विकृतिले जलेका आस्थाहरू कवित्वमा

इनेप्लिज २०७७ जेठ १७ गते १०:१० मा प्रकाशित

रञ्जना निरौला.

तीसको दशकमा क्रान्तिकारी कविताको मसाल बोकेर कविता कै माध्यमबाट निरङ्कुसताको विद्रोह गर्दै कवि साहित्यकार तथा पत्रकारको रुपमा यात्रा सुरु गरेका र अद्योपान्त क्रियाशिल कवि राधेश्याम लेकाली क्रान्तिको बाटोहुँदै आजसम्म प्रजातन्त्र, गणतन्त्रको साक्षात्कार पश्चात पनि उत्तिकै सक्रिय रहेका छन् । जीवनका यात्रामा गरेका अनुभवलाई १३ वटा कविता कृतिमा प्रकाशित गरिसकेका लेकालीले हालसालै अर्को नयाँ कवितासंग्रह पहाडहरू जलिरहेछन् प्रकाशनमा ल्याएका छन् । मूलतः देश, द्वन्द्ध, विसम परिस्थिति, संक्रमण र क्रन्तिले प्रभावित उनका कविताहरु रोष, क्रोध, आक्रोसमा तथा आशा र आस्थाका शान्त नेपालीको पहाडजस्तै सुन्दर र सौम्य जनजीवन जलिरहेको अनुभूत कविताहरू मार्फत गराउँछन्।

२९ वटा कविताहरुको संग्रह रहेको यो पुस्तकमा २०५६ सालदेखि २०६० सालसम्म लेखिएका कविताहरूलाई यौटै मालामा उनेर संग्रहको रुपमा ल्याइएको छ । हाम्रो गाउँघरको आफ्नै कथा छ, देशको आफ्नै व्यथा छ । देशले विभिन्न चरण पार गरेको छ । हरेक संक्रमण युगसँग जुध्दै देशको लागि राम्रो भन्दा राम्रो व्यवस्थाको लागि युगनायकहरूले समय खर्चेका छन् । धेरै ले सहिद भएर जीवन अर्पेका छन् । युग परिवर्तनको आश्वासन जनतालाई दिएका छन् । तथापी आश्वासन आश्वासन मै सिमित भएर आस्था, भर, विश्वासका पहाडहरू भने जलिनैरहेका छन् भन्दै प्रतिकात्मक, बिम्बात्मक तथा सिधै भनेर पनि कवि लेकाली रोष पोख्छन् । सुन्दरता, प्राकृतिकता, दुर्गमता र शान्तिको आफ्नोपनमा रहेका पहाडरुपी जीवनहरू त्रासमा बदलिएको कुरालाई कवितामा चित्रित गर्दै पहाडहरू जलिरहेका छन् नामक कविताबाट यस संग्रहको काव्ययात्रा सुरु गर्छन् । सड्यन्त्र र जालझेलले मान्छेको जीवनबाट शान्ति र सदभाव खोसेको छ भन्दै मौसम रोकिँदा गुलाव हाँस्दैन भनि कवितामा विवसता पोख्छन् । सत्तामोहमा देशप्रेम र स्वाभिमान बिर्सने सत्ताधारीले देशलाई दाउमा राखेको कुरा व्यक्त गर्दछन् सहरले कात्रो ओडिसकेको छ कवितामा।अराजक र आतङ्क निलेका सयौँ निर्दोशको रगतले देशको इतिहासलाई कलङ्कित पारेको कुरा सक्छौ भने बुद्ध बन भन्ने कवितामा व्यक्त गर्दै शान्तिको चाहना गर्छन् ।कहिले सहस्रावदीमा बुद्धले हारेको वेदना पोख्छन् कहीँ मानवीय समवेदना हराएको कथा लेख्छन् । देशको लागि प्राण त्याग गर्ने सहिदहरूको सपनामा कुठाराघात गरी बलिदानको खिल्ली उडाउनेप्रति व्यङ्य गर्छन् । युद्धमा रगतले भिजेको माटोको मायाले निथु्रक्क भिजेर अहिंस्रक बन भनि आग्रह गर्छन् । ज्युँदो मुर्दा सरह रहेका हरेक एकलाई देशकोलागि उठन आग्रह गर्छन् । वर्तमानको उज्यालोप्रति आशावादी कवि वर्तमानको दिव्यकुञ्जमा आफुलाई देश विकासमा लगाएको भाव व्यक्त गर्छन्। ंउनी कविताभरी दशैँको पीडामा छन्।साफ खेललाई सकारात्मक आँखाले हेर्दै खेलाडिलाई शुभकामना दिन अघि सर्छन्।पासाङको गौरवलाई, देशको विस्तार र माटोलाई, निरङ्कुषतालाई, कुसाशन र तानाशाही बनेको लोकतन्त्रलाई कविता बनाएर निरंकुश, विकृति, विसङ्गति, भ्रष्टाचार स्वीकार्य छैन भन्दै शब्दशब्दमा विद्रोहको राँके जुलस निकाल्दै अक्षर अक्षरले भावनात्मक र विचारात्मक क्रान्ति गर्छन् । लेकालीका कविताहरु देश, देशप्रेम, देशको चिन्ता, राजनैतिक परिवेशको वरिपरी असन्तुष्ट क्षोभ र विद्रोहका मसाल नै हुन् । प्रायः सबै कविताहरूको भाव नै हो देशप्रेम, विकृति र विसङ्गतिप्रति विद्रोह । यी विद्राही कविताले स्वाभिमान र देशप्रेमको चाहना जुरुक जरुक पार्छन्।यसरी पाठकलाई आन्दोलित बनाउन सक्नु साहित्यकार लेकालीको काव्य वैशिष्ट्य हो, कविताको सफलता हो । राष्ट्र, व्यवस्था, प्रेम र विद्रोहको अन्तरद्वन्द्धमा उनका कविताहरू मार्मिक र देशभक्त भावनाले ओतप्रोत छन् । उनी पहाडसँगै रोएका छन्, हिमालसँगै दुखेका छन्, तराइसँगै तडपिएका छन् । देशमा भएको विकृति र विसङ्गतिको विद्रोहमा जनता जागेका छन् र मुस्लो सरह बनेका छन् भन्दै पहाडहरू जलिरहेछन् कवितासंग्रहलाई बिट मारेका छन् । यसरी पहाडहरु जलिरहेछन् कविताभित्र दिनहुँ दुःख बनेका हरेक व्यवस्था, शासन र विसङ्तिसँग वेमेल उनी कहीँकहीँ झल्याकझुलुक खुसी र आशावादी पनि छन् । यसको मतलव उनी अन्धकारमा घामको आगमन पक्का हुनेछ भन्ने कुरामा सकारात्मक छन् । यसरी निरासा र अन्यौल परिस्तिथिमा सकारात्मक भावाव्यक्ति उनको कवित्वको अर्को विशेषता हो।

यो कवितासंग्रह गद्यात्मक शैलीमा लेखिएको छ भने मझौला र एकाध लामो संरचनामा कविताहरू विस्तारित छन् । व्यञ्जनाले युक्त धेरै कविताहरुले सत्ता, व्यवस्था र सत्ताधारीहरुलाई व्यङ्य गरेका छन् भने कुनै कुनै कवितामा सकारात्मक र खुसी भाव व्यक्त भएको पाइन्छ । यसो हेर्दा कविताहरू क्लिष्ट लागेपनि पढदैजाँदा बोधगम्य छन् । कतै अन्तयानुप्रासीयता र कतै अन्तरअन्त्यानुप्रासले कविता गुणवत्तायुक्त बनेका छन् । प्रगतिवादी कवितायात्राको महत्वपूर्ण उपलव्धी पनि हो यो कवितासंग्रह । विचारको यात्रासंगै देशको निश्चित काल अवधिलाई प्रतिनिधि गरेका यी कविताहरुले लोकतन्त्र अघि र पछिको परिवेशलाई बोक्दै युगीन चित्रलाई लिपिबद्ध गरेका छन्।मायाप्रेम, चाहना कल्पना भन्दा टाडा देशप्रेम, देशको चिन्ता, अवस्थाप्रति वितृष्णा, बलिदानका भावनाले ओतप्रोत यी कविताको अफ्नै वैशिष्ट्य रहेको छ।मायाप्रेम, चाहना, कामना विना पनि कविता सरस हुन्छन भन्ने कुरा लेकालीका कविताले प्रमाणित गरेका छन् यो कवित्वको सफलता हो । नेपाल भुपरिवेष्ठित देश हो, हामीलाई चिन्ने प्रतीकात्मक नामहरू नै सुन्दर पहाड, हिमाल हुन्।पहाड भन्नु नै नेपाली जनता र पहाडैले भरिएको देशको सर्वनाम हो । पहाड जल्नु भनेकै जनता दुखि हुनु हो, अवस्था विकृत हुनु हो, विसङ्गति र वेथितीमा देश दुख्नु हो।यस अर्थमा कवितासंग्रहको नाम प्रतिकात्मक हिसावले सार्थक देखिन्छ।निश्चित कालखण्डलाई सम्बोधन गरेका कविताहरू भएपनि राष्टप्रतिको चिन्तन अत्यन्त गहिरो ढङ्गमा अभिव्यक्त यी कविताहरू वर्तमानमा पनि उत्तिकै सान्दर्भिक लाग्छन्, देशप्रेमले ओतप्रोत पनि । कविता स्वयंमा भाव वा विचारको संवाहक हो यसले आफूभित्र आफु बाँचेको युगलाई बोकेको हुन्छ त्यसैले कविताहरू जीवन्त इतिहास जस्तै हुन्छन् । काव्यकारिताले भरिएका यी कविताहरू माझिएका छन् । जनताको आशा, देशको पीडा र सत्ताको विकृतिले एक आपसमा विरोधाभाष उत्पन्न गरेका कविताले देश कै मर्म गाएका छन् । देशसँग शुसाशन, जनतासँग विश्वास र सत्तासँग आस्था हुनपर्छ र त्यसका लागि हरतरहले तयार रहनपर्ने कुरा व्यक्त गरिएको यो संग्रह पश्चात फेरी पनि राधेश्याम लेकालीको अर्को कवितासंग्रहको अपेक्षा गर्छु।

प्रतिक्रिया