रुपिन्द्र प्रभावी,
पोखरा, पुस २५ गते।पोखराका कलाकार र साहित्यकार प्रधानमन्त्री के.पी. शर्मा ओलीले गरेका संसद् विघटनका विरुद्ध आन्दोलनमा उत्रिएका छन्।सङ्गम सांस्कृतिक मञ्च,पोखराको आयोजनामा शनिबार सहिदचोकमा भएको कार्यक्रममा साहित्यकार तथा कलाकारहरुले आफ्ना कविता र गीत मार्फत् प्रधानमन्त्री ओलीको सो कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै विरोध गरे।कार्यक्रममा मञ्चका अध्यक्ष काजी गाउँलेले वैदेशिक इसारामा केपी ओलीले संसद् विघटन गरेका भन्दै देश र जनताका पक्षमा गीत र कवितामार्फत् खबरदारी गरिरहने उद्घोष गरे।केही मात्रामा भए पनि जनपक्षीय रहेको संसद् विघटन गरेको बताउँदै गाउँलेले अब सङ्घीय जनगणतन्त्र र समाजवाद सम्म पुग्नका लागि जनवादी शक्तिहरु अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।
मार्क्सवादी चिन्तक तथा लेखक रामराज रेग्मीले यस अघिका संविधानहरुको तुलनामा २०७२ को संविधान प्रगतिशील रहेको बताउँदै यसलाई अपहरण गर्ने काम ओलीबाट भएको धारणा राखे।ओलीको कदमलाई २०१७ मा राजा महेन्द्रले गरेका‘कू’सँग तुलना गर्दै रेग्मीले २०४७ को संविधानलाई उत्कृष्ट संविधान भनेर प्रचारबाजी गर्नेहरु नै अहिलेको संविधान कुल्चनेहरु भएको बताए।करिब २ तिहाइ मत पाएको कम्युनिस्ट पार्टीको अध्यक्षले जनताका प्रतिनिधि द्वारा निर्मित संविधानमाथि ‘कू’ गर्नु मामुली कुरा नभएको उनको भनाइ थियो।यो कुनै सनकका भरमा मात्रै आएको कुरा नभई नेपाली नागरिकको सशक्तता मन नपराउने विदेशी शक्तिहरुको इसारामा भएको रेग्मीको भनाइ थियो।
अदालतमा विचाराधीन रहेको यस विषयमा बोल्न नहुने भन्ने तर्कको खण्डन गर्दै उनले षड्यन्त्रको गन्ध आए पछि बोल्नै पर्ने बताए।हिजो क्रान्तिकारी भनिएका साथीहरु पनि आज ओलीको कदमलाई क्रान्तिकारी कदम भनेर लाग्नुलाई उनले गलत कामको संज्ञा दिए।‘व्यक्ति सधैँ उही रहँदैन,अमर रहने त विचार हो’ उनले भने,‘व्यक्तिको जुँगा हेरेर पछि लाग्ने कुरा गलत हो,गलतलाई गलत र सहीलाई सही भन्न कम्तीमा पनि बौद्धिक वर्ग चुक्नुहुँदैन।’
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलक पाणि तिवारीले सजग हुन नसके अनेकौँ सङ्घर्ष गरेर ल्याएको उपलब्धीहरु गुम्ने खतरा औँल्याए।यो घटना ताजा जनादेशका लागि आएको नभई नेपाली जनताको उपलब्धीलाई अन्त्य गर्ने र नेपाललाई नयाँ ढङ्गले प्रतिगमन तिर लैजाने षड्यन्त्रका रुपमा आएको तिवारीको भनाइ थियो।जनता सचेत भइसकेको बताउँदै तिवारीले संवैधानिक प्रतिगमनका विरुद्ध राजनीतिक दलहरुले आन्दोलन गर्लान् भनेर मात्रै विश्वास गरेर नबसी बौद्धिक जगत् स्वतन्त्र ढङ्गले अघि बढ्नुपर्ने बताए।यो कुनै दलबिचको मात्र टकराव नभई नेपाली जनताका विरुद्ध चालिएको कदम भएकाले सचेत नागरिक समाज उठ्न उनले आग्रह गरे।
प्रगतिशील लेखक सङ्घका सल्लाहकार तथा गण्डकी साहित्य सङ्गमका अध्यक्ष डा. कृष्णराज अधिकारीले कतिपय लेखक,कलाकारहरु खाइपाइ आएको सुविधा खोसिन्छ कि भनेर ओलीको कदमलाई समर्थन गरिरहेको बताए।यो आन्दोलन कुनै सरकार वा पार्टीको विरोध नभई नेपाली जनताले प्राप्त गरेको उपलब्धी गुम्ने खतराका विरुद्धमा रहेको बताए।राजनीतिक र व्यावहारिक दुवै दृष्टिबाट यो कदम औचित्यहीन भएको अधिकारीको तर्क थियो।
कार्यक्रममा प्रा.डा.शोभाकान्त लामिछानेले केपी ओलीलाई जुन संविधान र संसद्ले प्रधानमन्त्री बनायो, त्यसैमाथि ‘कू’ गर्नु आमाकै चिरहरण गर्नु भएको बताए।
साहित्य शृङ्खला,पोखराका पूर्व अध्यक्ष यादवराज उपाध्यायले कवि, लेखकहरु नै ढुलमुले भएर बसेको र अवसरको लोभमा गलतलाई सही भनेर हिँड्ने गरेकामा भत्र्सना गरे।
मञ्चका सदस्य रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको कार्यक्रममा काजी गाउँले, विकास लुङ्गेली,रोशन लामा, डी. बी. बान्तवा,खेम लामा,रेशम बी. सी. र रोशन गुरुङले साङ्गीतिक प्रस्तुति राखेका थिए भने कविहरु सुरज उपाध्याय र छविलाल आचार्यले कविता प्रस्तुत गरेका थिए।
प्रतिक्रिया