वैकल्पिक राजनीतिज्ञको सोचाई “बाईबाई काठमाण्डौ” जस्तै

बाबा राजेश्वरी थापा भियना, अस्ट्रिया २०७७ साउन ११ गते २३:४७ मा प्रकाशित

 

कहिँ भोट – र लण्डन – चीन – सरी,
कहिँ काल्-भरि गल्लि छ दिल्ली-सरी।
लखनौं – पटना – मदरास – सरी
अलकापुरि कान्तिपुरी नगरी।।

संसारका सबै राम्रा शहरका नमुना आदिकवी भानुभक्तले काठमाण्डौ भित्रै भेटेका थिए तर आज नेपालको राजधानी काठमाण्डौ, उपत्यका बाहिर स्थायी बस्ने सबैको लक्ष्य तर कसैले पनि मन नपराएको शहर हो। पुस्तौ पुस्ता त्यही शहरमा बिताएकाहरुको मन बारम्बार कुडिन्छ जब लामखुट्टेले रगत चुसेसरी त्यो शहरलाई चुस्दै अनेक लान्छना लगाएर अस्थायी बसोबास गर्नेहरुले थुक्दा मन भारी पक्कै हुन्छ। देशको राजधानी भएर मात्रै होइन, त्यस शहर र शहरका रैथानेहरुको आचारणले गर्दा त्यहां सबै जात जाति र भाषा भाषी सजिलै अटाएका छन र सबले आफुलाई सहज महशुस गर्छन तर जब दशै आउछ काठमाण्डौका अस्थायीवासीहरुको सामाजिक संजाल रंगिने गर्छ, “बाईबाई काठमाण्डौ”, त्यो देख्दा रैथानेको मन पोल्ने गर्छ तर चाड सकिएको भोलीपल्टै कसैले, “ वेलकम काठमाण्डौ” नभने पनि फेरि शहर खचाखच हुन्छ ।

पृष्ठभूमि:

पछिल्लो समयमा आफ्नो श्रमिक कामदारको मागलाई न्युन गर्न खाडी र युरोपेली मुलुकहरुले थुप्रै आप्रवासी कामदारहरु भित्रायो र यसको प्रत्यक्ष फाइदा नेपालका भ्रष्ट राजनीतिज्ञहरु र मानव तस्करहरु लाई समेत पुग्यो। मोटो रकम असुलेर युवाहरुलाई विदेश पठाएर दलालहरु मोटाए भने तिनीहरुले श्रम गरेर पठाएको रेमिट्यान्सले राजनैतिक पार्टीहरु मोटाए। यो खेल यतिमै सिमीत भएन, थुप्रै महत्वकांक्षी व्यक्तिहरुलाई आफ्नो पकडमा लिएर होस या कुनै संगठनको पद दिलाउने या नेपालमै राजनैतिक नियुक्त दिने लोभ देखाएर वैदेशिक रोजगारीमा रहेकाहरुलाई प्रयोग गरी क्याडरको संख्या बढाउन साना देखि पुराना ठुला पार्टीहरु तल्लीन भए।

विभिन्न विचारधारा बोकेका राजनैतिक पार्टीहरुले आफ्नो स्वार्थ पुर्तिका लागि कहिले निजामति कर्मचारीको नाममा,मजदुर संगठनको नाममा, कहिले विद्यार्थी संगठनको नाममा, कहिले जनजातिको नाम र कहिले समाजसेवीको नाममा कार्यकर्ता उत्पादन गरिरहे । देशमा रहेका कलकारखानामा आफ्ना कार्यकर्ता खटाएर राजनीति खेल्दै युवा शक्तिलाई विभिन्न माध्यममा र बहानामा विदेश लखेटेर नेताहरुलाई क्याडर विदेशमा समेत उत्पादन गर्न प्रोत्साहन हुनुको प्रमुख कारण हो प्रक्रियात्मक राजनैतिक अभ्यासको कमी।

वैकल्पिक राजनीतिको असफलता:

मुलधारको राजनीति नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीको असफल राजनीतिलाई आफ्नो मुख्य एजेण्डा केही बुज्रुक विद्वान समुहले वैकल्पिक राजनीतिलाई रोज्यो जसको प्रमुख श्रेय डा. बाबुराम भट्टराईलाई जान्छ। नेकपा माओवादीमा रहेको कमीकमजोरीलाई राजनैतिक सुधार गर्ने उद्देश्यले केही जागरुक समुहलाई लिएर वैकल्पिक राजनीतिको रुपमा “नयां शक्ति” को स्थापना भयो तर पढेलेखेका र बौद्धिक चिन्तन मनन गर्न सक्ने क्षमता भएका तर पुराना पार्टीका क्रियाकलाप बाट मानसिक रुपमा विचलित भएकाहरुको समुहले नयां शक्तिलाई मात्र नभई डा. बाबुराम भट्टराईको छवीलाई नै छोटो समयमा धमिल्याउन सफल भयो। डा. भट्टराईको धमिलो छवी र खस्केको शक्तिलाई गलत आंकलन गरेरै राजनैतिक पृष्ठभूमि नै नभएको विवेकशील नेपाली दल अनि साझा पार्टी नेपाली राजनीतिमा संघर्षरत छन तर परम्परागत राजनीतिले लामो इतिहास रचेर नयां युग तर्फ लम्किन लागेको नेपाल जस्तो विकोसोन्मुख देशलाई समाजवादी लोकतान्त्रिक पद्धति भन्दा पनि मानसिक रुप विक्षिप्त जनता र भौतिक रुपमा क्षतविक्षत पारेको जनयुद्धका प्रभावको कारण अनुसन्धात्मक र प्रयोगात्मक लोकतान्त्रिक पद्धति द्वारा संचालित वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता छ भन्ने कुरा स्वंय मुलधार र वैकल्पिक राजनीतिज्ञहरुले नबुझेको प्रस्ट हुन्छ।

पछिल्लो समय साझा पार्टीका दुई धरोहर डा. सुर्यराज आचार्य र मुमाराम खनालको पार्टी परित्याग पछिका अन्तर्वाताहरुका शब्द शब्द केलाउदै जांदा वैकल्पिक शक्तिका धरोहरहरु स्वंयलाई नै परम्परावादी सोचले पछ्याएर आफ्नो लक्ष्य बुझ्न असफल भएको अनुभव गर्न सकिन्छ ।

जुलाई १३, २०२० मा सुनौलो टिभीमा डा. सुर्यराज आचार्य बाट आएको एउटा उत्तरले राजनैतिक नेतृत्व अझै पनि वैकल्पिक शक्तिको लागि तयार नरहेको प्रस्ट हुन्छ । एक प्रश्नको उत्तरमा उहांले भन्नुभएको छ, “म नयां घर बनाउदै छु र त्यो घर मैले मेरो नौ कक्षामा पढ्ने छोराको सल्लाह अनुसार बनाएको छु किनकी त्यो घरमा मेरी आमा र म भन्दा बढी समय मेरो छोराले बिताउछ।” वैकल्पिक राजनीतिज्ञहरुको अन्यौलताको अध्ययन यही विन्दुबाट गर्न सकिन्छ किनकी मैले बनाएको घरमा मेरो छोरो बस्छ भन्ने सोच मुलधारका राजनैतिक नेतृत्वकै कारण युवा शक्ति विदेशमा पलायन भएको छ र आफ्नो बोलीको महत्व नभएरै र आफुले उचित स्थान नपाएकै कारण त्यो उर्जा शक्ति बुवा र आमाले भोट दिएकै कारण पुस्तौदेखि पुराना पार्टीलाई भोट दिन बाध्य छ वा चुनावको दिन भोट नहाली सामाजिक संजालमा स्ट्याटस अपडेट गर्नमा व्यस्त छ। विकल्पको अर्थ त्यसले पद त्यागेन, मेरो कुरा बिकेन वा अझै राम्रा मान्छे खोजेर राजनीति गर्छु भन्ने सिद्धान्त विल्कुल गलत छ किनकी राजनीति तिनै व्यक्तिलाई लिएर गर्नुपर्छ जो वर्षौदेखि गरिरहेका छन वा गर्न चाहन्छ तर वैकल्पिक व्यवस्थाको अभ्यास गरेर सोचमा परिवर्तन ल्याउनुपर्छ, प्रक्रियामा अनि व्यवस्थामा समेत विकल्प खोज्नुपर्छ। चुनावको नतिजालाई नै वा जादुको लठ्ठी घुमाए सरी देशविकास र व्यवस्थामा परिवर्तन ल्याउने सोच सिनेमाको कथामा मात्रै सम्भव छ।

टेलिभिजनका टक सो, फेसबुक र युट्युबका चर्का प्रचारले मात्रै वैकल्पिक राजनीति सफल हुदैन भन्ने त सत्य सावित भएकै छ। शायद राम्रा मानिस जिम्मेवार पदमा पुगेकै कारण विकासका परियोजना सफल हुने भए, न त काठमाण्डौका जनता मेलम्ची कुरेर बालापन काटेर वयस्क हुन्थे न त बाध्यताले काठमाण्डौ आएर गाउं फर्किदा “बाईबाई काठमाण्डौ “ भन्नेहरु फेरि लाचार भएर त्यही नेपाल खाल्डोमा फर्किन्थे। वेश्याको कौमार्यताको धावा बोल्नु र नेताको इमान्दारिता खोज्नु जटिल अपवादको विषय भए पनि आफुलाई विज्ञ, बौद्धिक, चतुर र नेतृत्ववान सम्झिने वैकल्पिक नेताज्युहरुले पनि कल्पनाको सागरबाट यथार्थको धरातलमा उभिनुभयो भने नेपालको विकास विश्वका अन्य विकसित मुलुक जस्तै हुनेछ।

बाबा राजेश्वरी थापा
भियना, अस्ट्रिया

प्रतिक्रिया