भोक, सरकार र अरिङ्गाल ।
रोगले भन्दा भोकले मर्ने भइयो भन्दै
भोको पेटमा नाम्लो बाँधेर
अश्रु धारा बगाउने भरियाहरू
अलपत्र परेका लाखौँ मजदुरहरू
आजकल देश खोज्दैछन
सरकार खोज्दैछन
पापी पेटमा हाल्न
अलिकति नुन र मानो खोज्दैछन
बर्सातमा ओत लाग्न छानो खोज्दैछन
देख्नु भयो देश तपाईँले ?
देख्नु भयो सरकार तपाईँले ?
लौन,
देखेको भए देखाइदिनुस्
यी आँसुले मुख धुनेहरूलाई
भोको पेटमै
सडकमा बसी रुनेहरूलाई !
उखान, टुक्का खाएर अघाउने भए
बतासेका बतासहरूका,
मालिकका दाशहरूका
सुन्दिन भन्दा पनि
हरेक दिन सुन्नै पर्ने
गफका महलहरूमा बसेर
जिबिको चल्ने भए
चुच्चे नक्सा र ठोरीको अयोध्या हेरेर
पापी पेटमा मुसा दौडिन छोड्ने भए
शायद यिनीहरू पनि त्यसै गर्थे होला
तर भरिँदैन रहेछ भोको पेट
भाषणहरूबाट
भोको पेट भर्नै पर्ने रहेछ
राशनहरूबाट
यस्तो बेला
देख्नु भयो देश तपाईँले ?
देख्नु भयो सरकार तपाईँले ?
लौन,
देखेको भए देखाइदिनुस्
यी आँसुले मुख धुनेहरूलाई
भोको पेटमै सडकमा बसी रुनेहरूलाई !
ज्यामी माहुरीहरू माथि जाई लाग्ने
बुँद बुँद सँगालेर बनाएको
मह माथि आइ लाग्ने
अरिङ्गालका जत्थाहरू
कता मरेछन कुन्नि आजकल
शायद लुटेको माहुरीको महको
स्वाद चाट्दैछन होला गोला भित्र बसेर
हुन त,
तिनीहरूलाई के मतलब भो र निषेधाज्ञाको
के मतलब भो र कर्फ्यु वा बन्दको
मन लाग्दा भुरुरु उड्छन्
जान्छन् माहुरीका घारहरू तिर
जबरजस्ती लुट्छन् मह
चिल्छन् निर्दोष ज्यामी माहुरीहरूलाई
भर्छन् आफ्ना पेटहरू
फर्किन्छन् आफ्नै गोलाहरूमा
अनि मस्त मस्त जिउँछन् जिन्दगी
अब जरुरी छ गोलामा आगो लगाउने
टोकाहा अरिङ्गाल र बारुला सब भगाउने
ए साने
ए ठुले
ए माइली
ए कान्छी
लौन सोंच अब,
लौन गोलोमा घोंच अब
आगोको ज्वाला बनेर ।
– रामप्रसाद खनाल, भदौ २३, २०७७
पत्रकार, लेखक, गायक, कवि एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको गायन, विकास र प्रवर्धनका एक कुशल अभियन्ता र स्वयममा पनि बरिष्ठ लोक तथा दोहोरी गायक हुन् । उनी कलाकार, पत्रकार, सङ्गीतकार, रेडियो र टेलिभिजनका कार्यक्रम निर्माता, निर्देशक र सञ्चालक पनि हुन । उनी अमेरिकाबाट प्रकाशित नेपाल मदर डट कमका प्रधान सम्पादक पनि रहेका छन् । हाल खनाल सपरिवार अमेरिकाको भर्जिनिया विन्चेस्टर मा बस्छन् ।
प्रतिक्रिया