माइला दाइ

बिकास थापा,पेन्सलभेनिया ,अमेरिका २०७७ साउन २० गते २१:५९ मा प्रकाशित

बिहानै सबेरै उठेर
किन टक्कटकाइरहन्छौ माइला दाइ
कहाॅ हरायो माओत्सेतुङ बन्ने उत्साह
कहाॅ दपिए अचेल ती मार्क्सवाद र लेलिनवाद
कुन चौतारामा हुन्छ अचेल
सर्वहार वर्गको बहस
कति छ अझै देशमा अब
वर्गीय सामन्तवादको अवशेष
कति भत्किए विभेदका पर्खालहरू
कहिले आउॅछ हॅ यो देशमा
स्वर्गीय समाजवाद
जो हामी कल्पना गर्ने गर्थ्यौ
खै ! किनकिन माइला दाइ
मस्तिष्कभरि यत्रा प्रश्नहरूको चाङ् छन्
तर, उत्तरहीन देख्छु त हिजोआज तिम्रो मुहार ?

देख्छु उही ,उस्तै र हिजोजस्तै
चिया पसलतिर गफ्फिरहेका
छट्टु एक हुल कागहरू
रमाइलो लाग्न छोड्यो र दाइ
तिमीलाई हिजोआज बहसको चौतारो ?
संसद भवनतिर लडिरहेछन्
बाॅसघारीका डाॅग्रेहरूका एक हुल
देश त शान्त छैन
तैपनि हिजोआज किन मौन छौ माइला दाइ ?

अब !
लाखौॅ सपनाको हत्या गरी
कुन वेदना टिपेर रोलान् क्रान्ति नायक
कुन खुसी सम्झेर हाॅस्लान् बलात्कृत बैनीहरू
कुन आक्रोश सम्झेर गाली गर्लान् साथीभाइ
हिजो सामन्तीको किल्ला अगाडि
हाॅसीहाॅसी गुराॅस बनेथे
तर आज कैद भए तिनै विचारहरू
जन्मिए थरीथरीका प्रतिक्रान्तिका नायक
देखाए सबैले आधाआधा दोबाटो
हिॅडे सबैले आधाआधा गोरेटो
अलमलिई अलमलिई भेटिन्छन्
सबै अचेल यथार्थको मझेरीमा
विचार ! एक छाकको लागि
विवश छन् मुसार्न फेरी उस्तै
सामान्तवादको पिॅजडा

यी दु:खी सामन्तहरूको
गगनचुम्बी महल अगाडी सुस्ताएर
मधेशतिर खेलिने ताण्डवनृत्य
कति हेर्छौ र माइला दाइ
बरु एक्लो मधेशको दोसाॅधमा उभिएर
ती बिधवा पहाडहरूको निर्मल झरनाहरू हेर
निर्दोष मधेशमा शिकार बनेका
ती असङ्ख्या राता गुलाबहरू हेर
किन खेलियो होला रगतकै होली त्यहाॅ
किन रमायो होला बिछिट्टै ॲध्यारो कोठा
अझै नियाल ती कुरूप स्वार्थभित्रका खेलहरू
अब कति दिन दौडन्छौ र दाइ
क्रान्तिको भीरैभीर सधै बनेर बूढो गोरू

आज आफ्नै जीवनको मझेरीमा बसेर
आफैलाई किन गाली गर्नुहुन्छ माइला दाइ
थाहा छ ?
तपाईॅको गाली सुनेर अहिले
कसरी हाॅसिरहेछ स्वार्थी दुनियाॅको चेत
विचारहरू त हिजै ऋतुजस्तै फेरिएका हुन्
मान्यता ,परिचय र हिॅड्ने गोरेटाहरू पनि फेरिए
यतिका दशकसम्म फेरिएन किन
तपाईले मात्र गाउने क्रान्तिको गीत
कति बन्छौ अझै समयको गायक
अव ती पश्चतापहरू थाती राख्दै
एकपल्ट मुस्कुराए हुॅदैन र माइला दाइ ?

 

प्रतिक्रिया