहरुले यस्ता विपद्बाट हुने हानी नोक्सानीबाट जोगिन सजग एवं सतर्क रहनु पर्ने बताउनुभयो।
कार्यक्रममा प्रदेश भरिका डिभिजनल वन कार्यालयका प्रमुख, जिल्ला स्थितका नेपाली सेनाका, सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुख, प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुखहरुको सहभागिता रहेको सो कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले प्राधिकरणको नीति तथा कार्यक्रम अन्तर्गत कार्यादेश, रणनीतिक सोच,व्यवस्थापकीय संरचना र भावी कार्यदिशाका बारेमा वन तथा भूसंरक्षण मन्त्रालयका उपसचिव सुन्दर शर्माले आगलागी प्रतिकार्य र व्यवस्थापन अन्तर्गत अवधारण, वर्तमान व्यवस्थापकीय स्वरुप, अग्नी समन, उद्धार तथा राहत, प्राविधिक पक्ष, चुनौती र समस्या एवं भविष्यका लागि कार्ययोजनाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले कार्यक्रमको समुद्घाटन गर्दै प्राकृतिक हिसाबले धेरै जोखिम रहेको हाम्रो मुलुकमा आमनागरिकको जिउधन रक्षा गर्न प्राधिकरणले आवश्यक रणनीति लिनु पर्ने बताउनु भयो।उहाँले विपद्मा परेका मानिसलाई उद्धार एवं राहत वितरण गर्नु भन्दा पनि त्यसबाट बचाउन दीर्घकालीन रणनीति आवश्यक छ भन्दै प्रदेशमा विपद्बाट मानिसहरुलाई पार लगाउन प्रदेश सरकार बृहत छलफल गरी योजना बनाउने अवस्थामा रहेको स्पष्ट पार्नुभयो।
जोखिमपूर्ण क्षेत्रको बृहत अध्ययनबाट बनिने कार्ययोजनाबाट विपद्को जोखिम घटाउन सकिने धारणा राख्दै मन्त्री कार्कीले प्रदेशमा सडक दुर्घटना पनि उच्च छ भन्नुभयो।मानिसहरुले सामान्यतया नियम,नीति पालना गर्ने हो भने धेरै दुखद घटनाबाट जोगिन सकिने भन्दै मन्त्री कार्कीले प्राधिकरणले नदी छेउछाउमा रहेका बस्तीहरुलाई पनि उचित व्यवस्थापनको काम गर्नु पर्ने सुझाव दिनुभयो।
प्रतिक्रिया