मंगलबार, साउन १२ २०७८
काठमाडौं ०५:०६
वासिङटन डिसी 19:21

अहिलेको दसैँ, खोइ के दसैँ !

- रामप्रसाद खनाल - २०७७ कार्तिक १० गते ०:४३ मा प्रकाशित

लाहुर गएका लाहुरे बा
लाहुरे बा सँगै
पोहोर साल जस्तो लाग्छ
पछि पछि लाहुर गएका
गाउँभरिका लाहुरे दाईहरु
फिलिप्स रेडियो र टेप रेकर्डर
काँधमा भिरेर
घन्काउँदै घन्काउँदै
पछाडि लाहुरे बेडिङ
टुक्रुक्क टेकाएको बाकस,
भरिया दाइलाई बोकाएर
चुहिने गरी लगाएको बसाउने तेल
मङ मङ वासना छर्दै
लरक्क लर्काएको कपाल
हातले माथि फर्काउँदै
अच्छा लेकिन …
सबै सन्चै राम्रै हुम्ला क्या रे भन्दै
बाटोबाट नजर लाउँथे र पो
दसैँ आएको भान हुन्थ्यो
त्यस्तो दसैँ मानेका हामी,
अहिलेको दसैँ, खोइ के दसैँ ।
गाउँले जम्मा भएर बाटो खन्दै गर्दा
मन्दिर, स्कुल देखी घर सम्म
उ तल बेसीबाट
भाउजू र दिदी बहिनीहरूले
पसिना चुहाउँदै ल्याएको
रातो माटो र कमेरो
भार्याङ् चढेर पोत्दै गर्दा
एभ्रिडे र टाइगर ब्याट्री फोरेर
भित्री कालोले पेटी लगाउँदै गर्दा
रमाइलो महसुस हुने
त्यो क्षण सम्झिँदा पो
दसैँ आएको भान हुन्थ्यो
त्यस्तो दसैँ मानेका हामी,
अहिलेको दसैँ, खोइ के दसैँ ।
बा ले किनिदिएका
लुगा र जुत्ता लगाएर नयाँ
आफैले आफैलाई हेर्दा
बाटोमा घुँग्रुक्क लडिन्थ्यो
घाउ चोट भन्दा पनि
नयाँ लुगा र जुत्ताको माया
बरु ढाकिन्थ्यो घाउ चोट
तर,
पुछिन्थ्यो कपडा र जुत्ता
ओहो त्यो सान
नयाँ जुत्ता र कपडाको त्यो मान
आँखा छलेर मदुसबाट आमाको
थाहै नदिएर चोरी गरेको एक रुपैयाँ,
त्यही एक रुपैयाँले
किनेका पिपल गेडी र मिठाइ
मुखबाट रयाल बनेर तप तप चुहिन्थे र पो
दसैँ आएको भान हुन्थ्यो
त्यस्तो दसैँ मानेका हामी,
अहिलेको दसैँ, खोइ के दसैँ ।
बा ले डोर्याउँदै ल्याएको
पल्ला गाउँको झक्कले बोको
ताउला भरी पाक्थ्यो
भुटुवा देखी झोल सम्म
मङ मङ बसाउँथ्यो टोल टोल सम्म
जो आउँथे
मज्जाले खान्थे
निकाल्यो क्वाप्प मुखमा हाल्यो
दौडियो डाँडाको पिपल र स्वामीको रुखतिर
चिच्याइ चिच्याइ बोलायो आफ्ना दौँतरी
खेल्यो मच्चाउँदै पिङ
न रिन धनको चिन्ता
न भविष्यको चिन्ता
न कुनै व्यावहारिक कठिनाइ
न त सुन्नुपर्ने श्रीमतीको कच कचहरू
न त उन्नु पर्ने प्युसाप्युसीका खुसीहरू
निश्चिन्त दुनियाँमा मस्त भइन्थ्यो र पो
दसैँ आएको भान हुन्थ्यो
त्यस्तो दसैँ मानेका हामी,
अहिलेको दसैँ, खोइ के दसैँ ।
मालश्री धुन बजाउँथ्यो रेडियो नेपाल
भट्याँथ्यो दसैँका शुभकामनाहरू
बज्थे विभिन्न लोकगीतका भाखाहरू
पारी पारीबाट सुनिन्थ्यो चाचा हुइ चाचा हुइ
खानाका परिकार
जता गयो उतै
हुँदैनथ्यो खाली मुख
आफन्तजन भेट्दाको खुसी र आनन्द
टिका लगाउँदै गाउँ डुल्दाको मज्जा
ओहो त्यो खुसी
त्यो वातावरण
त्यो हर्ष
अनि पो दसैँ आएको भान हुन्थ्यो
त्यस्तो दसैँ मानेका हामी,
अहिलेको दसैँ, खोइ के दसैँ

— रामप्रसाद खनाल

– कार्तिक ९, २०७७, हाल अमेरिका

प्रतिक्रिया