–इनेपलिज प्रतिनिधि
प्रवासका बालबालिकाले आकर्षक रंगीन चित्रहरू भएका नेपाली भाषाका पुस्तकहरू पढ्न पाउने गरी मेरो मातृभाषा नेपाली का शृङखलाहरू प्रकाशित भएका छन् । विशेष गरी अमेरिकामा रहेका नेपाली समुदायले लामो समयदेखि सामना गरिरहेको नेपाली भाषा, संस्कृति, पर्यटन, नेपाली रहनसहन, नेपाली भूगोल र इतिहाससमेत समेटेर तयार गरिएको पाठ्यक्रममा आधारित यी पुस्तकहरू गएको फ्रेबुअरीमा अमेरिका नेपाल सहयोगी समाजले प्रकाशन गरेपछि अहिले अमेरिकाभरि सर्वसुलभ भएको हो । यसअघि नेपाली भाषा पाठशालामा सबैतिर सधैँ उपयुक्त पाठ्यक्रम र पाठ्यपुस्तकको अभाव खड्किरहेको थियो ।
अमेरिकामा नेपाली भाषा पाठशालाको इतिहास खोज्दा प्रवासी नेपालीहरूले अनौपचारिक रूपमा नेपाली भाषा शिक्षण गर्न पहिलोपल्ट तयार गरेको पाठ्यक्रमका रूपमा अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली साहित्यसमाजसित आवद्ध व्यक्तिहरूको अगुवाइमा २००३ मा भएको प्रयासमा पुगेर रेकिन सकिन्छ । त्यतिबेला अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष पुरु सुवेदी तथा अनुप पहाडी लगायतका व्यक्तिहरूले नेपाली पाठ्यक्रम तयार पार्नुका साथै नेपाली राजदूत जयप्रताप राणाबाट नेपाली पाठशालाको उद्घाटन जर्ज मेसन विश्वविद्यालय फेयरफ्याक्समा गराएको संस्मरण अनेसास बोर्डअफ ट्रस्टी कार्यसमिति उपाध्यक्ष पुरु सुवेदीसित ताजै छ । उनका अनुसार यसमा आधारित भएर पाठ्यपुस्तक तयार गरिएको थिएन, शिक्षकहरूले आफैँ पाठ्यसामग्री तयार गर्थे, तीनवटा कक्षामा ३५÷४० बालबालिका थिए । डी सी नेपाली स्कुल नाम दिइएको सो समितिमा अध्यक्ष अनुप पहाडी थिए । किरण सिटौलाले वयस्कहरूलाई भाषा सिकाउँथे भने बालबालिकाका लागि कल्पना सुवेदी र अमेरिकी नागरिक नोराले शिक्षण गर्थे ।
अमेरिका नेपाल सहयोगी समाजले सन् २०१६ देखि अमेरिका नेपाल शिक्षा सदन नाम दिएर बालबालिकालाई हरेक आइतबार नेपाली भाषा सिकाउने कक्षा सञ्चालन ग¥यो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले सन् २०१७ मा नेपाली पाठशालाहरूका लागि लक्षित गरी एक पाठ्यव्रmम केन्द्रीय कार्यसमितिबाट पारित ग¥यो । यसको उद्देश्य अनेसासअन्तर्गत विभिन्न स्थानमा बीसपच्चीसवटा नेपाली भाषा पाठशालाहरू नमुनाका रूपमा सञ्चालन गर्ने, त्यसलाई निरन्तरता दिइरहने, भुटानी नेपाली समुदायमा पनि नेपाली भाषा पाठशाला सञ्चालन गर्न सहयोग गर्ने, पाठ्यपुस्तकहरू निःशुल्क उपलब्ध गराउने तथा अन्य संघसंस्थाहरूमार्फत् सञ्चालन हुने नेपाली पाठशालाहरूलाई अनेसासको उद्देश्य संस्था विस्तारित भएका सबै देशमा नेपाली भाषा शिक्षणका लागि एकै पाठ्यक्रम लागू गर्ने रहेकाे कुरा अनेसासका तत्कालीन केन्द्रीय अध्यक्ष एवं हाल बाेर्ड अफ ट्रस्टीका उपाध्यक्ष पदम विश्वकर्मा बताउँछन् । उनका अनुसार यो पाठ्यक्रम निकै विस्तारित छ । एनआरएनले प्रवासमा नेपाली भाषा शिक्षणका लागि पाठ्यक्रम तयार गरी त्यसलाई अनलाइनमा उपलब्ध गराउँदै आएको छ । यसै बीच अमेरिका नेपाल सहयोगी समाजले सन् २०१९ मा नेपाली भाषा शिक्षण पाठ्यव्रmम सार्वजनिक गरेको छ । यस पाठ्यक्रमले चार वर्षदेखि १५ वर्षउमेरसमूहभित्रका बालबालिकालाई विभिन्न चार तहमा राखेर नेपाली भाषा शिक्षण गर्न सकिने गरी पाठ्यक्रम तयार गरेको छ ।
अमेरिका नेपाल सहयोगी समाजले तयार गरेको चार तहका पाठ्यव्रmममा प्रत्येक तह वर्षमा बढीमा चालीस हप्तासम्म मात्र नेपाली शिक्षण गर्न सकिने गरी पाठ्यक्रम र त्यसअनुसारका तीन तहका पाठ्यपुस्तकहरू गत फ्रेबुअरीमा प्रकाशन गरी वितरण गरेको छ । ती पाठ्यपुस्तकहरू प्रयोगका लागि भनेर अमेरिकाका १३ वटा राज्यहरू तथा अस्टे«लियामा समेत पुगेका छन् । हाल भर्जिनिया, न्यु ह्याम्पसायर र हवाईमा ती पाठ्यपुस्तकहरू बालबालिकाहरूले अध्ययन गरिरहेका छन् ।
उत्तरी भर्जिनियाका हर्नडन र मनाससमा रहेका नेपाली पाठशालाहरूमा यी पाठ्यपुस्तकका सामग्री बालबालिकालाई पढाइन्छ । भौतिक रूपमा हरेक आइतवार कक्षामा सहभागी हुने बालबालिकाहरू कोरोना भाइरसको महामारीका कारण अहिले घरमै बसेर अनलाइनमा नेपाली भाषा सिकिरहेका छन् । अमेरिका नेपाल सहयोगी समाज प्रवासमा बालबालिकालाई नेपाली पाठ्यसामग्री चरणबद्ध रूपमा दिनुपर्दछ भन्ने जिम्मेवारीका साथ अघि सरेको कुरा अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष केदारप्रसाद तिम्सिना बताउँछन् । उनका अनुसार हाल तीन तहका लागि चार पाठ्यपुस्तक तयार भइसकेको र भविष्यमा पुस्तक तयारी समितिले बालबालिकाको आवश्यकता हेरी अरु पुस्तक तयार गर्ने योजना बनाइरहेको छ ।
अमेरिका नेपाल सहयोगी समाजका पूर्व अध्यक्ष कमला खरेलको भनाइमा नेपालमा तयार भएका पाठ्यपुस्तकहरूमा यहाँका बालबालिकाका लागि बुझ्न सजिलो हुने शब्द चयन नभएको भन्ने शिक्षकहरूको अनुभव छ । शिक्षकहरू नेपालमा नै पढेर आएका हुनाले पढाउनेलाई सजिलो लाग्ने तर बालबालिकाले बुझ्न नसक्दा किन बुझेनन् भनेर खोजी नभएकाले प्रवासका धेरै स्कुलमा संलग्न शिक्षकहरूबाट आफूले उस्तै अनुभव सुनेको खरेलको भनाइ छ ।
पाठ्यपुस्तक तयारी समितिमा रहेर पुस्तक लेखनको मुख्य भूमिका निर्वाह गरिरहेका शिव लामिछाने कमला खरेलको भनाइमा सहमत छन् । उनको भनाइमा नेपालका पुस्तकहरू यहाँका बालबालिकाले बुझ्न नसक्नु न त ती पुस्तकको दोष हो, न यहाँका बालबालिकाको दोष । बरु प्रवासमा जन्मेहुर्केका बालबालिकाको नेपाली सिकाइबुझाइ र ग्रहण गर्ने क्षमता नबुझेर ती पुस्तकहरू चयन गर्ने शिक्षक तथा व्यवस्थापकहरूको कमजोरी हो ।
प्रवासमा बालबालिकालाई नेपाली शिक्षण गर्ने पुस्तकका ३ शृङ्खला ‘मेरो मातृभाषा नेपाली’ का लेखक शिव लामिछानेको अनुभवमा नेपालका प्राथमिक तहमा पढाउन तयार भएका पुस्तकहरू नेपालमा आमाबाबा र परिवार र साथीसंगतिका साथमा दैनिक १४ घन्टा रहेर हुर्किरहेका बालबालिकाको नेपाली भाषिक स्तरका लागि तयार भएका हुन् । प्रवासका बालबालिकालाई बनाइने किताबमा प्रयोग भएका हरेक शब्दको चयन सावधानीपूर्वक सरलबाट जटिलतिर जानेगरी छान्नुपर्छ । जस्तै ः प्रवासका बालबालिकालाई– ‘झमक्क साँझ प¥यो । खसीको खुट्टो ठनक्कै भाँचियो । बाख्राको पाठो बुर्लुक्क उफ्रियो’ जस्ता सरल लाग्ने र सुनिने वाक्यहरू निकै जटिल हुन्छन् । यी वाक्यको अर्थ बुझ्न नेपालका बालबालिकालाई स्कुल जाने उमेरमा उनीहरू स्कुल गएकै हुनुपर्छ भन्ने छैन । तर प्रवासमा जन्मेहुर्केका बालबालिकालाई यी वाक्य सिकाउन र अर्थ लाग्ने बनाउन खसी के हो, खुट्टो के हो ठनक्कै भाँचिनु भनेको कसरी भाँचिनु हो भन्ने कुरा अलगअलग रूपमा बताउनुपर्ने हुन्छ । झमक्क र साँझ दुई शब्दको व्यावहारिक अर्थको पनि यहाँ भूमिका हुन्छ । यस्तै बाख्राको पाठो, बुर्लुक्क, उफ्रनुको पनि सिकाइ कक्षामा देखाउनुपर्छ । जबकि, नेपालका अधिकांश बालबालिका ग्रामीण क्षेत्रमा हुर्कने र कुनै न कुनै रूपमा गाउँििसत सम्बद्ध भएका बालबालिकाले घरमै त्यो देखिसकेका हुन्छन् ।
अब यही कुरा प्रवासमा अक्षरबाट ध्वनि र ध्वनिबाट अर्थतिर जानुपर्ने गरी सिकाइ हुन्छ । नेपालमा ध्वनिलाई अक्षरमा कसरी लेख्न भनेर सिकाउँदा हुन्छ । हामी पहिलो पुस्ताका बाबुआमा प्रवासमा छोराछोरीलाई क, ख को उच्चारण भेद सिकाउन नसकेर हैरान छौँ । ज ट र त को भेद सामान्य समस्या हो । यो ट वर्ग र त वर्गका चारै अक्षरमा समस्या हुने गरेको विषय नेपालको पनि सन्दर्भ हो । तर प्रवासमा ग र घको उच्चारण बाबुआमाले छोराछोरीलाई सिकाउन नसकेकेको अवस्था छ । यस्तो अवस्थामा प्रवासका हाम्रा छोराछोरीलाई नेपालमा तयार भएका किताबहरूमा बनिबनाउन पाठ पढाएर घोकाएर उनीहरूको लेखाइ, बोलाइ र पढाइको स्तर उकास्न सकिँदैन । यी तीन स्तर नउठेसम्म अरुले भनेको कुरा उनीहरू सुनेर ग्रहण गर्न पनि सक्षम हुँदैनन् । यसबाट अभिभावक विद्यालय सञ्चालक तथा शिक्षक सबैको समयको बर्बादी र उपलब्धि सून्य हुन जान्छ ।
लेखक लामिछाने भन्छन्, “यसैले ‘मेरो मातृभाषा नेपाली’ शृङ्खलाका तीनै पुस्तकमा बालबालिकाको सिकाइको स्तरलाई कक्षाकोठामा परिक्षण गरेर मात्र पुस्तकमा पाठहरू राखिएका छन् । एकपछि अर्को पाठको स्तरको उठान सावधानीपूर्वक गरिएको छ । शिक्षकहरूलाई पाठहरू कसरी पढाउने भनेर राम्ररी सल्लाह दिइएको छ । हरेक पाठको पुछारमा शिक्षक र अभिभावकले उनीहरूको तहबाट बालबालिकालाई के कुरा कसरी सिकाउने भनेर सुझाव दिइएको छ ।”
पुस्तक तयारी समितिका संयोजक रोम ज्ञवालीका अनुसार शिक्षा सदनमा रहेका बालबालिकालाई पाठ्सामग्रीको साँच्चै अभाव खड्किएको अवस्थामा यो अभियान अमेरिका नेपाल शिक्षा सदनले सुरु गरेर स्थानीय अरु चार नेपाली पाठशालाका शिक्षकहरू, व्यवस्थापकहरू तथा अभिभावकहरूलाई समेत संलग्न गराएर बैठक र छलफल गरेपछि पाठ्यपुस्तकका विषयवस्तुलाई अन्तिम रूप दिइएको हो । प्रवासमा उपयुक्त पाठ्यपुस्तकको परिकल्पना गरिरहेका शिक्षा सदनका संंयोजक रमेश ढकाल अहिलेको यस पाठ्यपुस्तकले प्रवासी बालबालिकालाई नेपाली भाषा सिकाउन आवश्यक पर्ने विषयवस्तुको शृङखला व्यावहारिक र सरल बनाउन धेरै चरणमा विज्ञहरूसित छलफल गर्नुका साथै बालबालिकामाथि यी विषयवस्तुको परीक्षण गरिएको बताउँछन् । कुराकानीका व्रmममा यी पुस्तक बहुरंगी र चित्रमय भएकाले बालबालिकाले यसलाई निकै प्रयोग गर्न थालेको अनुभव संयोजक ढकालले बाँडे । किताबमै अभ्यास गर्न सक्ने गरी यसको छपाई भएको र पटकपटक सिसाकलमले मेट्दा पनि कागज नच्यातिने यस पुस्तकको विशेषता रहेको पनि संयोजक ढकालले बताए ।
अमेरिका नेपाल सहयोगी समाजका संरक्षक मधु पन्थी भन्छन्, “हाम्रो समस्या भनेको प्रवासका अभिभावकहरूको पनि साझा समस्या हो भनेर मान्यौँ र अब हामीले नै पाठ्यपुस्तक तयार गर्नुपर्छ भनेर यो अभियान सुरु गरिएको हो । अब अमेरिकाका धेरै राज्यहरूमा नेपाली समुदायको बाक्लिँदो उपस्थितिका कारण स्थानीय तहमा नेपाली भाषालाई मान्यता दिलाउन पनि आवश्यक भइसकेको र यसो गर्न सकिएमा नयाँ पुस्तालाई मातृभाषा सिक्न थप उत्साह हुने अपेक्षा गर्न सकिने कुरा संरक्षक पन्थीले बताए ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टीजका प्रमुख सल्लाहकार तथा मेरिल्यान्डको एसिया प्रशान्तक्षेत्र आयुक्त डा. श्याम कार्की अमेरिकाबाट पहिलो पल्ट यति स्तरीय पुस्तक प्रकाशित हुनु नेपाली समुदायका लागि गौरवको कुरा हो भन्छन् । नेपालीहरूले अमेरिकाका विद्यालयहरूमा नेपाली भाषालाई विदेशी भाषाका रूपमा पढाइने व्यवस्थाका लागि पहल गर्नुपर्ने तर्फ अब सबैले प्रयास गर्नुपर्ने बताए ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका महासचिव गणेश घिमिरेका अनुसार यी पुस्तकहरूको आकर्षक विशेषता भनेको बालबालिकालाई बोझ नदिइकन वर्षभरिमा ४० वटा कक्षाको परिकल्पनामा पुस्तक तयार भएको छ । नेपाली मौलिक उदाहरणहरू, आकर्षक रंगिन चित्रहरू, पुस्तकको आकर्षक आकार र किताबमै बालबालिकाले लेख्न सकिने गरी अभ्यास तयार गरिएकाले यसलाई बालबालिका र अभिभावकले पनि रुचाउने र यी पुस्तकहरू स्वअध्ययनका लागि पनि निकै उपयोगी रहेको घिमिरेको धारणा छ ।
‘मेरो मातृभाषा नेपाली’ शृङ्खलाका पुस्तकहरू बालबालिकालाई वितरण गरी न्यु ह्याम्पसायरमा नेपाली भाषा कक्षा सञ्चालनमा सहयोग गरिरहनुभएका एनआरएन आइसीसी, संस्कृति एवं सम्पदा उपसमितिका सदस्य तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका बोर्ड अफ ट्रस्टी एवं पुरस्कार समिति सदस्य ईश्वरी भट्टले यी पुस्तकहरू प्रयोग गराउन निकै सहज भएको भन्ने प्रतिव्रिmया पाएको बताए । पहिलो प्रकाशन भएका कारण केही शुद्धाशुद्धिमा टङ्कणका अशुद्धि भए पनि प्रयोगका हिसाबले यी किताबहरू निकै उपयोगी र आकर्षक रहेको उनले प्रस्ट पारे । अभिभावक र बालबालिकाको माग अनुसार आफूले न्यु ह्याम्पसायरका ६५ जना नेपाली बालबालिकाका लागि पुस्तकहरू मगाएको पनि भट्टले जानकारी गराए ।
सोसाइटी अफ नेपलिज इन हवाई ‘स्नेहा’ ले सञ्चालन गरेको नेपाली पाठशालाका लागि पनि यी पुस्तकहरू उपयुक्त भएकाले आफूले थप माग गरेको विश्वविद्यालयका प्राध्यापक अर्जुन अर्यालले बताए । उनका अनुसार आधारभूत प्रवासी बालबालिकाले बुझ्न सहज हुने सरल वाक्यको प्रयोग, आकर्षक उदाहरणहरू र अभिभावकले आफैँ घुमाउन लैजाँदा गरिने खालका संवादका कारण बालबालिकाका लागि पुस्तक निकै आकर्षण भएको छ ।
नेपाली बालबालिकालाई मातृभूमिप्रतिको प्रेमको भावना जगाउन र मातृभूमिप्रति गौरव गर्न सक्ने पाठ्यपुस्तक अमेरिका नेपाल सहयोगी समाजले तयार गरेर प्रवासमा भएको पाठ्यपुस्तकको अभावलाई पूरा गरेको कुरा भर्जिनिया हर्नडन निवासी अभिभावक विमल आचार्यले बताए । उनले भने, “यति धेरै विषयवस्तुलाई समेटेर, आधुनिक सूचनाप्रविधिको उपयोग पनि गर्न सकिने गरी नेपाली बालबालिकालाई तयार गरिएको पुस्तक यो नै पहिलो हुन सक्छ ।”
प्रतिक्रिया