मंगलबार, जेठ १३ २०७७
काठमाडौं ०७:१६
वासिङटन डिसी 21:31

नेपाल भनौ, नेपाली बनौ।

भुपनारायण घर्तिमगर २०७७ जेठ ६ गते २१:१० मा प्रकाशित

देश भूगोल मात्र होईन भाषा,भूषा,परम्परा,रितीरिवाज, संस्कार,संस्कृति र सभ्यताको प्रतिविम्व पनि हो।यसैको धरातलमा देश बनेको हुन्छ। हाम्रा वीर पुर्खाहरूले पनि हिमालयको काखमा हजारौं हजार बर्ष देखि पन्पिएको बहु-भाषा बहु-सांस्कृति लाई एक देशको सूत्रमा बाध्दै सगरमाथा झैं गौरवशाली नेपालको निर्माण गरेका थिए।सानातिना भुरे टाकुरे राजा रजौटा तथा समुदाय सम्प्रदाय लाई एक बनाउदै, बाह्य शक्तिहरू संग लड्दै नेपाली सार्वभौमिकता बचाउदै राज्य बिस्तार गर्नु अवश्य सजिलो थिएन।राष्ट्र निर्माणका निम्ति हजारौं हजारले बलिदानी गरे।लाखौं लाखले नेपाल निर्माणको महायज्ञमा योगदान गरे।खुकुरी,भाला,तरवार र गुलेलीको भरमा केटाकेटी,महिला,बुढाबुढी,यूवा सबै मिलेर तोप बन्दूकलाई हराए।तोप बन्दूकका गोली छातीमा चिस्याउदै नेपाल आमाका निम्ति उच्च बलिदानी गरे। बीर गोर्खालीको नामले देशलाई विश्वमा चिनाए।

पक्कै पनि हाम्रा पुर्खाले हिमाल पहाड र तराईका फाँटले ओगटेको भूगोलका निम्ति मात्र त्यो उच्च सँघर्ष र बलिदानी गरेका थिएनन् होला।त्यो क्षेत्रमा पन्पेका विशिष्ट भिन्न संस्कृति र सभ्यताका संरक्षण,संवर्द्धन र बिकासका निम्ति पनि थियो होला।

बहु-भाषिक बहु-सांस्कृतिक समाजलाई एक देशको सूत्रले जोड्दै र मजबुदको सामाजिक समीकरण बनाउदै, अनेकतामा एकताले भरपुर नेपाली जातीको संरक्षण,संवर्द्धन या बिकास गर्नु नै थियो होला।

नेपाल बिस्तारको अभियानमा सुगौली सन्धी संगसौगै बिराम लागे पश्चात सार्वभौमिकताको संरक्षण र संवर्द्धन गर्दै राष्ट्र निर्माणमा लाग्नु पर्नेमा, वास्तविक रूपमा त्यसो भए गरिएको देखिएन।राणाहरूले जहानिया शासन चलाए पनि राष्ट्र प्रति तुलनात्मक रूपमा ईमान्दारीता निभाएको देखिन्छ। अंग्रेज संग चाकडी र चतुर्याई गर्दै किन न होस , गुमेका भूमि मध्य केहि फिर्ता गरेको देखिन्छ।

दोश्रो विश्व युद्ध पश्चात संसारभर स्वतन्त्रता र स्वशासनको लहर चल्यो।त्यो लहरले छिमेकीलाई पनि स्वतन्त्रता र स्वशासन दिलायो।हाम्रो देश पनि राजनैतिक स्वतन्त्रताको प्रभाव बाट अछुतो रहेन।स्वतन्त्रताको आन्दोलनको आधार छिमेक बनेको र सहयोग पनि गरेकोले, यसैको सेरोफेरोमा दिल्ली सम्झौता भयो।दिल्ली सम्झौताको बिरूद्ध सँघर्षरत डा• के आई सिंह लाई रूपन्देहीको मर्चवार क्षेत्रबाट भारतीय फौजले पक्राउ गरेको थियो।यही दिल्ली सम्झौता पश्चात दिनानु दिन नेपाली राजनीतिलाई फुटाउदै उचाल्दै आफ्नो स्वार्थ पुरा गर्दै, नेपाली राष्ट्रिय स्वार्थ ओझेलमा पार्न भारत सफल हुदै आएको छ।बिभिन्न नामबाट एक पछि अर्को दिल्ली सम्झौता गराउदै आएको छ।पछिल्ला दिनमा क्षेत्रीय मुद्दालाई राजनैतिक रूप दिएर नेपाली राष्ट्रिय एकता र अखण्डतालाई कमजोर पार्ने काम गर्दै आएको छ।

विश्व भूमण्डलीकरण संग संगै पश्चिमा मुलुकहरू खास गरि युरोपियनहरूले स्वतन्त्रता,समानता, सशक्तिकरण आदि आदि नामका मिठा मिठा नारा र कार्यक्रम मार्फत हाम्रो सनातन संस्कृति र परम्परालाई भत्काउदै, आफ्नो संस्कृति लादेर हाम्रो अनेकतामा एकताले भरपुर समाजलाई बिखण्डन गर्दै नेपाली एकतालाई कमजोर पार्न खोजेको प्रष्ट देखिन्छ।तत्काल रोजगार र अर्थोपार्जनका निम्ति हामी पनि आँखा चिम्लेर यसैका पछडि बडो गर्वका साथ लागिरहेका छौं।

नेपाली नेतृत्व सत्ता बचाउने लालचमा सधै कुनै न कुनै रूपमा भारतलाई खुशी पार्न तल्लिन भईरह्यो।मात्राका हिसाबले धेरै र थोरै भए होलान ,तर २००७ साल पछिका सबै सरकारले भारतलाई खुशी पार्नुमै आफ्नो भलो देख्यो।पञ्चायतमा राष्ट्रिय स्वार्थलाई धेरै हदसम्म बचाउन खोजेको आभाष हुन्छ। यतिका बाबजुद पनि जब जब भारतलाई बढी चाहियो तब तब पुरानो सत्ता ढाल्दै नयाँ सत्ता स्थापना गर्दै आयो।२०४६ सालको परिबर्तन यसैको प्रयोग थियो।२०४६ सालको परिबर्तनले पनि खुशी हुन नसकेको भारतले २०५२ सालमा शुरू भएको तथाकठित जनयुद्धलाई सबै प्रकारले सहयोग गर्यो।एउटै तालीम केन्द्रबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनालाई तालीम दिएर पठाउने , अनि सोही स्थानमा माओवादी लडाकुलाई पनि तालीम दिने गरेको पाईयो।यी सबै कुराको पुष्ट्याई तत्कालिन भारतका प्रधान-मन्त्री अटल बिहारी बाजपेयीका सुरक्षा सल्लाहकार ब्रजेश मीश्र मार्फत प्रचण्ड र बाबुराम भट्टराईले हाम्रो आन्दोलन भारतीय हित र स्वार्थ बिरूद्ध हुदैन भन्ने आशयले भरपुर बिन्ती-पत्र तत्कालिन भारत सरकार समक्ष चढाएको घटनाले गर्छ।

बर्तमान सरकारको गठन पूर्व निर्वाचन सम्पन्न भएर प्रचण्ड बहुमत आए पश्चात बर्तमान प्रधान-मन्त्री ओली ज्यू का विशेष प्रतिनिधी बनेर बर्तमान नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली भारत भ्रमण गई त्यहाँको सत्तालाई आश्वस्त बनाएर आएको सबैलाई छर्लङ्गै छ।

यहि परिवेशमा भारतले नेपाली भूमि मिच्दै मानसरोवर जाने बाटो बनाएर नाङ्गो रूपमा नेपाली सार्वभौमिकता मिच्दा , यीनै माथि बर्णन गरिएका कारणहरूले नेपाली सत्ता/सरकार प्रतिवाद /प्रतिकार गर्न निर्लज्ज तवरले असमर्थ छ।सरकार लाज बचाउन कहिले बिना हस्ताक्षरको हल्का शब्दहरूले भरिएको बचपना बक्तब्य निकाल्छ। कहिले लीम्पियाधुरा भन्दा धेरै टाढा सीमा सुरक्षा चौकी राखेर नाटक मञ्चन गर्छ।यस्तो अवस्थामा नेपाली सत्ता र मूलधारको राजनीतिले राष्ट्रिय हितको रक्षा गर्छ र गर्ला भन्नु सूर्य पश्चिम बाट उदाउछ भन्नु बराबर हो।राष्ट्रिय सार्वभौमिकताका हिसाबले ईतिहासकै कठीन मोडमा देश पुगेको छ।

ब्यापक जनदबाब कारण अहिले सम्म नसुनेर अनविज्ञ बनेको सरकारले हठातमा नक्सा कुटनीतिलाई अगाडि सार्दै सदनमा चुनावी भाषण गरेर निकै ठूलो काम गरेको सन्देश दिएको छ। बिरोधी दलहरू पनि दृश्य बिनाको दृश्यावलोकन गरिरहे झैं देखिन्छन्। यस्ता गतिविधीले तत्काल भावनात्मक समर्थन पाएर वाहवाही बटुल्न सकिएला ,तर समस्याको वास्तविक समाधान नहुन सक्छ। समस्याको वास्तविक समाधानका निम्ति हाम्रो भू-राजनैतिक अवस्थालाई ख्याल गर्दा सुझबुझ पूर्ण कुटनैतिक माध्याम नै उपर्युक्त देखिन्छ। सस्तो लोकपृयताका निम्ति चालिने कदम र बोलिने बोलिले दीर्घकालिन रूपमा कुटनैतिक द्वन्द बढाएर राष्ट्रिय स्वार्थलाई आँच पुर्याउन सक्छ। समयमै आम नेपाली सचेत हुन जरूरी छ। सरकार र नेतृत्वका अपरिपक्व एवं सस्तो लोकपृयतावादी नीतिले ईतिहासमा धेरै देशको राष्ट्रिय हितमा धक्का लागेका धेरै उदाहरणहरू छन्।

सत्ता त निर्लज्ज छ नै, विषम परिस्थितिमा देश एकीकरण र बिस्तार गर्दै, भाला ,खुकुरी, तरवार , गुलेलीका भरमा अंग्रेज साम्राज्यलाई हायल कायल बनाएको सेना आफै हायल कायल देखिन्छ। अहिले सम्म सम्मानका आँखाले हेरिने देशको एउटा मात्रै सँस्था , के भ्रष्टहरूको सुरक्षामा तल्लिन भएर राष्ट्रिय सुरक्षा भुलेको हो ? भन्ने जनस्तरमा प्रश्न उठ्न थालेका छन्।

तर यति निराशाजनक अवस्थाका बिच पनि देशलाई मायाँ गर्नेहरूले सशक्त आवाज उठाएको देखिन्छ। खासगरि देश र देश बाहिर बाट युवाहरूले जोडदार रूपमा नेपाली राष्ट्रिय स्वार्थ र हितका निम्ति आवाज बुलन्द गर्दै सत्तालाई खबरदारी गरेका छन्।निस्वार्थ देश प्रेमी बुद्धिजिवीहरू सशक्त रूपमा समाजलाई सुसूचित गर्दै आएका छन्।लाग्छ चीर अन्धकारको बिच क्षीतिजमा दीयो बलि रहेछ, एक दिन ज्वज्वल्यमान प्रकाश बन्ने छ।

तसर्थ नेपाली स्वार्थ र सार्वभौमिकतालाई बचाउन अब जनस्तर बाट उठेको आवाजलाई अरू सशक्त बनाउनुको बिकल्प छैन। यी आवाज मात्र होईनन्, यी त वीर पुर्खाका बलिदानीका प्रतिध्वनी हुन।अरू जोडदारका साथ संगठित रूपमा आवाज बुलन्द गर्न आवश्यक छ।जुन सामाजिक समीकरणको आधार र जगमा नेपाल बनेको थियो। त्यसलाई पुनर्जित गर्न नितान्त आवश्यक छ। एक दिन यीनै आवाजहरूको गर्भबाट नेपाल आमाको अस्मिता रक्षा गर्ने नव युगको नव नायक जन्मने छ।सच्चा देशभक्तिले भरपुर सँस्था जन्मने छ।अझै जोडले नेपाल भनौं, नेपाली बनौं।

– भुपनारायण घर्तिमगर-

प्रतिक्रिया