अमेरिकामा मैले भेटेकाे काेइली

अर्जुन दाहाल २०७७ जेठ ३२ गते १७:२४ मा प्रकाशित

 

व्यंग्य बिधा सुन्न पढ्न मज्जा आए जस्तो सजिलो पट्टक्कै हुँदैन ।आफूले भन्न खोजेको सन्देश पनि दिनु पर्ने ,भिरबाट ठेल्नु पनि पर्ने तर लडाउन नपाईने यो साहित्यको पाटो सामान्य मान्छेलाई भने कठिन छ । बिषय बस्तु यसरी पस्कनुपर्छ कि पाठक पढेर नथाकुन ।

हो म यहाँ ब्यंग कवि अर्जुन राज पन्तको कुरा कोट्याउन लाग्दैछु । उहाँलाई चिन्नु भन्दा पहिले मैले उहाँका रचनालाई चिने । समाजिक सन्जालमा यत्रतत्र रचनाहरु भेटें/पढें अनि मात्र मैले अर्जुन राज पन्त को हुन भनेर खोजी गरें । आखिरमा उहाँ एक सशक्त व्यंग्य चेत भएका एक धुरन्धर कवि हुँनु हुँदो रहेछ ।

मैले त्यतै सामाजिक सन्जालमा पहिलो नेपाली व्यंग्य काव्य “कोइली”को पनि चर्चा सुनेंको थिएँ । पढ्न मन उद्दलित भयो र मैले संपर्क गरें । उहाँको हस्ताक्षर सहित व्यंग कवि अर्जुनले पठाएको कोइली “नून चिनी पानी”का अभियन्ता अर्जुनको पोस्ट बक्समा कुहु कुहु गर्दै आइपुग्यो । हत्तपत्त खोलेर एउटा कोइली र नून चिनी पानीको मित्रताको तस्विर खिचेर धन्यबाद सहित सन्जालबाटै खबर पठाइदिए ।

अब अलिकती कोईलीको चर्चा गरौं । व्यंग्य काव्य कोईलीको बारेमा समिक्षा गर्न धेरै गाह्रो छ । र सतही समिक्षाले काव्यको भाव र शक्ति माथी अन्याय हुन सक्छ भनेर म समिक्षाको तहमा जाने पक्षमा छैन । खाली यहाँ उल्लेख भएका केही बिषयहरु कोट्याउँने प्रयास गर्नेछु ।

मलाई यो काव्यको उठान नै गज्जब लागेको हो । कोईली माथी नै व्यंग्य गरेको जस्तो देखिए पनि त्यहाँ काग अनि काग र कोइलीको प्रतिकमा अडिएर अन्य बिबिध बिषयमा व्यंग्य बाँण हाँनिएको छ । दोश्रो खण्डमा फेसनले नचिनिएका युवाको बारेमा ससक्त व्यंग्य राखिएको छ । आधुनिक मानिने कालो चस्मा ,प्रकार प्रकारका दारी ,प्वाल परेका पैन्ट देखी जेल र तेल सम्म छुटाउनु भएको छैन ।

तेश्रो खण्डमा चिन्न नसकिएकी फेसबुके युवती र शिकारी शिर्षकबाट अर्को व्यंगको बाढी ल्याइएको छ । यहाँ ब्यंग गर्ने क्रममा रमाईला कुरा मात्र हैन गम्भिर र भावनात्मक कुरा पनि उठाईएको भान हुन्छ ।

चौंथो खण्डमा कोइलीले चिन्न नसेकेको द्वन्द पीडितलाई चिन्ने/चिनाउने प्रयास गरेको छ भने पांचौ खण्डमा कोइलीले डोजरको साहु कि जनप्रतिनिधि? भनेर एक समसामयिक यथार्थलाई बोलेको छ । बाटो बनाउन किनिएका डोजरले कसैको खेतबारी नै सकेको र कसैको जीवन बनेको कुरा व्यङात्मक शैलिमा कोइली बोलेको छ । छैटौं खण्डमा धर्म प्रचारको नाममा हुँने बेथिती र पैसामा किनबेच गर्न खोजिएको धार्मिक आस्था माथी कोइलीले ‘कुहु कुहु’ गरेको प्रस्ट हुन्छ ।

सातौं र आठौं खण्डमा क्रमस नेता र बिदेशिएको युवा माथी छेड्छाड मात्र गरिएको छैन त्यहाँका अन्तरबस्तुहरुलाई दर्हो संग उठान गरिएको छ ।

उपसंहारको अन्तिम अंशमा

“खान मात्रै हैन होला दे को तिम्लाई मुख,
बोल्दैनौ ए, जे देखेनी ए धर्तिका दु:ख ।”

लेखेर जुन व्यंग्य सन्देश छोडिएको छ त्यो अत्यन्तै शक्तिशाली छ भन्ने मेरो ठम्याईछ ।

व्यंग्य कविता संग्रह गरेर पुस्तक तयार नपारिएको यो बिधामा उहाँको कोइलीको थप अर्थ राख्दछ । उहाँका कविताहरु बिभिन्न वाचकहरुले स्वरबद्ध पनि गर्नु भएको छ । थुप्रै पत्रपत्रीकामा कविता लेखिरहने व्यंग्य कवी अर्जुन राज पन्त व्यंग्य काब्यका लागि प्रथम काव्यकार हुनु भएकोमा बधाई दिंदै यहाँको कविता सहित सदा झैं निबन्ध कथा र अन्य बिधामा पनि कलम चलिरहोस शुभकामना ।

प्रतिक्रिया