नेपालमा कोरोनाले किन भयावह रुप लिन्छ ?

भगवती तिमल्सिना २०७७ असार १४ गते ०:१७ मा प्रकाशित

नेपालमा कोरोना संक्रमण दिन दुइगुना रात चौगुना बढ्दैछ । सरकार दुइवटा काममा केन्द्रित छ, सत्ता टिकाउन र औषधि तथा उपकरण खरिदमा मोटो मुनाफा कमाउन । कोरोनालाई नियन्त्रण गर्ने प्रभावकारी योजना र तयारी सरकारसंग छैन । सांच्चै भन्ने हो भने नेपाल सरकारले यो महामारीलाई राम्ररी आत्मसात समेत गरेको छैन । संसारलाई तवाह वनाइसकेको कोरोना संक्रमणको सम्वन्धमा प्रधानमन्त्री देखि मन्त्रीहरुसम्मले जस्तो टिप्पणी गर्दै आएका छन्, उनीहरुले यसको गाम्भीर्यता वुझेका छैनन् । सरकार त केवल ठट्टाका लागि लकडाउन गरिरहेको छ जस्तो देखिन्छ । यस्तो अवस्थामा म आज नेपालमा किन कोरोनाले भयावह रुप लिन्छ भन्ने विषयमा अलि गहिरिएर चर्चा गर्न चाहन्छु ।

स्वभाविक रुपमा महामारीलाई नियन्त्रण गर्ने चारवटा चरणहरु हुन्छन् । पहिलो चरणको रुपमा लकडाउन वा स्टे एट होम अर्डर जारी हुन्छ, जसले महामारीको चेनलाई व्रेक गर्छ र यो समयमा सरकारले आवश्यक अस्पतालहरुको व्यवस्थापन गर्ने, चाहिने स्वास्थ सामग्री, पीपीइ र अन्य औषधिहरुको व्यवस्थापन गर्ने, स्वास्थकर्मीहरुलाई आवश्यक तालिम दिने, जनतामा चेतना जगाउने काम गर्छ । दोश्रो चरण भनेको लकडाउन वा स्टे एट होम अर्डरलाई क्रमश खुल्ला गर्ने हुन्छ तर सावधानी भने पूर्णत अपनाइन्छ, जहां जनता महामारीका सम्वन्धमा सचेत भइसकेका हुन्छन्, आवश्यक स्वास्थ सामग्री आइसकेको हुन्छ, स्वास्थकर्मीहरु प्रशिक्षित भइसकेका हुन्छन् । यो दोश्रो चरणमा कहिलेकांही पहिलो चरणमा भन्दा वढी मानिसहरु मर्न सक्छन्, त्यसैले सरकार वा सरकारी निकायहरु पूर्ण रुपमा सचेत हुनुपर्छ ।

महामारीको दोश्रो चरण त्यो वेलामात्रै सकिन्छ, जुनवेला औषधि वा भ्याक्सिन उपलव्ध हुन्छ । यो चरणमा पुग्नका लागि अझै सामान्यतया एक वर्षदेखि अठार महिना लाग्न सक्ने अनुमान गरिएको छ । अव यहांनिर अलिकति ध्यान दिऊ, नेपालमा अहिले क्रमश लकडाउनलाई खुकुलो पारिएको छ, यदि अव सरकार दोश्रो चरणमा प्रवेश गर्न लागेको हो भने पहिलो चरणमा पुरा गर्नुपर्ने कुराहरु पुरा भए त ? यो प्रश्नको जवाफ आमनेपाली जनताले दिन सक्छन् । असजिला लाग्ने दुइवटा प्रश्न पनि यहीनेर छन्, पहिलो प्रश्न हो, महामारी नियन्त्रणका लागि पहिलो चरणका तयारीहरु पुरा भएका छैनन् भने दोश्रो चरणतर्फ किन जाने ? दोश्रो काउन्टर प्रश्न हो, यदि लकडाउनवाट पनि कुनै ठोस परिणाम निस्किएन र लकडाउनका वीचमा पनि कोरोना डढेलोझैं फैलिन्छ भने यो लकडाउन किन जारी राख्ने ?

महामारी नियन्त्रणको तेश्रो चरणमा आइसकेपछि भने जनजीवन सहज हुन्छ, जहां मानिसहरुलाई विश्वास हुन्छ, रोग लागि हालेपनि औषधि उपलव्ध छ । यो अवस्था चांडै आओस् भन्ने आम मानिसको चाहना हो तर चाहेजति शीघ्र यो हुने अवस्था छैन । महामारी नियन्त्रणको चौथो चरण भनेको अर्को महामारी आउंदा कसरी नियन्त्रण गर्ने भनेर तयारीमा जुट्ने हो । अब गम्भीर प्रश्न यहीनेर छ, नेपाल महामारी नियन्त्रणका क्रममा दोश्रो चरणवाट अगाडि जानसक्ला या दोश्रो चरणमा नै अड्किएला ? मैले अगाडि पनि उल्लेख गरिसके, महामारीको दोश्रो चरणमा धेरै मानिसहरु संक्रमित हुन्छन् र मर्छन । अहिले अमेरिकाका धेरै शहरहरुमा महामारी वढिरहेको छ । पछिल्लो हप्ता सेयर वजार क्र्यास छ । अमेरिकन प्रयोगशालामा काम गर्ने मेरा केही वैज्ञानिक साथीहरुले दिएको जानकारी अनुसार अहिले विरामीलाई उपचारको लागि दिइने प्लाज्माको समेत अभाव भएको छ । पहिलो चरणमा कोरोनाको इपिसेन्टर मानिएको न्यूयोर्क र यसका छिमेकी राज्यहरु न्यूजर्सी र कनेक्टिकटले अहिले दोश्रो चरणमा आइपुग्दा अन्य १० राज्यवाट आउने अमेरिकी नागरिकहरुलाई क्वारेन्टाइनमा राख्न थालेका छन् ।

कोरोना नियन्त्रण गर्न ठुला मुलुकहरुलाई जति असजिलो छ, साना मुलुकहरुलाई सजिलो छ । संसारका थुप्रै साना मुलुकहरुले सहज ढंगमा कोरोना नियन्त्रण गरेका छन्, त्यसका लागि उनीहरुले अपनाएको विधि भनेको सावधानी हो । नेपालले लकडाउनका नाममा गाडी वन्द गर्ने वाहेक कुनै पनि प्रभावकारी कदमहरु चालेको छैन, जसले असजिलो अवस्था सिर्जना हुंदै जाने संभावना देखिएको हो । सवैभन्दा ठुलो लापरवाही त स्वास्थ सामग्रीहरुको आयातमा नै भएको छ र यो वीचमा स्वास्थकर्मीहरुलाई तालिम दिने र अस्पतालहरुको संख्या थप्ने समेत काम भएको छैन । सरकार कतिसम्म लापरवाही गर्छ भन्ने उदाहरण त निर्माण गरिएका क्वारेन्टाइन सेन्टर हेर्दा पनि पुष्टि हुन्छ ।

नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोभिड १९ को संक्रमण फैलिएसँगै नेपाल सरकारले ठेक्का पट्टाका लागि एउटा एजेन्टका रुपमा व्यवहार गरिरहेको टिप्पणी सदनमै उठ्दा समेत सरकारको रवैया परिवर्तन भएको छैन । स्वास्थ्य मन्त्रालयको काम कहिले औम्नी समूहलाई फाईदा दिलाउने, कहिले नेपाली सेनालाई पेन्डुलम बनाउने त कहिले फ्रन्ट लाईनमा अहोरात्र आफ्नो ज्यान नै जोखिममा पारेर घरपरिवार समेत बिर्सिई देश र जनताका लागि दिलो ज्यान दिएर खटेका स्वास्थ्यकर्मीहरुलाई स्पष्टीकरण माग्ने देखि फेरबदल गरेर सूचनालाई लुकाउन सक्ने व्यक्तिको खोजिमै बिताउँदै छ ।

कोरोना संक्रमण बढ्नुको प्रमुख कारण नेपाल सरकार स्वयमको काम गर्ने तवरतरिका नमिल्नु नै रहेको विज्ञहरुको ठम्याई छ । काम गर्नेलाई हतोत्साहित बनाउने र प्रशसा गर्नेलाई काखी च्यापेर बस्ने सरकारको रवैयाका कारण कोरोना संक्रमणले नेपालको जनजीवन अस्तव्यस्त बनाएको जानकारहरुको ठम्याई छ ।

सरकारको काम गर्ने शैलीमा परिवर्तन नआउने र कोरोना संक्रमणलाई सामान्य रुघाखोकी जस्तै हो भनेर हेलचेक्र्याई गर्दै जाने हो भने केही महिनामा नै लाखौको संख्यामा कोरोना संक्रमित हुने सरकारकै निकायले तयार पारेको रिपोर्ट बुधबार संचार माध्यममा छाएको छ ।

चीनमा सन् २०१९ डिसेम्बरमा प्रमाणित भएको कोरोना भाईरसले जनवरी अन्त सम्म पुग्दा त्रासदीपूर्ण अवस्था सृजना भएको थियो । त्यतिबेला सम्म नेपालमा पनि यस्तो अवस्थामा कोरोना संक्रमण फैलिन्छ भन्ने पत्याउनै सकिन्नथ्यो । माघको ९ गते चीनबाट आएका एक नेपाली विद्यार्थीमा पनि कोरोना संक्रमण प्रमाणित भयो । सरकारले यो सूचना सार्वजनिक गर्नुको सट्टा लुकाउन तर्फ जोड दियो । यतिबेर नेपाल सरकारले नेपालमा कोरोना परिक्षण गर्ने ल्याब समेत तयार नगरेका कारण विश्व स्वास्थ्य संगठनको समन्वयमा बैंककमा लगेर परिक्षण गरि कोरोना प्रमाणित भएको थियो । यसपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूलाई कोरोना परिक्षण योग्य ल्याब बनाईयो । विश्व स्वास्थ्य संगठनले चीनमा कोरोना संक्रमण प्रमाणित भएदेखि नै नेपाल उच्च जोखिममा छ पूर्व तयारीमा जुट भनेकै हो । तर नेपालले खासै ध्यान दिएन र अहिले पनि जति दिनुपर्ने हो त्यति दिएको छैन भन्ने आलोचना भैरहेको छ ।

पहिलो केश प्रमाणित भएको ठ्याक्कै २ महिना पछि चैत्र १० गते फ्रान्सबाट नेपाल आएकी एक १९ बर्षे विद्यार्थी नेपाली युवतीमा कोरोना संक्रमण पुष्टि भएपछि सरकार अतालिएर चैत्र ११ गतेदेखि देशव्यापी रुपमा बिना तयारी लकडाउनको घोषणा गर्यो । सरकारले लकडाउन गरेर जनस्वास्थ्यको हैन कुर्सी बाँडफाडाका लागि समय खच्र्यो र ठेक्का पट्टामा आफुनिकट ठेकेदार गोप्य रुपमा खोज्न उपयुक्त समय सम्झ्यो । विश्व स्वास्थ्य संगठनले परिक्षण परिक्षण परिक्षण भन्दै जोड दिईरहेपनि नेपाल सरकार भने पिसिआर परिक्षण गर्नुको सट्टा आरडिटि परिक्षण गरेर आम जनताको आँखामा छारो हाल्ने र झारा टार्ने काममा व्यस्त भयो । आरडिटिलाई विश्व स्वास्थ्य संगठन र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले मान्यता नै दिएको थिएन् । अन्तत आरडिटि परिक्षणले खासै अर्थ राख्न सकेन र समय र धनको मात्र खती भयो भनेर सदनमै सरकारले विरोध खेप्न बाध्य भयो ।

पिसिआर परिक्षणमा जोड नदिएकै कारण चैत्रको अन्तिम साता सम्म १२ जनामा मात्र कोरोना संक्रमण प्रमाणित भएको थियो । दैनिक रुपमा बढेको कोरोना संक्रमणको अवस्था हेर्दा अब सरकारको सुस्त गतिले कोरोना नियन्त्रण भन्दा कोरोना संक्रमण बिस्तारलाई बाटो खोलेको आरोप प्रत्यारोप सरकार पक्षबाट नै हुन थालेको छ । एक जनामा कोरोना देखिदा लकडाउन गर्ने सरकारले जति जति संक्रमित थपिँदैछन् उति उत्ति लकडाउन खुकुलो पार्दै आउँनुले थप प्रश्न उब्जाएको छ । सरकारले दिएको तथ्यांक अनुसार एउटाबाट २२ वटा पिसिआर परिक्षण ल्याब बिस्तार गरिसकेको छ तर परिक्षणको दायरा खासै बढेको पाइन्न ।

बैशाख ३१ सम्म २ सय १९ जनामा मात्र कोरोना संक्रमित प्रमाणित भएको नेपालमा जेठ १ गते सिन्धुपाल्चोककी एक २९ बर्षिय सुत्केरी महिलाको मृत्यु भयो । मृत्यु भएको तेस्रो दिन असार ३ गते सरकारले कोरोना पुष्टि भएको जानकारी गरायो । कोरोना संक्रमितको संख्या जेठको अन्तिम साता पुग्दा सय बाट एकै पटक ५ हजार नाघ्यो । असार १२ मा पुग्दा २७ जनाको मृत्यु हुनुका साथै ११ हजार ७ सय ५५ संक्रमित भैसकेका छन् ।

क्वारेन्टाईनमा रहेका व्यक्ति, संक्रमित, मृतकको अवस्थालाई नियाल्दै स्वास्थ्य मन्त्रालयकै उच्चस्तरिय समूहले भविष्यमा हुन सक्ने अवस्थाको रिपोर्ट तयार पारि मन्त्री, सचिव लगायतका जिम्मेवार निकायमा बुझाईसकेको छ । नेपालमा रहेका सरकारी तथा नीजि अस्पतालहरुको तथ्यांक अनुसार १ हजारको हाराहारीमा भेन्टिलेटर रहेको र लेखाजोखा भैरहेको मन्त्रालय स्रोतले जनाएको छ । यतिबेला प्रदेश नं ५, २ र ६ मा बढी संक्रमित छन् भने भारतबाट र तेस्रो मुलुकबाट आएकामा नै कोरोना संक्रमण बढी भएको पाईएको छ । भारतमा कलकारखाना खुलेकाले अब कामदार आउने क्रम कम हुन सक्ने अनुमान स्वास्थ्य मन्त्रालयले गरेको स्रोतले जनाएको छ ।

स्वास्थ मन्त्रालयकै उच्चपदस्थ अधिकारीहरुले तयार गरेको एक प्रक्षेपण भन्दै पत्रकार दीपक दाहालले आयोमेल अनलाइनमा असोजसम्ममा ३ लाख ७६ हजारभन्दा वढी कोरोना संक्रमित नेपालमा हुने समाचार लेखेका छन् । यो समाचारलाई अहिलेसम्म स्वास्थ मन्त्रालय वा सरकारी कुनै पनि निकायले खण्डन गरेको छैन । प्रक्षेपण यदि सही भयो भने यो संख्यालाई नेपालका कुन अस्पतालले सम्वोधन गर्न सक्ला र ? अस्पतालले भर्ना लिन नसक्ने अवस्था उत्पन्न हुनु र विरामीको संख्या वढ्दै जानुले कोरोनाले नेपाललाई कुन अवस्थामा पुर्याउला भन्ने कल्पना गर्नुपनि अत्यास लाग्दो हुनेछ । न्यूयोर्क जस्तो शहरमा मानिसहरु समयमा अस्पताल जान नपाउंदा करिव ५ हजारभन्दा वढी मानिसहरु घरमानै मृत्युवरण गर्न पुगे भनिन्छ, यो अवस्थामा नेपालमा के होला ?

भगवती तिमल्सिना

प्रतिक्रिया