दुर्गाको नयनभरि माछापुच्छ्रे सार्वजनिक

इनेप्लिज २०७७ माघ ३ गते १५:०० मा प्रकाशित

काठमाडौँ,

नेपाली साहित्यमा पछिल्ला दशक मुक्तक लेखन निकै लोकप्रिय हुँदै गएको विचार व्यक्त गरिएको छ।मुक्तककार दुर्गा किरण तिवारी ’क्षितिज’को मुक्तक सङ्ग्रह ’नयनभरि माछापुच्छ्रे’को लोकार्पण कार्यक्रमका वक्ताहरुले यस्तो विचार व्यक्त गर्नुभएको हो।

कार्यक्रममा जनहित गर्ने विशिष्टि वाक्य नै साहित्य हो भन्दै नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले नेपालीको मौलिक पहिचान र विशेषता जोगाउन साहित्य सहयोगी हुनेछ भन्नुभयो।

सङ्ग्रहको समीक्षा गर्दै डा. भरतकुमार भटट्राईले मुक्तककार दुर्गाका मुक्तकमा प्रणय,प्रेम,समाज,देशभक्ति,अध्यात्म तथा राजनीतिक स्वाद पाइन्छ भन्दै विम्ब र प्रतीकले मुक्तकलाई सजिव तुल्याएको विचार व्यक्त गर्नुभयो।

यस्तै समीक्षक डा. ज्ञानु अधिकारीले नजरभरि माछापुच्छ्रेले मुक्तक लेखनमा प्राविधिक र कलात्मक पक्ष संयोजन गरेको छ भन्नुभयो।

कवि भुवनहरि सिग्देलले दुर्गाका मुक्तक समाजको ऐना जस्ता छन् भन्दै सामाजिक भोगाइको उपज नै नजर भरि माछापुच्छ्रे हो भन्नुभयो भने कवि विधान आचार्यले मुक्तककार दुर्गामा राष्ट्रिय चेतना,सामयिकताका अतिरिक्त गण्डकी क्षेत्रको आञ्चलिक वासना पाइन्छ भन्दै यो सङ्ग्रहले नेपाली मुक्तक साहित्यमा गुणात्मक महत्व राख्ने विश्वास व्यक्त गर्नुभयो।

कवि मदनराज थापाले विश्वका विभिन्न सर्जकका उदाहरण दिँदै मुक्तककार दुर्गा किरणलाई निरन्तर अभ्यासको परिणाम र प्रतिभाको धनी भन्नुभयो।

मुक्तक प्रतिष्ठान नेपालका अध्यक्ष रामकाजी कोनेले दुर्गाको लेखनमा चेतना र प्रहार छ भन्नुभयो भने प्रतिष्ठानका महासचिव रमेश पौडेलले नेपाली साहित्यमा मुक्तकले विशिष्ट स्थान बनाउँदै गरेको विचार व्यक्त गर्नुभयो।

मुक्तककार दुर्गाकिरण तिवारी क्षितिजले आफूले समाजका अनुभव र अनुभूतिलाई नै मुक्तकमा प्रस्तुत गरेको बताउनु भयो।कार्यक्रममा गण्डकी साहित्य परिषद्का कोषाध्यक्ष देवी काफ्ले लगायतले सङ्ग्रह माथि प्रकाश पार्नु भएको थियो भने कार्यक्रममा अनेसासका निवर्तमान अध्यक्ष एवं सल्लाहकार राधेश्याम लेकाली,अनेसासका उपाध्यक्ष बाबा बस्नेत,किशोर पहाडी,मन्जिला शर्मा,यादव भट्टराई,अनिलनाथ शर्मा,आदिको उपस्थिति रहेको थियो।

प्रतिक्रिया