“यहाँ मान्छेहरु”

कमला प्रसाईं हाल न्यूयोर्क, अमेरिका २०७७ असार २३ गते २१:५१ मा प्रकाशित

यहाँ मान्छेहरु आज ढुङ्गा जस्तो भएछन
यहाँ मान्छेहरु आज डुङ्गा जस्तो भएछन।
कति स्वार्थी छ मान्छे! कति निठुरी छ मान्छे।
मालीलाई टाढा बनाएर,
फुलबारीका फुलहरुलाई छिन्नभिन्न पारेर
आफू स्वार्थी भएको छ आज मान्छे।
हिजो हिमालमा गुराँस हाँसेर फुलेजस्तो लाग्दथ्यो
आज हिमाल नै रोएर फेरि गुँरास मागेजस्तो लाग्छ ।
कति बगाउँदछौ ए मान्छेहरु ।
हाम्रा गुराँसका थुँगाहरु बाग्मती अनि गण्डकीमा।
सँगालेर राख न अब त-
हाम्रो माटोका अस्तित्वका पहिचानहरु ।
तिमी – तिमीहरूको स्वार्थीपनले देशलाई शुन्य-शुन्य बनायौ रे ।
तिमीहरुको मात्र देश कहाँ हो र ?
हामी पनि सधैं प्रवासी कहाँ हुन्छौं र ?
आउनेछौंं अब छिटै आफ्नो माटोको मुक्तिको लागि,
होशियार ए मान्छेहरु ।
हाम्रो देशलाई बचाएर राख है ।
अझै मान्छेहरू हाम्रो माटोमा बुद्ध बन्न सक्छ्न
अझै मान्छेहरू हाम्रो माटोमा राम बन्न सक्छन् ।
त्यसैले ए मान्छेहरु तिमीहरु स्वार्थी नबन
नभत्काउ यसरी हजारौं बर्षको हाम्रो इतिहास !
संगालौं फेरि हाम्रो पुर्खाहरुको पहिचान !!
नबन विदेशीको गुलाम
ए मान्छेहरु आफ्नो माटो भन्दा प्यारो केहि हुन्न।
यहाँ माटो भन्दा प्यारो केहि हुन्न ।।।

कमला प्रसाईं हाल न्यूयोर्क, अमेरिका

प्रतिक्रिया