योग गरौँ डटेर,कोभिड जान्छ हटेर

इनेप्लिज २०७७ माघ १ गते १०:४९ मा प्रकाशित

विराटनगर,१ माघ ‘ योग गरौँ डटेर,कोभिड जान्छ हटेर ’प्रमुख नाराका साथ छैठौँ राष्ट्रिय योग दिवस–२०७७ आज मनाइएको छ।

मानिसको जीवन शैलीलाई व्यवस्थापन गर्न योग महत्वपूर्ण भएकोले यसलाई नियमति गर्नु पर्ने योग गुरुहरु बताउँछन्।जीवनलाई परिवर्तन गर्न साधना आवश्यक छ,यही मान्यता रहेको योगले मानिसलाई निरोगी मात्र होइन दीर्घजीवी पनि बनाउने योग गुरुहरुको भनाई छ।सम्पूर्ण ब्रहम्माको उर्जा पृथ्वी तिर केन्द्रित भएको समयमा योग गर्न सकियो भने हाम्रो जीवन पद्धतिमा परिवर्तन आउने र यसको माध्यमबाट हाम्रा धेरै कुरामा सुधार आउने भनिएको छ।

योगमा सहभागी जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेलले योग वास्तवमा हाम्रो निःशुल्क उपचार गर्ने पद्धति भएकोले यसलाई जीवनमा उतार्नु पर्ने बताउनुभयो।उहाँले मैले योग गर्दा मेरो शरीर फूर्तिलो भएको र कुनै पनि रोग नलागेको जानकारी दिनुभयो।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश केशरीले योग गर्नु पर्ने रहेछ, आज थोरै योग गर्दा शरीर दुख्यो तर यसलाई नियमित बनाउन सकेभने हाम्रो व्यस्त जीवनलाई सहज एवं सरल बनाउन सकिने कुरामा जोड दिनुभयो।

सुनसरी मोरङ सिँचाई आयोजनाका प्रमुख भिलानन्द यादवले व्यस्त रहने मानिसहरुका लागि योग निकै लाभदायी हुने भएकोले आफ्ना जीवनलाई रोगमुक्त पार्न योग गर्नु राम्रो हो भन्नुभयो।

जिल्ला आयुर्वेद केन्द्र मोरङका प्रमुख नेत्रबहादुर बस्नेतले योग र आयुर्वेद आपसमा जोडिने भएकोले योगबाट धेरै बिरामीहरुको उपचार हुने जानकारी दिनुभयो।

जिल्ला आयुर्वेद केन्द्र सुनसरीका डा मुकेशकुमार सिंहले योगले मानिसलाई सरल बनाउँछ,यसले मानिस भित्र लुकेर रहेका क्रोधलाई शान्त बनाउने भएकोले यसलाई अपनाउनु श्रेय हुने चर्चा गर्नुभयो।

यस्तै,योग अभ्यासमा सहभागी चन्द्रकिशोर विश्वास र विनिता रेग्मीले योग गर्दा शुरुमा अप्ठ्यारो भएपनि पछि सहज हुने र यसले शरीरलाई स्वस्थ राख्न मद्दत गर्ने धारणा राख्नुभयो।

प्रतिक्रिया