कोरोना कहर – जुम बैठकको रहर

बाबा राजेश्वरी थापा भियना, अस्ट्रिया २०७७ भदौ २५ गते १९:४९ मा प्रकाशित

 

यो लेख तयार गर्दा कोरोना महामारीको संक्रमणका कारण विश्वभर नौ लाख मानिसको मृत्यु भइसकेको छ। एक्काइसौ शताब्दीमा आफुलाई अत्यन्तै स्मार्ट सम्झिने मानव समुदायलाई नै कोरोनाले यही आधुनिकता भित्र कैद गरिदियो। हिजो असम्भव देखिएका धेरै कुरा कोरोना महामारीले सम्भव गराई दियो। यो कटु सत्यलाई आत्मसात गरे पनि नगरे पनि मानव समुदायलाई प्रकृतिले एउटा चेतावनी, शिक्षा र मौका दियो। यसको साथ साथै मानव समुदायले नयां शब्दावली सिक्ने मौका पाए र नयां जीवन शैली अपनाउने बाटो पनि खुले। यही नौलो जीवन पद्धति भित्र परेको लोकप्रिय सामाजिक संजाल हो “जुम बैठक”।

के हो जुम बैठक ?

जुम बैठक अनलाइन मार्फत छलफल गरिने एउटा सामाजिक संजाल हो, यसलाई भर्चुयल सभाकक्ष भन्दा पनि हुन्छ । यसमा भिडीयो टेलिफोन,अनलाइन च्याट, अनलाइन कक्षा र व्यवसायिक भिडीयो अडियो टेलिफोन गर्ने सुविधायुक्त प्रविधि हो तर यो नयां प्रविधि होइन।सन् २०११ अप्रिल २१ मा क्यालिफोर्नियाबाट जुम कम्युनिकेशनको स्थापना भयो र जुम कम्युनिकेशनले आफ्नो सफ्टवेयर सन् २०१३ मा शुरु गर्यो। यस प्रविधिको मुख्य उद्देश्य आफ्ना प्रतिस्पर्धीहरु भन्दा कम लागतमा एक उच्च स्तरीय प्राविधिक सेवा प्रदान गर्नु रहेको थियो तर यस्तै खालका र अझै सुविधाजनक सामाजिक संजालहरु बजारमा स्थापित भइसकेका कारण जुमले व्यापार अपेक्षाकृत ढंगमा उठाउन सकेको थिएन । सस्तो, विश्वसनीय, सजिलो र धेरै व्यवसायिक सुविधा भएको कारण सन् २०१७ मा जुमले ठुलो सफलता हासिल गर्यो र १ अरब डलर लागतको मुल्यांकन सहित युनिकर्न कम्पनी बन्न पुग्यो। लामो समयको कडा परिश्रम पछि सन् २०१९ मा जुम नाफामुलक कम्पनीमा परिणत भयो र सन् २०२० अप्रिल ३० मा यस कम्पनीले सेयर बजारमा प्रवेश समेत पायो। सन् २०२० को मार्च महिना देखि कोभिड १९ महामारीका कारण मानिसहरुलाई क्वारेन्टाइनमा राखियो र जुमको प्रयोग अत्याधिक मात्रा हुनुको साथै यसले ठुलो लोकप्रियता कमायो र सानाठुला सबै व्यवसायलाई सहज रुपमा आफ्नो खर्च कटौती गर्ने र नियमित बैठक/ छलफल कम्प्युटर वा टेलिफोन मार्फत सहत रुपमै संचालन गर्ने सुविधायुक्त प्रविधि सिकायो ।

कसरी भयो जुमको जन्म ?

सिस्को वेबेक्स भन्ने कम्पनीका उपाध्यक्ष एरिक युआनले जुमको स्थापना गरेका हुन। एरिक चिनिया मुलका चाइनिज अरबपति व्यापारी हुन। सिस्को वेबेक्स पनि जुम जस्तै भिडीयो टेलिफोन गर्ने सफ्टवेयर कम्पनी हो तर त्यहां आफ्नो भविष्य नदेखेर नयां कम्पनी खोल्न एरिकले अरु ४० जना इन्जिनीयर सहित सिस्को वेबेक्स छोडेर जुम कम्युनिकेशनको स्थापना गरे।

एरिक युआन आज यसरी सफल हुनुको पछाडी पनि एक रोचक कहानी छ। ५०/५१ वर्षीय तीन सन्तानका पिता चिनिया अमेरिकन अरबपति युआन जुम कम्युनिकेशनका कार्यकारी निर्देशक हुन जसको जुममा २२ प्रतिशत सेयर छ।चीनमा जन्मिएर त्यही हुर्किएका युआनले जब सन् १९८७ मा विश्वविद्यालयको पढाई शुरु गरे, उनको चाख भिडीयो टेलिफोन गर्ने सफ्टवेयर निर्माण गर्ने तिर बढ्यो किनकी उनकी प्रेमिकालाई भेट्न जान युआनले दश घण्टाको रेल यात्रा गर्नुपर्थ्यो र उनी आफ्नी प्रेमिका लाई हेर्न र कुरा गर्न एक सजिलो र नयां उपाय खोज्न थाले।स्नातक र स्नातकोत्तर तहको पढाई सकिएपछि बिल गेट्सबाट प्रभावित भएर सिलिकन भ्याली जाने सपना बुन्न थाले। अंग्रेजी बोल्न नजाने कै कारण उनको अमेरिकाको लागि नौ पटक भिसा रद्द भयो र दशौं पटकमा भिसा लगाएर व्यवसायिक तालिम लिन गएका युआनले काम गर्ने अवसर पनि तुरुन्तै पाए। २०११ मा युआनले सिस्को व्यवस्थापनमा नयाँ स्मार्टफोन-अनुकूल भिडियो कन्फरेन्सिंग सिस्टम बनाए तर जब उनको आविष्कार अस्वीकृत भयो, युआनले सिस्को छोडेर आफ्नै कम्पनी जूम भिडियो संचारको स्थापना गरे।

सन २०१९ मा जुम आइपिओ मार्फत पब्लिक कम्पनीमा परिणत भयो, तब युआन अरबपति बने।कोभिड १९ महामारी शुरु भए यता उनको सम्पति दिन दुई गुना रात चौगुना थपिने क्रम जारी छ किनकी जुमले अनलाइन बैठक र अनलाइन शैक्षिक प्रणालीलाई ठुलो सहयोग गरेको छ। यदा कदा जुम प्रयोगकर्ताको व्यक्तिगत विवरण सुरक्षामा र चिनिया मुलको व्यवसाय भएकै कारण प्रश्न चिन्ह र विवाद नउठेको पनि होइन। जुमको पहिलो ग्राहक अमेरिकाको स्यानफोर्ड विश्वविद्यालय थियो।

जुमको सुविधा

सन् २०१२ का शुरुवाती दिनमा जुममा १५ जनासम्मको भिडीयो कन्फरेन्स कल एकसाथ गर्न मिल्ने सुविधा थियो, त्यसपछि २५ जना एक साथ भिडीयो कन्फरेन्स गर्ने सुविधा प्राप्त भयो।शुरुका दिनमा जुमका चार लाख प्रयोगकर्ता थिए भने सन् २०१३ को मे महिनामा जुमका प्रयोगकर्ता दश लाख पुगे र कोभिड १९ महामारीले जुमका प्रयोगकर्ता बीस करोड पुर्याई दियो र प्रयोगकर्ता बढ्ने क्रम जारी छ। यति धेरै प्रयोगकर्ता बढ्नुको कारण जुममा विभिन्न सुविधाहरु उपलब्ध छन। जुमलाई भौतिक रुपमा गरिने बैठक संग दाज्न मिल्छ। यसमा कार्यक्रम संचालक, बहु आयोजक सुविधा, भिडीयो कन्फरेन्सको सुविधा, एकजनाले बोल्दा अरु मौन बस्ने वा आयोजकले माइकको व्यवस्थापन गर्ने, कसलाई बोल्न दिने वा नदिने निर्णयको अधिकार, वक्ताले हात उठाएर बोल्न पाउने सुविधा, भिडीयो अन अफको सुविधा, ध्वनि अन अफको सुविधा, रेकर्डको सुविधा, अन्य संजाल संग जोड्ने सुविधा र घर बाट देश विदेश रहेका आफ्ना ग्राहक, कामदारहरु लाई निरीक्षण गर्ने, तालिम दिने लगायत प्रत्यक्ष अनलाइन कक्षा संचालन गर्ने देखि विभिन्न सुविधा दिएको छ। १०० जना सम्मको ४० मिनेटको भिडीयो निःशुल्क दर्ता गरी संचालन गर्ने सुविधा छ भने लामो समय र धेरै सहभागीहरुलाई समेट्न वार्षिक शुल्क तोकिएको छ।जुममा सशुल्क १००० सम्मलाई निरन्तर सहभागी गराउन सकिन्छ ।

नेपाली समाजमा प्रयोग :

आजभोली नेपाली समुदायमा पनि जुमको प्रयोग अत्याधिक मात्रामा भइरहेको छ तर जुम मिटिंगलाई सदुपयोग भन्दा दुरुपयोग भएको देख्न सकिन्छ । बढी सम्मान गरेर औपचारिक प्रदर्शन गर्नु पर्ने विकृति नेपालमा पिर्का माथि सलामी खाने वडा अध्यक्ष र मेयर जस्तै नेपाली जुम बैठकमा पनि देख्न सकिन्छ। नपाउनेले के पायो बोक्रै सम्म चपायो भने झै जुम बैठकमा पनि अतिथी बोलाई आशन ग्रहण गराउने गरेको देखिन्छ तर कतिपय बैठकमा वक्ता भन्दा दर्शकको संख्या बढी हुने गर्छ, जुममा प्राप्त सुविधा अनुसार जुमलाई फेसबुक संग जोडेमा दर्शकहरुले फेसबुकमै जुम बैठक प्रत्यक्ष प्रसारण हेर्न सक्छन। कतिपय जुम बैठकहरु बोलाइएका अतिथीहरुलाई सम्बोधन गरेरै लम्बिने गरेको छ । जुम एक भर्चुयल सभाहल हो तर कतिपय औपचारिक बैठकमा उपस्थित अतिथी वा सहभागीले हेल चेक्राइ गरेर सुत्दा लगाउने गाउन, गन्जीमै बैठकमा सहभागी भएको देखिन्छ त कोही खाटमा सुतेर आशन ग्रहण गर्ने गरेको पनि देखिन्छ र कतिपयले भिडीयो अनमा राखेर परिवारका अन्य सदस्य संग घरघरायसी कुरा गर्नुको साथै जथा भावी गरेको पनि देखिन्छ । जुमको अनुशासित ढंगबाट प्रयोग गर्नुको सट्टा विविध प्रकारले दुरुपयोग भएको देखिन्छ। जुमलाई नेपाली समुदायमा व्यवसायिक रुपमा भन्दा अनलाइन बराल्लिने माध्यम बनाएको समेत भेटिन्छ ।

हामी समाज बदल्ने, देश बनाउने, नेतालाई सुद्धिबुद्धि दिने, नीति निर्माण गर्ने, एक्कासौं शताब्दीको गति संगै आफुलाई संसार विकसित देशका नागरिकको दांजो रुपान्तरण गर्ने ठुला ठुला कुरा गर्छौ तर समयको माँग र परिस्थिति अनुसार प्राप्त भएका सुविधाको न्यूनतम सही प्रयोग गर्न सक्दनौ भने त्यस प्रविधि हाम्रो जीवनमा न त आधुनिकरण क्रान्ति ल्याउछ न त औधोगिक क्रान्ति नै यसले त समाजमा विकृति फैलाउछ र समाजका सदस्यलाई मानसिक रोगी बनाउछ। “Misuse of technology is a social problem, not a technological one.“

बाबा राजेश्वरी थापा
भियना, अस्ट्रिया

प्रतिक्रिया