हिजो आज म पनि शहर पढ्न सक्छु

बिकास थापा २०७७ असार १६ गते २२:०० मा प्रकाशित

किन अचेल उत्तेजित छन् हाम्रा विवेकहरू
किन अचेल उद्दण्ड छन् हाम्रा चेतनाहरू
किन अचेल बजिरहेछ एकोहोरो क्रन्दनको बाँसुरी ?
कस्ले पोत्यो हँ त्यो आकाशभरि कालो रङ ?
बाटाहरू जुन सिर्जनाको लागि पो कोरिएका थिए
तर बन्दै भत्किरहेछन् प्रत्येक रात
बचेखुचेका विश्वासका अग्ला पहाड पनि

भान्सामा बजेको अभावको धुन सुन्दै
जो ओठभरि मुस्कान च्यापेर निस्कन्छे साँझमा
र फर्कन्छे हरेक मध्यरातमा
हत्या गरी पलपलमा आफ्नै सपना
जुन शहरमा बजिरहन्छ अचेल
पुँजीवादको अमिल्दो शोकधुन
हृदयभरि पीडा पोतेर कसरी पो सोधौँ
यो शहर अति रमाइलो छ है कान्छी ?

हरेक रात सिरानीमा यसरी
आँसु पैरिन्छ वा वेदना ?
नीलो ओठ निचारेर किन निस्कन्छन्
जबर्जस्त देखावटी कलेटी परेका खुसी
कति पल्ट देखाओस् समयले किच्च
खुसी खुल्न नसकेका पहेँला दाँतहरू
यस्तै दु:खै दु:ख पोतिएको अनुहारमा
सहज लाग्छ मलाई अचेल शहर पढ्न

शहरका पसलहरूमा पनि फेरिएको छ व्यापार
बढाबढ घटाघट छ आफ्नै दिदीबहिनीको अस्मिता
दाजुभाई नै बेचिएपछि
खपिनसक्नु छ औषधि पसलको कुटिल मुस्कान
अभाव छ उस्तै
कण्डम,पेन किलर र गर्भ निरोधक बुटिहरू
यति बुझ्ने भएपछि
म पनि शहर पढ्न सक्छु अचेल

यस्तै युगमा देखिन्छ
भीरमा फुलेको रातो गुराँस पनि कालो
कति बाध्यताले झरे हनिमुनअघि नै बैँसका तरेली
कति अत्यासलाग्दो छ यो क्रूर समय
यही हो त समयको परिवर्तन ?
यस्तै हो त सभ्यताको विकास ?

बेहोसीमै !
कतिपल्ट ढक्कढक्याए चेतनाको ढोका
शासक नै लाचार बनेपछि
झुक्दोरहेछ देशको गरिमा
धर्मराउँदोरहेछ एक अँजुली सभ्यता पनि
कतिपल्ट चढ्यो यो क्रूर समय सत्ताको बुइ
र पनि छादिरह्यो उसरी नै
सत्ताकै मौनता
डकारीरह्यो आफ्नै छोरीको अस्मिता
बुझ्नु,शासक आँखा देख्दैन अचेल

बेसरम यी गोरू टाउके अखबारहरू
रोपिरन्हन्छन् निरन्तर भ्रमको खेती
चेलीहरू पुछिरहेछन् लाजको पछ्यौरीले आँसु
जो भोको पेटको अन्तरा बजाउँदै जान्छन्
एक छाकमै बुझाउँछन्
आफ्नो लालिमायुक्त गुराँस
र ,फर्कन्छन् उदास बनेर हरेक रात
जुन बाटाहरू रूँदैरुँदै
उक्लँदै ओर्लिएका र ओर्लँदै उक्लिएका छन्
र पनि समथर देख्छन् शासकहरू हिजोजस्तै
यति बुझेपछि
हिजोआज म पनि सहर पढ्न सक्छु

पेन्सलभेनिया , अमेरिका

स्रोत : कविता संग्रह “ ओकलेर आगो “

प्रतिक्रिया