सालको काठको अभावले उपभोक्ताहरु मारमा

इनेप्लिज २०७७ पुष २० गते २३:०० मा प्रकाशित

मोहम्मद सदरुल,

विराटनगर २० पुस(रासस):सङ्घीय सरकारले सालको काठको सङ्कलन,उत्पादन र बिक्री वितरण बन्द गरेका कारण नेपाली उपभोक्ताहरुलाई समस्या पर्न थालेको छ।

अहिले पनि सालको काठ फुकुवा भएन भने अगामी महिना देखि ग्राहकले सालको काठ नपाउने अवस्था सिर्जना भएकोछ।हुनत वनबाट अनाधिकृत रुपमा सालको काठ कटान हुन थालेपछि वन उजाड हुने अवस्थालाई रोक्न सरकारले यस्तो गरेको अनुमान गरिएको छ।तर सरकारले सालको काठ कटानमा फुकवा गरेन भने वनमा चोरी कटानको समस्या दिनपतिदिन बढ्दै गएको पाइएको छ । यसलाई नियन्त्रण गर्न प्रत्येक जिल्लाका डिभिजन वन कार्यालयलाई निकै समस्या भइरहेको छ।

कुल ४५ लाख ३४ हजार ९४३ जनसङख्या रहेको यो प्रदेशमा १४ वटा जिल्ला छन् भने थोर बहुत सबै जिल्लामा वनजङ्गल रहेको छ।यस प्रदेशमा सामुदायिक वनको सङ्ख्या तीन हजार ६४५ छन् भने यसले ओगटेको क्षेत्रफल चार लाख २१ हजार ३५२ हेक्टर जग्गा छ।तत्कालको परिमाण थाहा हुन नसकेपनि दुई वर्ष पहिले विभिन्न प्रकारको एक करोड ९८ हजार २४९ क्युविकफिट काठ उत्पादन भएको थियो भने दाउर तीन हजार ४३५ मेट्रिकटन उत्पादन भएको उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयले जनाएको छ।यसप्रदेशमा कबुलियत वनले तीन हजार ८८५ हेक्टर र धार्मिक वनले ३७८ हेक्टर जग्गामा छ भने प्रदेशका संरक्षित क्षेत्रहरुमा मकालु राष्ट्रिय निकुञ्जमा सात हजार २०४ हेक्टर जग्गामा ४१ वटा सामुदायिक वन, कञ्चनजङ्घा संरक्षित क्षेत्रमा १५ हजार ३०० हेक्टर जग्गामा १३ वटा सामुदायिक वन र सगरमाथा राष्ट्रिय निकुञ्जमा ८४५ हेक्टर जग्गामा दुई वटा सामुदायिक वन देखिएको छ।

कुल २५ हजार ९०५ वर्ग किमी फैलिएको यो प्रदेशमा हिमाल ४० दशमलव तीन प्रतिशत,तराई १८ दशमलव २१ प्रतिशत, पहाड ३३ दशमलव ५३ प्रतिशत र भित्री मधेश सात दशमलव ९६ प्रतिशत रहेको छ।यति ठूलो भूभाग,वन र जनसङ्ख्या रहेको यो प्रदेशको तराईका अधिकांश जङ्गलमा सालको काठ पाइन्छ । वैज्ञानिक वनको नाममा वन जथाभावी कटान हुने गरेको गुनासोले गर्दा सरकारले तत्काल सालको रुख नकाट्न भनेपछि यहाँ नेपाल बाहिरबाट पनि काठ आउन लागेको हो।

नेपालमा भारत,मलेसिया र थाईल्यान्ड लगायतका देशबाट काठको आयात पनि नभएको होइन र तर यी देशहरुबाट सालको काठ नआउने आएपनि गुणस्तर नहुने काठ व्यापारीहरु बताउँछन्।एकीकृत भन्सार जाँच चौकी विराटनगरका प्रमुख शिव भण्डारीले यो नाकाबाट कुकाठ आउने गरेको जानकारी दिनुभयो। कति परिणामा आउँछ त्यो तत्काल भन्न नसकिने जानकारी दिँदै नेपाली उपभोक्तालाई विदेशको भन्दा नेपाली काठमै रुचि रहेको बताउनुभयो।

स्वदेशकै जङ्गलबाट जङ्गल ननासिने गरी काठ निकाल्न सकिने अवस्था भइरहेका बेला सरकारले जङ्गलबाट सालका काठ निकाल्न नपाइने निर्णय २०७७ जेठ १५ गते गरेको छ।यसै कारण ठूलो मात्रामा काठको आयात विदेशबाट भइरहेको हुन सक्ने अवस्था देखिएको छ।सरकारले जङ्गलबाट सखुवाका काठ निकाल्न रोक लगाएपछि काठको मूल्यमा वृद्धि भएको छ।विराटनगर बखरीका रोहण काष्ठ फर्निचर उद्योगका सञ्चालक टुनटुन शर्माले अहिले सालको काठ बजारमा पाउँदैन,जो सँग छ उसले प्रतिकेवी रु.पाँच हजार ९०० का दरले विक्री गरिरहेको जानकारी दिनुभयो।उहाँले पहिले सस्तोमा विक्री हुने वर्मेली र मलेसियन सालको काठ अहिले त्यसको मूल्यमा पनि वृद्धि भएको छ । केही समय पहिले प्रतिक्युविक रु.दुई हजारमा पाउने मेलिसियन सालको काठमा पनि वृद्धि भइ रु.चार हजार पुगेको सञ्चालक शर्माले जानकारी दिनुभयो।उहाँले अहिले बजारमा उपभोक्ताले खोजेको अनुसार काठ नै पाउँदैन भन्नुभयो।

भारतका काठ बजारमा सालको काठको मूल्य प्रति क्युबिक रु दुई हजार देखि रु.दुई हजार ८०० र बङ्गलादेशमा रु.दुई हजार ५०० रहेको सञ्चालक शर्माले भन्नुभयो।

मोरङका सहायक वन अधिकृत दिपक पोखरेलले अहिले हामीसँग ६९ हजार क्युविक फिट सालको काठ रहेको जानकारी दिँदै सरकारले सालको काठ विक्री वितरणमा रोक लगाएपछि यी सबै काठ घाट गद्दीमै रहेको जानकारी दिनुभयो। उहाँले यी काठलाई समयमै व्यवस्थापन गर्न नसकिएमा काठ कुहिने र नष्ट हुने अवस्था आउन सकिने कुरामा जोड दिनुभयो।

अन्य मुलुकका तुलनामा नेपालको सालको काठको गुणस्तर राम्रो,बलियो र टिकाउ छ।त्यसैले काठका अन्तर्राष्ट्रिय आपूर्तिकर्ताहरू गुणस्तरका लागि नेपालको काठलाई रोज्छन्।यसका कारण नेपालको काठ महँगो भएको हो।

मोरङको जङ्गलमा वार्षिक कार्ययोजना अन्तर्गत कटान भएका काठहरु सङ्कलन एवं घाटगद्दी लगाउन समस्या भएको डिभिजन वन कार्यालयको भनाई छ।

सरकारले जङ्गलभित्रका सालका काठ सङ्कलन र घाटगद्दी गर्न रोक लगाएका कारण सङ्कलन हुन नसकेको हो।सरकारी निर्णयका कारण काठको आन्तरिक उत्पादन ठप्प भएको छ।यसले बजारमा काठको माग र जङ्गलमा चोरी तस्करीको चाप एकैचोटि बढेको छ।लामो अवधिसम्म एक नास रहेको काठको मूल्य अभावकै कारण आकासिएको हो।

‘नेपालको काठ दक्षिण एशियाकै तुलनामा महँगो छ।पर्याप्त वनस्रोत त छ तर कुशल व्यवस्थापन र प्रयोगको अभाव छ।त्यसैले नेपालमा योजनाबद्ध रूपमा काठको उत्पादन हुन सक्तैन।मूल्य नियन्त्रण नहुने कारण यही हो ।’अधिकांश नेपाली घरका झ्यालढोकामा काठकै प्रयोग रुचाउँछन्।त्यसैले यहाँ काठको माग धेरै छ जानकारहरु बताउँछन्।

डिभिजन वन कार्यालय मोरङका प्रमुख अनिरुद्र साहका अनुसार कार्यालयले कात्तिक लागेपछि मात्रै ३५ हजार क्युबिक फुट कुकाठका काठ–दाउरा घाटगद्दी गर्न सक्यो।तर पटक पटक ठेक्काको सूचना प्रकाशित गर्दा पनि खरिदकर्ताहरू आएका छैनन्।कुकाठका मात्र काठदाउरा भएको र सालका काठदाउरा नभएका कारण खरिदकर्ताहरू आकर्षित नभएका हुन्।‘कात्तिकपछि घाटगद्दी गरिएका काठको गुणस्तर केही खस्केकोजस्तो भएको छ’,साहको भनाइ थियो,‘किनकि कुकाठ र कमसल प्रजातिको काठलाई बर्खामा त्यत्तिकै छाड्दा कुहिने र बिग्रने समस्या उत्पन्न हुन्छ । यस पटक बर्खाभरि काठ त्यत्तिकै छाडेर राख्नुपर्यो।’

त्यस्तै सालको रुख कटान गरिसकेपछि वा लडेपछि लामो समय बोक्रासहित छोडियो भने त्यसमा किरा लाग्छ र काठको गुणस्तर बिग्रन्छ।यसबाट काठको मूल्य घट्न गई नोक्सानी ब्यहोर्नुपर्ने हुन्छ।साहको कथन थियो, ‘व्यवसायीहरू कुकाठ र कमजोर प्रजातिका काठमात्र खरिद गरेर लैजाँदैनन्।अर्कातिर सरकारले सालको काठको बिक्री खुला गरेको छैन।’सरकारले सालका काठको उत्पादनमा रोक लगाएका कारण घर बनाउने, मर्मत गर्ने र आगलागी पीडित नागरिकले समेतले सहुलियत दरमा काठ पाउन सकिरहेका छैनन्।

वन विकास निगम विराटनगरका प्रमुख महेन्द्रप्रसाद घिमिरेले सुनसरी, उदयपुर र मोरङ कार्य क्षेत्र रहेको निगमसँग २५ हजार क्युविक फिट सालको काठ र छ हजार क्युविक फिट कुकाठ रहेको जानकारी दिनुभयो।उहाँले सालको काठ विक्री वितरण गर्न रोक लगाएपछि उदयपुर जिल्लामा वन क्षेत्रमा कटान गरिएको काठलाई पनि उचित व्यवस्थापन गर्न नसकिएको र यसले गर्दा काठको गुणस्तर बिग्रन सकिने जानकारी दिनुभयो।

अहिले नयाँ घर बनाउँदा उपभोक्तालाई आवश्यक झ्याल ढोकाका लागि आवश्यक पर्ने सालको काठ अभावले गर्दा निकै समस्यामा परेको देखिन्छ । काठको जोहो गर्न उहाँहरु फर्निचर र विभिन्न काठको मिल चहार्ने गरेको र पुरानो काठको घरहरुको खोजीमा लाग्ने गरेको पाइएको छ।

सुनसरीको दुहबी स्थितका खुश्वु फर्निचर उद्योगका सञ्चालन मोहम्मद नसिरुदिनले मानिसहले दिन्हुँ सालको काठ खोज्दै आउने गरेको जानकारी दिनुभयो।हामीसँग अहिले सालको काठ नै छैन कसरी उहाँहरुको माग पूरा गर्ने समस्या छ नसिरुदिनले भन्नुभयो।खास गरेर तराईबासीको छोराछोरीको बिवाहका लागि बन्ने फर्निचरको सबै सामान सालकै काठ हुनु पर्छ भन्छन् तर कहाँबाट पूर्ति गर्नु समस्या रहेको उहाँको भनाई थियो।सालको काठको सामान धेरै नै टिक्ने भएकोले नै उहाँहरुको रोजाई हुन सक्ने अनुमान गर्न सकिन्छ।

प्रदेश नं१ को हिमाली जिल्ला सोलुखुम्बुमा सालको काठ नपाउने डिभिजन वन कार्यालय सोलुखुम्बुको प्रमुख विशाल घिमिरे जानकारी दिनुभयो।उहाँले यहाँ हिमाली अर्थात चिसो ठाउँ भएकोले धुपी,थोम्रे सल्ला,थिङ्ग्रे सल्ला, तालिसपत्रे, खसु र गुराँश प्रजातिका मात्र काठहरु पाउने भएकोले यहाँका मानिसहरु पनि घर बनाउँदा सल्लाका काठहरु नै प्रयोग गर्ने गरेको जानकारी दिनुभयो।प्रमुख घिमिरे गर्मी हुने खोलानाला भएको ठाउँमा मात्र सालको जङ्गल हुने भएकोले हिमाली क्षेत्रमा सालको काठ उत्पानद नहुने बताउनुभयो।

प्रतिक्रिया