हरिबंश आचार्यको त्यो बिहे स्वेता खड्काको यो बिहे

बाबा राजेश्वरी थापा २०७७ मंसिर २७ गते २३:२० मा प्रकाशित

हरिवंश आचार्य सुप्रसिद्ध हास्य कलाकार तर भाग्यले उनलाई रुवायो, श्रीमतीको मृत्यु भयो अनि विधुर बने। उनका साथीसंगतीका कुरा र संचार माध्यममा आएका समाचार अनुसार उनी विक्षिप्त बने। जीवन धान्नै नसक्ने भए, श्रीमतीको वियोग सहन नसकेर रक्सीको सहारा लिन थाले। आफन्तले हदैसम्मको सहानुभूति जगाए र उनीभन्दा दश वर्ष कान्छी महिलासंग लगनगाठो कसिदिए । हो हरिवंशदाईले समाजलाई एउटा परिवर्तनको विकल्प देखाए, एक विधुवा महिलासंग लगनगाठो कस्ने साहस जुटाए तर जेठी श्रीमती बितेको डेढवर्ष नबित्दै। पहिलो श्रीमतीको मृत्युको खबरले उनी पनि बेहोश भएर ढलेका थिए, चित्याईचिच्याई रोएका थिए, मीरा भाउजुको वियोगमा आकुलव्याकुल बनेका थिए। रमिला भाउजुसंग लगनगाठो कसेपछि मीरा भाउजुको मायालाई फिका बनाएर रमिला भाउजुको मायालाई गाढा बनाउन हरिवंशदाईको सार्वजनिक व्यवहार र संचार माध्यमले साथ दियो किनकी हरिवंश दाईले रमीला भाउजुलाई विवाह गरेर ल्याउदा कुनै किसिमको तडकभडक देखिएन। नजिकका १०-१२ जना जन्ती लिएर बेलुका ७ बजे रमीला भाउजुको घर पुगेका हरिवंश दाई करीब १ घण्टामा समारोह पुरा गरी रमिला भाउजुलाई दुलहीको रुपमा लिएर आफ्नो घर फर्के। सम्पति नभएरै हरिवंश दाईले सामान्य संस्कार पुरा गरेका त पक्कै होइनन होला।

हरिवंश दाईको सामान्य विवाहलाई समाजले सहज नै पचायो किनकी त्यो विवाहमा न कुनै तडकभडक देखियो न कुनै आडम्बर । यो विवाह एक नमुनाको रुपमा प्रस्तुत भयो किनकी एउटा सहाराविहीनले अर्को सहाराविहीनलाई साथ दियो। एकदमै सकारात्मकपक्ष कुनै आडम्बर नदेखाएको यो जोडी विवाह पश्चात आजसम्म आदर्श जोडीका रुपमा परिचित छन्।

स्वेता खड्काले ‘कहाँ भेटिएला’ चलचित्रबाट नेपाली चलचित्रमा डे्ब्यू गरेकी थिइन् । २०७१ साल असार २३ मा उनको नेपालका चर्चित अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह भएको थियो । बिहे गरेको २ दिनमै अभिनेता श्रेष्ठ बिरामी परे । उपचारकै क्रममा साउन २५ मा श्रेष्ठको असामयिक निधन भएको थियो।स्वेताले यही मंसिर २२ गते विजेन्द्रसिंह रावतसँग बिहे गरेकी छिन्।

पहिलो श्रीमान बितेको ६ वर्ष पछि दोस्रो विवाह गरिन। श्रीकृष्णको निधन पछि स्वेताले पनि ठुलो मानसिक तनाव भोगिन। समाजका अनेकौ रुप देखिन, श्रीमानको मृत्युपछिका दिनहरु स्वेताका लागि सहज पक्कै थिएन तर साथसाथै अगाडी निरस बनेर लम्पसार परेको जीन्दगी साच्चै कहालीलाग्दो थियो स्वेता लागि र यो परिस्थितिको सामना गरेर सम्हालिएर अगाडी बढ्ने साहस स्वेताले गरिन र आफ्नो मन र भावना मिल्ने जीवनसाथी भेटेर जीवनलाई अगाडी बढाउने निर्णय गरीन । स्वेताको व्यक्तिगत निर्णयलाई समाजले मिश्रित प्रतिक्रिया दियो। कयौले यो कदमको स्वागत गरे र कयौले नकारात्मक टिप्पणी गरे।

हरिवंशदाईको दोस्रो विवाहलाई सहजै पचाएको समाजलाई स्वेताको विवाह त्यति पचेको देखिएन किनकी स्वेताको बिहेमा अनावश्यक तडकभडक देखियो । स्वेता एक व्यक्ति होइन, एक सेलिब्रिटी पनि हुन, यही समाजका युवाहरुले सेलिब्रिटी जीवनलाई आफ्नो आदर्श मान्छन र त्यही किसिमको जीवनशैली अपनाउन पाए हुन्थ्यो भन्ने चाहन्छन। अधिकांश युवाहरुले स्वेतालाई कटाक्ष गरिरहे, कहिले श्रीकृष्णका भिडीयो मार्फत त कहिले स्वेता स्वंयमले श्रीकृष्णको प्रेम व्याकुल भएका दृश्यहरुले सामाजिक संजाल रंगिरहे। स्वेताले गरेका सामाजिक कार्यहरुले उनले जति सहानुभूति र स्नेह कमाएकी थिइन, ती सब उनको विवाहमा देखिएका तडकभडक र आडम्बरका कारण उनका दर्शकहरुले जीवित स्वेताको यो खुशीको क्षणमा श्रीकृष्णलाई खोजिरहे ।

अहिले विवाह पछि सार्वजनिक गरिएका फोटोहरु, भिडीयो, अन्तर्वाताहरुमा स्वेताले देखाएका खुशीहरु साच्चैका हुन या होइन त्यो विश्लेषण त समयले नै गर्छ साथसाथै भोलीको दिनमा स्वेताको नव विवाहित जोडीलाई एकसाथ देख्दा उनका फ्यानहरुले श्रीकृष्णलाई भुल्छन या सम्झिन्छन त्यो स्वेताले भोली सार्वजनिकरुपमा देखाउने व्यवहारले नै निर्णय गर्नेछ तर स्वेता हुन या अन्य ख्याति कमाएका व्यक्ति उनीहरुलाई समाजले नियाली रहेको हुन्छ। उनीहरुलाई देवत्वकरण गर्ने या राक्षसीकरण गर्ने भन्ने निर्णय समाजको हुन्छ ।

स्वेताले सामान्यरुपमा कम खर्चिलो विवाह गरेर उदाहरण दिएको भए, धेरै सासुससुराहरुले र आमाबुवाहरुले आफ्ना जवान विधवा छोरीबुहारीहरुलाई नयां जीवन शुरुवात गर्न प्रेरणा दिन्थे होलान। कयौं पुरुषहरुले विधवालाई सहारा दिन यो विवाह प्रेरणा बन्थ्यो होला र कयौ विधुवा युवतीहरुको मनमा आशाको दियो बल्थ्यो होला तर यो महंगो विवाह धेरैको सपना त बन्यो उदाहरण चाहि बनेन्।

स्वेताको यस महंगो विवाहले सार्है तडकभडकका साथ विवाह गरेर संचार माध्यमको आलोचनाको लिस्ट थप्ने नेपाली नायिकाहरुलाई प्रतिस्पर्धा गर्न थप प्रेरणा मिलेको छ। यसले न त तराईको दाइजो प्रथा कम गर्न सहयोग गर्यो न त पहाडमा भारतीय संस्कार कम गर्न सहयोग गर्यो ।

नवविवाहित स्वेता जोडीलाई हरिवंश दाईबाट केही प्रेरणा मिलोस ।

True love stands by each other’s side on good days and stands closer on bad days.

बाबा राजेश्वरी थापा
भियना, अस्ट्रिया

बाबा राजेश्वरी थापा

पत्रकार ,सामाजिक अभियन्ता ,कार्यक्रम प्रस्तोता तथा लेखिका हुन् । काठमाडौँ घर भएकी थापा हाल अष्ट्रियाको भिएना बसोबास गर्छिन ।

प्रतिक्रिया