त्यो हारेको वुढाको कथा व्यथा र क्षमा माग

– प्रा.डा.मेदनीप्रसाद भण्डारी २०७७ साउन ७ गते २२:३५ मा प्रकाशित

– प्रा.डा.मेदनीप्रसाद भण्डारी,

त्यो बुढो पिढयौको अजङ्गको भारी चौतारीमा बिसाएर,निश्वास तानेर लामो सास फेर्छ र सोच्छ यो भारीको अन्त कहिले होला र गन्तव्यमा पुग्ने कहिले होला। फेरी सोच्दछ,यो भारी नै मेरो जीवन हो र सास रहुन्जेल सम्म भरीया हुनु पर्ने मेरो वाध्यता कुन कर्मले भयो होला?अनेकन प्रश्न उठ्छन् उसका मनमा,के सोचेको थियो के भयो,कता जानु थियो काहाँ बाटो बिराइयो।

उ आफूले पार गरेका सबै बाटाहरुको स्मरण गर्छ।आफूले नलिएको तर अनजानमानै आफ्नै गल्तिले आफूमा खनिएको ऋणको याद आउँछ र ऋणको प्रयोजनको स्मरण गर्न खोज्छ।खोई कुन पापको प्रतिफल थियो त्यो ऋण, तर नतिरि धर छैन हिजो पनि थिएन,आजसम्म पनि छैन अनि भोली पनि हुने लक्षण देखिदैनन्।साहुको भारी समयमा नपु¥याए,पटक पटक भकुरेर निकाला गरेको कुरा स्मरणले उसलाई लाग्छ की त्यो नजिकै बिसाएको ढाकर सितै नदीको वेगमा हेलीउँ अथवा भारीसितै अक्करे भिरबाट गुल्डिऔं।त्यो विना प्रयोजन भक्कुर्ने साहुको निर्दयता, कर्कसा,डकसो यति डरलाग्दो छ की सम्झदा मात्र पनि आङ्मा खल्खली पसिना आउँछ।शरीरका सबै शक्तिलाई कुनै अदृश्य शक्तिले चुसेको जस्तो महशुस गर्छ।चारैतिर अन्धकार छाउँदछ की एकै छिनलाई मानौं उ निश्प्राण भएको होस्।

फेरी विस्तारै लामो श्वास भर्छ,भरीयाका लागि निश्वास र निरासा वाहेक के नै हुन्छ र ?आफ्नो पूर्पुरो समाउँछ र आफैलाई भन्छ, खुच्चिउ,ठिक्क पर्यो मंगले आफ्नै ढंगले।अनि विचार गर्छ र विश्वस्त पनि हुन्छ,एक्लै फतफताउँछ आफ्नै ढंगले,आफ्नै ढंगले।भरीयाबाट पानीको वोतल निकाल्छ,आँत शान्त गराउँछ, फेरी खर्पन भिर्छ।नाम्लो टाउकामा चडाउँछ अनि त्यो पार नलाग्ने यात्रामा आफ्ना विगतका ढंग–वेढंगहरुको स्मरण गर्न थाल्छ।पटक पटक साहुकारहरुले आफूलाई स्वार्थीको संज्ञा दिएको सढको संज्ञा दिएको अनि भाड,राँड साडका उपमाहरु सम्झन्छ।एक्लै हाँस्छ अट्टाहासले ती सबै उपमाहरु आफूमा ठ्याकै मिलेको पाउँछ।

हो उ आफूलाई गोरु नै ठान्छ तर साढें चाहिँ होइन किनकी न उ कहिलै साहुको वन्धनबाट मूक्त छ, न स्वतन्त्र भएर एक पाईला पनि हिडेको छ । उसलाई थाहा छ उ थाहा पाएदेखि नै नारिएको छ र निरन्तर जोतिएको छ । मालिकले लगाएका कोर्राका डाम ढाडमा अझै छन्, काखमा हानेको लात्तिले छाति चर्कन छोडेको छैन अनि चल्नीमा वज्रोएको लाठीको रन्कोले टाउको दुःखेको देखेकै छ।

उ पक्का गोरुनै हो तर अब वुढो गोरु भएको छ।मेलापात गर्दा गर्दा सबै शरीर सिथिल भई सकेका छन्,तै पनि सकेसम्म जोडिएकै छ मेलामा।स्वार्थीको संज्ञा त झनै मिल्छ त्यो बुढो हारेको बुढामा निस्वार्थ भएको भए हो संसारिक चक्र व्यहोर्ने नै थिएन।ठूलो भाग खानलाई नै जोतिएको हो।विचरा चोक्टा खान गएको बुढो झोलमा डुवेर घिडघिडो भएको छ।न मरेको छ न वाचेको छ।अनि भाड अर्थात् नितिगत नचल्ने,अरुहरुतिर आँखा लाउने,हो वुढोले सोच्छ उ भाड नै हो,यदि नितिगत सोच्ने भएको भए आफ्नो बाटो हिड्थ्यो।जगतमा रग रग चाहादैनथ्यो त्यो पनि अजङ्गको भारी थाप्लामा वोकेर।

मानिसहरुले सत्यको ज्ञान गराउन कोशीस नगरेका होइनन् उसलाई तर सम्याउँछु भन्ने अहंकारले ग्रस्त वुढोले कहिलै आफ्नो लिडे जिद्धी छोडेन्।सोची रह्यो दिन पछि रात अवश्य आउँछ भने रात पछि दिन किन आउँदैन ? तर वुढालाई के थाहा उ जन्मिन त सुर्योदयमा नै जन्मियो र उसको जीवनले सुर्योदय नदेख्न पनि सक्ला भन्ने।विहानीको पर्खाई सुर्योदयको पर्खाईमा आँखा ओछयाउँदा ओछयाउँदै उसका आँखाको पानी सुकिसक्यो तर कता कता अझै उसको त्यो उज्यालो देख्ने तिर्सना चाहीँ मरेको छैन सायद त्यही तिर्सनाले उसका खुट्टा रातोदिन चलि राखेका होलान्।

अनि वुढो सम्झिन्छ उसले साहुद्वारा पाएको अर्को नाम,अर्को संज्ञा पामर, लाक्षी,असक्त र आलसी।विचार गर्छ प्रत्येक शव्दको साव्दिक अर्थ हो यी उपनामना अरु भन्दा झन उसित मिल्छन्।पामर,लाक्षी र असक्त आलसी नभएको भए सह उमेरकी गृहणी वुढीले दिन भरी अविरल बगिरहने व्याधियुक्त ढालको सम्मुख बसेर गिटी कुट्नु पर्थ्यो र?अविरल वग्ने त्यो छालको वेगले ल्याउने रोगको सम्भावनालाई वास्तै नगरी उसकी गृहणी सधै गिटी कुट्छे र छाक टार्न सहयोग गर्छे।गृहणीलाई ज्यालामजदुर गराउन वाध्य पार्ने को हो? जीवननै एक तमास छ यी वनिहारा वुढावुढीको समय नै छैन वुढौती साझा गर्ने पनि।भरीयालाई भारी वोक्तै सास्ती,वुढीलाई गिटी कुट्दै सास्ती।आफू आफू वेलावेलामा भोग्न परेका भोकाईको कष्ट साझा गर्न नपाएको झोकमा ढुंगाढुङ्ग गर्ने वाहेक अरु दिनचर्या के पो हुन सक्छ र ज्यालामजुर गर्ने हरुको।

वुढोलाई असाध्य अपराध वोध छ।मनमनै सबैसित माफी माग्छ,मनमनै सोच्छ।यो अवस्थाको जिम्मेवार स्वयं म नै हो।मेरो अंहकार हो,घमण्ड हो,कतै न कतै इर्ष्याको परिणाम हो,क्रोधरुपी अग्निले भित्रभित्रै जलाएको परिणाम हो र त्यो जति प्रयत्न गर्दा पनि तिर्न नसकिने ऋण हो।जो स्वयंले व्यवस्थापन गर्न नसक्ताको परिणाम हो।ऋण मूलधनमा हुँदै चुक्ता गरेर फर्सोट गर्नु पर्ने कुरा हो।तर बुढाले झन् ऋण थप्दै गयो अनि व्याज थपिदै गयो,व्याजको व्याज अनि स्याजको पनि स्याज।अब त ऋणको मात्रा यस्तो विकरला भयो की न भारी बोकेको कमाइले थेगी राखेको छ न गिटी कुटेको कमाइले कम गराउन सकेको छ।अजङ्गको देखिन थालेको छ ऋणको बोझ न आदिको टुङ्गो थियो न अन्तको अथवा कुनै किनाराको भेउनै पाउन सक्ने स्थिती छ।

उकालोको यात्रामा थकित र गलित भएपछि बुढो त्यो पनि सम्झन्छ,सायद यो काष्टिको कारण चित्त दुखेकाले दिएको श्रापले हुन सक्छ, कमजोडीहरुको पराकाष्टले हुन सक्छ।बुढोलाई स्मरण छ र ज्ञान छ कि उसले आफ्नो कुनै पनि यस्तो गुण होस् कि उ श्राप मुक्त हुन सकोस्।कुनै प्रयास नै छैनन् उसका कि कसैलाई गुण लगाएको होस्।बुढो निरन्तर अज्ञात धुनमा सायद साहुकारको ऋण माफीको प्रतिक्षामा थियो होला तर अब बुढो न अघि बढ्न सकिरहेको छ,न पछि ।तनसँगै मनपनि जर्जर छ उसित न ऋण भुक्तानी गर्ने हिम्मत छ,न श्राप विमोचनका लागि साधना गर्ने नै सामर्थ छ।बुढो स्वीकार गर्छ उ बाट त्रुटी भएको छ । हृदय,पश्चाताका अग्निमा जलि रहेछ।उसित अब हो हो जोश छैन सिरीफ हा हा को निश्वास बाँकी छ।

उसलाई नी शब्दहरुले भेदन गर्छ “यतिका चाहार्नेले आखीर भरिया बाहेक के पाईस”।हो बुढोले धेरै विकल्पका लागि आफूलाई तयार पारेको थियो।जताततै उढ्न सक्ने उर्जापनि संगालेको थियो तर उसले समयमा तालि बजाउन जानेन्। दिएको अर्ति पनि मानेन्,त्यही पाप लागेर बुढोलाई कसैले पत्याएनन्,सबैले सिरीफ अनि सिरीफ बुढोको उपयोगित भरीयामा मात्रै देखे।

बुढो फेरी ढाकर विसाउँछ।टोपीले निधारका पसिना पुस्छ र मनैदेखि सबैलाई सम्झन्छ हे मेरा संगतले दुःख पाएका सहयात्री हो मैले अक्षम्य अपराध गरें,मेरो कर्तव्य पूरा गर्न नसकेकै हुँ।म क्षमा योग्य पनि छैन र तर मसित क्षमा याचना गर्ने बाहेक कुनै विकल्प छैन।क्षमा गर,ऋण बन्धनबाट मुक्त गर।बुढो अश्रुधारा सहित त्यहि चौतारामा क्षण भर निदाउँछ।सपनामा तिनै बाटो विराएका तानाबाना, साहुले हप्काएको देख्छ र झंसङ्ग भई व्यूझिन्छ।अनि पून उठ्छ र उसै गरी खर्पन र्भिछ,नाम्लो मिलाउँछ र उकालो लाग्छ,त्यो हारेको जिर्ण बूढो,फेरी दौडिन प्रयास गर्छ।त्यो हारेको बूढो फेरी दौडिन प्रयास गर्छ।

।। शुभम् ।।

प्रतिक्रिया