एनआरएनए र नेपाल सरकारको छलफल:दैनिक ३०००-३५०० नेपालीलाई स्वदेश फर्काउन सक्ने निष्कर्ष

इनेप्लिज २०७७ जेठ १६ गते २१:१८ मा प्रकाशित

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले नेपाल सरकारसँग भएको वार्ता र छलफल अनुसार दैनिक ३००० देखि ३५०० सम्म नेपालीहरु स्वदेश फर्काउन सकिने निष्कर्ष निकालिएको जानकारी दिनुभएको कुरा संघका प्रवक्ता डिबी क्षेत्रीले मिडिया एण्ड पब्लिकेशन कमिटीलाइ जानकारी दिनुभएको छ।

एनआरएनए अध्यक्ष पन्तले इमेलमा दिनुभएको जानकारी अनुसार, गैरआवासीय नेपाली संघको अथक प्रयास तथा नेपाल सरकारसंग संघले विभिन्न चरणमा गरेका वार्ता र छलफल पश्च्यात आज बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले साता वा दश दिनपछि दैनिक ३ हजारदेखि ३ हजार ५ सय सम्म नेपालीहरूलाई स्वदेश ल्याउन सकिने निष्कर्ष निकालेको छ। अब यसै बमोजिम नेपाल सरकार मन्त्री परिषदलाई सिफारिस गर्नेछ।

यसका लागि नेपालमा भएका सबै सरकारी र निजी कम्पनीका जहाज उडाईनेछ र नेपाल आउन चाहनेहरूले जहाजको भाडा भने आफैं तिर्नुपर्नेछ। काठमाडौं विमानस्थलमा आइसकेपछि उनीहरूलाई होटलमा राखिनेछ। होटलहरूको मेनु र शुल्क सरकारले तय गर्नेछ। फर्केकाहरूले आफ्नो क्षमता अनुसार होटल छान्न पाउनेछन्।

परराष्ट्र मन्त्रालयले तयार पारेको सूची अनुसार क्रमशः उनीहरुलाई स्वदेश फर्काउने कार्ययोजना छ। तेस्रो मुलुकबाट नागरिक ल्याउने काम एक सातापछि शुरु हुने अनुमान छ।

यसैबीच अध्यक्ष पन्तले सम्पूर्ण डायस्पोराका नेपालीहरुलाई केहि दिन धैर्य गर्न अनुरोध गर्दै नेपाल सरकार र विदेशमा रहेका नेपालीहरु माझ कोरोना रोकथाम तथा राहत वितरण कार्यमा सहकार्य र सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संघसंस्था तथा राष्ट्रहरुलाई धन्यवाद व्यक्त गर्नुभएको छ।

गैरआवासीय नेपाली संघ

मिडिया एण्ड पब्लिकेशन कमिटी

मे २९, २०२०

प्रतिक्रिया