निर्दोष पात्रहरूको मार्मिक कथा भरिएको कृति ‘तमसुक’

शिव लामिछाने २०७७ जेठ ७ गते २३:४० मा प्रकाशित

रमेश दाहालद्वारा सम्पादित तमसुक कथा सङ्ग्रहका लेखक पदम विश्वकर्मा हुन् । यो सङ्ग्रह सन् २०१९ को जुलाई ५ देखि ७ सम्म बाल्टिमोरमा भएको नेपाली सम्मेलनमा मेरो हातमा परेको हो । लेखक आफैँले हस्ताक्षर गरेर मलाई हस्तान्तरण गरेको अवसरमा हामीले सँगै तस्वीर पनि खिचेका थियौँ । मैले एकै बसाइमा यो कृति पढिसक्ने अवसर पाइनँ । कथावस्तु र लेखनशैली सलल बगेको छ । तर मेरो निजी कामधन्दाले मलाई एकै बसाइमा यो पुस्तक सिध्याउन दिएन । अरू सानातिना निजी कामका साथ यो एक वर्षमा मैले प्रवासमा रहेका नेपाली छोराछोरीका लागि नेपाली भाषा अध्ययन गर्ने चार पुस्तकहरू मुद्रणको कामबाहेक लेखन, सम्पादन, टङ्कण र साजसज्जासमेत गरी तयार गर्न भ्याएँ ।

ती पुस्तकहरू ‘मेरो मातृभाषा नेपाली’ नाममा प्रकाशित भई अहिले न्यु ह्याम्पसायरदेखि हवाईसम्मका विभिन्न राज्यमा रहेका नेपाली बालबालिकाहरूले अध्ययन गर्न थालिसकेका छन् ।

पुस्तक पढेपछि धेरथोर टिप्पणी लेख्ने बानी भएकैले एक वर्षपछि घरमा केही खोजिरहँदा तमसुक सङ्ग्रह पढेपछि आफूले लेखेको टिप्पणी फेला पारेँ । सम्झेँ, पदमजीलाई पनि लागोस्, दिएको किताब यसले पढेको रहेछ । त्यसैले यो टिप्पणी पदमजी र नेपाली साहित्यका पाठकका लागि सार्वजनिक गरेको छु । पदमजी पहिले कवि हो र अनि कथाकार ।

कथाकै कुरा गर्दा कथा लेख्ने सौख मेरो पनि पुरानो सौख हो । काठमाडौँको रत्नपार्कको बारछेउमा बसेर दिन गुजारा गरिरहेका फुटपाथ पसले वा माग्नेहरूको दिनचर्यालाई हेरेर होस् वा पशुपतिनाथको दर्शन गर्न जाँदा गौशाला प्रहरी चौकीदेखि पशुपतिनाथको पश्चिम ढोकाछेउसम्म सडकको दायाँबायाँ बसेका माग्ने र फूलपसलेको लर्को होस्, ती दृश्यले मलाई धेरैपटक कथा लेख्न घच्घच्याएका छन् । २०५२ सालदेखि फुटकर कथाहरू काठमाडौँका मासिक पत्रिकाहरूमा प्रकाशन भए पनि मेरो पहिलो सङ्ग्रहका रूपमा २०६८ सालमा अस्तित्वबोध सङ्ग्रह प्रकाशित भएको हो ।

कथासङ्ग्रहसम्म आइपुग्दा तीन कवितासङ्ग्रह, एक बालउपन्यास र एक अनुसन्धानात्मक कृति पस्किसकेको थिएँ । मलाई कथामा जस्तो धित कविता लेखेर कहिल्यै मर्दैन । सायद म कवितामा उतिधेरै कलात्मक बन्न नसकेर पनि होला । पदमजीले पनि त्यसै गरेका छन्, र त्यो पनि बेलैमा ।
उनले दोस्रो कवितासङ्ग्रह बनाउने आँट गरेको देखिएन ।

पदमजीका कविताहरू मैले सुनेको छु । वाचनशैली पनि निकै प्रेमल छ । व्यक्तित्वमा पनि त्यतिकै शालीन हुन् भनेर यहाँ लेखिरहँदा थोरै मात्रै पाठकले उनलाई नचिनेका होलान् र नयाँ धारणा बनाउलान् । तर नेपाल र प्रवासमा एक प्रिय र सार्वजनिक व्यक्तित्व बनाइसकेका पदमजी नेपालमा रहँदा र अमेरिकामा आएपछि कार्यक्षेत्र फेरिएको होला, यसले उनको पहिचान थप बनाएको छ, विस्तारित गरेको छ ।

नेपाल रेडक्रसमा एक दशक बिताएर अमेरिका भित्रिएका उनले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा प्रवेश गरेलगत्तै अनेसासको विस्तार र विकासमा ऐतिहासिक आयाम दिन सफल भएको तथ्य अनेसासभित्र रहेका सबैलाई जानकारी नै छ । साहित्यमा कवि बनेर भित्रिएका उनले ‘शब्दसुमन’ कवितासङ्ग्रहलाई पहिलो कृतिका रूपमा सन् २०१४ मा बाहिर ल्याएका हुन् । ‘तमसुक’ दोस्रो साहित्यिक सन्तान, विधान्तर भई कथासङ्ग्रहका रूपमा २०७६ वैशाखमा सार्वजनिक भएको हो ।

कूल २३ कथाहरू सङ्ग्रहित यो कृति २२७ पृष्ठमा फैलिएको छ । प्रत्येक शीर्षकमा चुम्बकीय आकर्षण छ । शीर्षकको आकर्षणले पाठकलाई एकपछि अर्को गर्दै कथाक्रममा सहजै तान्छ र कथाको बहावले पाठकको समय सुलुत्तै चिप्लिन्छ । नेपालभित्रको नेपाली समाज र प्रवासमा विकसित हुँदै गरेको नेपाली मूलका प्रवासीहरूको समाजका उतारचढावहरू पदमजीका कथाका मूल विषय भएका छन् । नेपालीबाहेकको पात्र र परिवेश पनि कथामा छन् ।

कथासङ्ग्रहको मूल कथा तमसुक पृष्ठ ६८ बाट सुरु भएर ८० पृष्ठमा सकिन्छ । हामी पचासको वयमा उक्लँदै गरेका ‘युवा’हरूले बाल्यकालमा सुन्ने र देख्ने गरेको विषयवस्तुजस्तो लाग्ने तमसुकको अस्तित्व अहिले पनि नेपालको दूरदराजमा उत्तिकै सजीव रूपमा छ ।

यो कथा छोटो पारेर भन्दा रामेको बा हर्कबहादुरले आफू र आफ्नी श्रीमतीलाई साहिँलाबाजेका घरमा हली र नोकर्नी बनाएर दश वर्ष श्रम शोषण गर्दा पनि ऋण मिनाहा नगरी उल्टै सून्य थपेर दश हजार बनाएको कथा हो । पछि घरबारी नै साहुले लिने गरी तमसुक गराएको हुन्छ साहिँला बाजेले । हर्कबहादुरका छोराहरू रामे र पुन्टे विदेशतिर भाग्छन् । पछि रामेका दाजुभाइले विदेशबाट पैसा कमाएर ल्याएपछि साहुको रिन तिरिदिन्छन् र एक हजारको ब्याजको स्याज र स्याजको प्याज गर्दै पचास हजार बनाएर गरिएको तमसुक च्यातिदिन्छन् ।

विदेशमा गएर श्रम बेचेर ल्याएको पैसाले देशमा केही गर्नुको साटो बाबुआमालाई हली र नोकर्नीबाट मुक्ति दिएको अनि घरबारी निखनेर छोराहरूले परिवारलाई स्वतन्त्र बनाएको स्वाभिमानको कथा नै तमसुक हो । नेपाली युवाहरू मलेसिया र मध्यपूर्वका खाडी मुलुकमा श्रम बेच्न गएको दुई दशक नाघिसक्दा पनि पदमजीको यस कथामा दशैँमा घर फर्कने युवाहरू भारतका विभिन्न सहरमा श्रम गरेर आएका युवाका रूपमा देखिएकाले यो कथा उनको पुरानो कथा हो भन्ने पक्का हुन्छ ।

‘कुलतले भत्काएको घर’ सङ्ग्रहभित्रको अर्को सशक्त कथा हो । १२८ देखि १३५ पृष्ठसम्म फैलिएको यस कथामा भुटान सरकाले सन् ९० को दशकमा देशनिकाला गरेको नेपालीहरू मध्येको एक पात्र लक्ष्मीकान्तको अमेरिका भिइसकेपछिसम्मको कथा छ । पहिलो अनुच्छेदमै दर्दनाक चित्र प्रस्तुत गरेर कथाकारले भुटानबाट लखेटिने अवस्थामा त्यहाँका नेपाली मूलका परिवारमाथि आएको राजनीतिक बज्रपातको हृदयविदारक चित्र उतारेका छन् ।

बीस वर्षपछि लक्ष्मीकान्तको परिवार अमेरिका पुनर्वास हुने भयो । नेपालमा आएपछि नेपालको शरणार्थी शिविरमा हुर्केर नेपाली केटी बिहे गरेको लक्ष्मीकान्त परिवारसहित अमेरिकाको टेक्सासमा आइपुग्छ । अमेरिका आएको तीन वर्षमा लक्ष्मीकान्तकी आमाको देहान्त हुन्छ । आमाको देहान्तपछि घरको हेरबिचारमा लक्ष्मीकान्तकी श्रीमती निर्मलाले समय दिनुपर्ने भयो । घरको अवस्था कमजोर हुन थालेपछि निर्मलाले विमानस्थलमा काम गर्न थालिन् भने लक्ष्मीकान्तले ठूला ट्रक चलाउने तालिम लिएर हाइवेहरूमा राज्यान्तर हुँदै ट्रक चलाउन थाले । उनको संगत, बसोवास बाहिरै हुन थाल्यो । लक्ष्मीकान्तको बानी र व्यवहार बिग्रन थालेपछि निर्मलाले उनलाई पारपाचुके दिइन् ।

यस्तो घटनापछि लक्ष्मीकान्त छोरीको मायाले स्कुलमा भेट्न जान्छ तर निर्मलाको उजुरीले गर्दा पुलिसले उसलाई समातेर छमहिना जेल हाल्छ । दश हजार जरिबाना तिरेर निस्केपछि उनी फेरि ट्रक ड्राइभरकै रूपमा सडकमा फर्कन्छन् । सडकमा फर्केपछि लक्ष्मीकान्त अरू स्वतन्त्र भएको महसूस गर्छन् । केही वर्षपछि आइववा राज्यको प्रहरीले लक्ष्मीकान्तको घरमा फोन गरेर उनका बालाई लक्ष्मीकान्तको मृत्यु एड्सका कारण अस्पतालमा भएको जानकारी दिन्छ । यो हृदयविदारक समाचार सहन नसकेर उनी त्यहीँ ढल्छन् । लक्ष्मीकान्तका भाइबहिनी बाहिरबाट घरमा आउँदा बालाई मृत अवस्थामा पाउँछन् । किन र कसरी उनको मृत्यु भयो भन्ने उनीहरूलाई थाहा नभएको कथाकारले देखाएका छन् ।

१७२ देखि १७९ पृष्ठभित्र फैलिएको ‘कर्णेलको छोरा’ शीर्षकको कथामा बेलायती सेनामा रहेका नेपालीका छोराहरू नेपालमा आमा र हजुरबा हजुरआमाको लाडप्यारमा कसरी बिग्रिरहेका छन् भन्ने सजीव चित्र उतारिएको छ । लामा कपाल पाल्ने, स्कुलमा पढ्न जाने भनेर घरमा छकाउने तर स्कुलमा कि त झगडा गर्ने, कि स्कुलै नगई सहरबजारमा जम्मा भएर लागूऔषधको सेवन गर्ने युवाहरूको प्रतिनिधित्व यस कथामा कर्णेको छोराले गरेको छ ।

गुन्जमान बेलायती सेनामा जागिर खान गल्लावालबाट छानिनका लागि पोखरामा दौड र अन्य नापजाँचमा जान्छ । त्यस व्रmममा उसका केही साथी छानिँदैनन् । ऊ छानिन्छ र काठमाडौँबाट दिल्ली हुँदै बेलायत पुग्छ । घरमा भर्खर बिहे गरेर छाडिएकी नवदुलही अनितालाई रुँदै छाडेर आएको सम्झेर लन्डन आउनासाथ पत्र लेख्छ । सैन्य जीवन र तालिमले गर्दा ऊ निरन्तर सम्पर्कमा रहन पाउँदैन ।

केही वर्षमा ऊ नेपाल जान्छ र फर्केर बेलायत गएको केही महिनापछि आफू बाबु हुन लागेको चिठी पाउँछ । उसको छोरा जन्मन्छ । नेपाल गएर श्रीमती र छोरालाई लिएर बेलायत फर्कन्छ । फेरि श्रीमती र छोरा नेपाल आउँछन् । पोखरामा नयाँ घर बनाएर बसोवास हुन्छ । अरू दुई सन्तान जन्मन्छन् । गुन्जमान पदोन्नति हुँदै जर्नेल र कर्णेल हुन्छ ।

जागिरबाट निवृत्त भएर घर आएपछि छोरो स्कुल नगएको कारण थाहा पाउन स्कुल जान्छ । स्कुलमा भएको सबै घटनका बारेमा थाहा पाएपछि छोरासित सोधपुछ गर्छ । छोरो मान गुरुङ बाबुलाई त्यसको उत्तर नदिई घरबाट निस्कन्छ । ऊ कहिल्यै घर फर्कँदैन । सन्तानका लागि बाबुआमाले कति मेहनत गरेका हुन्छन् । तर संस्कार, अनुशासन र निगरानीको कमी हुँदा नेपाली समाजमा किशोर र युवापुस्ता कसरी कुलतमा फसिरहेको छ भन्ने डरलाग्दो विषयवस्तु यस कथामा छ ।

अमेरिकामा आमहत्याका घटना नौलो होइन भन्दा हुन्छ । कुनै एकजना सनकीले कुनै बहानामा दुई, तीन, चार, पाँच, छ हुँदै बीस, छब्बीस, अन्ठाउन्न र ….. नजाने कतिको ज्यान एकैपटक लिएका अनेकाँै घटना अमेकिमा भइरहन्छन् । गएको वर्षमात्र अमेरिकामा ४२९ वटा सार्वजनिक क्षेत्रमा हामहत्याका घटना भएको अभिलेख गुगलले बताउँछ । कथाकारले ‘जेम्स होम र सेन्चुरी ट्वान्टी फस्ट’ कथामा यस्तै एक भीडमा भएको आक्रमणको कहालीलाग्दो विषयवस्तुलाई प्रस्तुत गरेका छन् ।

ब्याटम्यान मुभी चलिरहेको अमेरिकाको कोलोराडोको अरौरामा रहेको सिनेमा घरमा जुलाई २०, २०१२ मा भएको आमहत्याको घटनालाई यस कथामा प्रस्तुत गरिएको छ । मिति र समय नबताइकन समाचारलाई कथानक बनाइएको यस घटनामा जेम्स होम भन्ने हत्यारालले ए–१५ बन्दुक चलाएर १२ जना निर्दोष दर्शकको ज्यान लिएको थियो भने ७० जना घाइते भएका थिए । कथामा मृतकका आफन्त र अन्य मानिसहरूको ठूलो समूहले कि त सरकारले उसलाई मृत्युदण्ड देओस् हैन भने हामी नै मारिदिन्छौँ भनेर माग गरिरहेका थिए । तर अदालतले हत्यारालाई उसको मानसिक अवस्था ठीक नभएको इतिहास भएका कारण उसलाई आजीवन कारावासको सजाय दियो ।

तमसुकभित्र समेटिएका सबै कथाहरू यस्तै रोचक, मार्मिक सामाजिक विषयवस्तुहरूमा आधारित कथा हुन् । कथाहरू छोटा छन् । पात्रहरू थोरै हुन्छन् । पाठकलाई कुनै पनि कथाले पट्यार दिँदैन । बाईबाई अस्मिता, सुषुप्त यौवन, आइका, फेसबुके प्रेम, द लास्ट म्यान एट द होटल, पीडामय दाम्पत्यजीवन, हुनेवाला ज्वाइँ, दुर्घटित सपना, मिठाइमा भुलेको जिन्दगी, प्रतिज्ञा, छायाको भूत आदि अरू कथा पनि रोचक छन् ।

धमिलीकुवा–३ लमजुङमा जन्मेर काडमाडौँमा उच्च शिक्षा हासिल गरेपछि हाल सपरिवार अमेरिकामा रहेका विश्वकर्मा हाल कोलोराडोमा एक निजी व्यवसायमा संलग्न छन् । उनी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व केन्द्रीय अध्यक्ष तथा हाल बोर्ड अफ ट्रस्टी कार्यसमितिका उपाध्यक्ष हुन् । शिखा बुक्स काठमाडौँले प्रकाशन गरी ज्ञानज्योति पब्लिकेसनले वितरण गरेको उनको यो किताब अब विश्वभरका नेपाली पाठकका लागि भनेर एमाजनले वितरण सुरु गरेको छ ।

यसमा माया ठकुरी, निलम कार्की निहारिकाको शुभकामना र ज्ञानु अधिकारीले आकर्षक रूपमा लेखिदिएको भूमिका रहेको छ । आफ्नो मन्तव्यमा कथाकार विश्वकर्माले लेखेका छन््, “मानवजीवनका अनेकौँ भोगाइहरूको अभिव्यक्ति नै कथा हो । तिनै भोगाइ, अनुभूति र कल्पनाको संयोगबाट नै यी कथाले आकार लिएका छन् ।”

नेपालमा तीन सय रूपैयाँ पर्ने यस किताबको मूल्य विश्वभरि दश अमेरिकी डलरमा खरिद गर्न पाइन्छ । पदमजीको सरल लेखन, निर्दोष तर प्रतिनिधि पात्रहरूको चयन र घटनाको गहिराइ विश्लेषण गर्ने आकर्षक शैली थाहा पाउन पनि यो कृति पढ्नै पर्ने कृति हो भनेर म यहाँ सिफारिश गर्न चाहन्छु ।

प्रतिक्रिया