सेन्टिली भर्जिनिया । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण आगामी आर्थिक वर्षमा नेपालमा वैदेशिक सहयोग घट्ने र नेपाली कामदारहरुले पठाउने रेमिटेन्समा पनि नकारात्मक प्रभाव पर्ने कुरालाई ध्यानमा राख्दै वजेट निर्माण गर्नुपर्ने सुझाव विज्ञहरुले दिएका छन् ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अमेरिकाका लागि पूर्व राजदुत डा. शंकर शर्माले नेपालका दाता राष्ट्रहरु आर्थिक संकटवाट गुज्रिरहेको, रेमिटेन्स घटेको र पर्यटकहरु पनि नआउने अवस्थामा अवको वजेट राष्ट्रिय उत्पादनमा आधारित भएर वनाउनु पर्ने कुरामा जोड दिनुभयो ।
नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजाल(इन्जा) द्वारा आयोजित भर्चुअल पूर्व बजेट छलफलमा विज्ञहरुले बजेटको परम्परागत ढाँचामा परिवर्तनको आबश्यकता औंल्याउदै निर्वाहमुखी परम्परागत बजेट प्रणालीलाई बिस्तारै बदल्नु पर्नेमा जोड दिएका थिए ।
नेपालमा हिजो शुक्रबारबाट आर्थिक बर्ष २०७७/७८ को लागि नीति, कार्यक्रम एवम बजेट माथि छलफल गर्न संसद अधिबेशन शुरु भएको छ । यस सन्दर्भमा विज्ञहरुबाट सुझाव लिने र सम्बन्धित पक्ष र सर्बसाधारणलाई जानकारी दिने उद्धेश्यले इन्जाले यो कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा बरिष्ठ अर्थविद् डा. शर्माले कोरोनाभाइरस (कोभिड—१९) को खराब प्रभाव विश्व अर्थतन्त्रमा पर्न थालेको र त्यसबाट नेपाल पनि प्रभावित हुने निश्चित भएकोले यो बजेट एवम नीति तथा कार्यक्रम निर्माणको बेला गम्भीर भएर तयारीमा लाग्न संबद्ध पक्षको ध्यानाकर्षण गर्नु भएको थियो ।
नेपालमा राजनीतिक दृष्टिले लाभ हुने गरी तुरुन्तै लोकप्रियता हाशिल गर्न आर्थिक सामाजिक कार्यक्रम बनाइने र ठूलो आकारको बजेट तर्जुमा गरिने परम्परा कायम रहेको चर्चा वरिष्ठ पत्रकार तथा विश्लेषक गजेन्द्र वुढाथोकीले परापूर्वकालदेखि नै नेपालको अर्थतन्त्र निर्वाहमुखी भएको वताउनुभयो ।
यस्तो प्रकृतिको वजेट निर्माणमा विश्व अर्थतन्त्रका नकारात्मक प्रभाव छिट्टै देखा पर्दैनन् तर यस्तो वजेटले देशले आर्थिक विकासमा गति लिन नसक्नु चांहि वजेटका वेफाइदा हुन्छन्, वुढाथोकीले वताउनुभयो ।
यस पटकको महामारीले निम्त्याउने विश्वको आर्थिक मन्दीबाट हाम्रो अर्थतन्त्र जोगाउन त्यति कठिन नहुने बरिष्ठ आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीको धारणा थियो ।
निर्बाहमुखी ढाँचाको बजेटले गर्दा नेपालमा आर्थिक मन्दी त आउन सक्दैन साथै सानो आकारको अर्थतन्त्र भएकाले पनि मन्दीको प्रभाव देखिदैन तर यो ढाँचाबाट देशको आर्थिक विकासले गति लिन सक्दैन, पत्रकार बुढाथोकीको भनाई थियो ।
नेपालमा आर्थिक मन्दीको प्रत्यक्ष प्रभाव नपरे पनि विश्वमा मन्दीको संकेत देखिएको र यसबाट हाम्रा दातृ राष्ट्र वा वित्तीय संस्थाहरु प्रभावित हुने भएकाले नेपाललाई यसको असर अबश्य पर्ने र विप्रेषणमा भारी कटौती हुने संकेत देखिएकाले सम्बद्ध पक्षको ध्यानाकर्षण हुनुपर्ने डा.शंकर शर्माको भनाईमा आफ्नो समर्थन जनाउदै न्युज कारोबार डटकम अनलाइन पत्रिकाका प्रधान संपादकसमेत रहेका बुढाथोकीले अर्थतन्त्र जोगाउन समुदायमा आधारित आर्थिक कार्यक्रम ल्याउन अति आबश्यक भएकोमा जोड दिनु भएको थियो ।
पछिल्लो दशकमा नेपालको अर्थतन्त्रको प्रमुख श्रोत विप्रेषण बन्यो । आधिकारिक तथ्य नभए पनि करिब तीस लाख नेपाली युवाहरु दक्षिण एसिया बाहेकका मुलुकमा गएर रोजगारी गर्ने र ठूलो परिमाणमा विप्रेषण(रेमिटेन्स) नेपाल पठाउने गर्दछन । यतिबेला विश्वमा फैलिएको कोविद १९ को महामारीबाट त्रसित भएर बाहिर भएको आधाभन्दा बढी युवाहरु स्वदेश फर्किन सक्ने अनुमान गरिदैछ । यो सुन्दा राम्रो लाग्दैन तर यसबाट नेपालले फाइदा लिन सक्ने अर्थविदको भनाई छ ।
श्रमिकहरु स्वदेश फर्किदा विप्रेषणको कटौती र देशभित्र बेरोजगारीको भारी बृद्धि हुन सक्ने आम मानिसहरुको आशंकाप्रति जवाफ दिदै डा.शर्माले भन्नुभयो, यो धेरै चिन्ताको विषय हैन ।
विप्रेषणबाट आउने विदेशी मुद्रा ठूलो परिमाणमा विलासीताका बस्तु खरिदमा र उनीहरुकै यात्राका क्रममा विदेश नै जाने गर्दथ्यो अब त्यो पनि कम हुन्छ, अर्थविद् शर्माले भन्नुभयो, त्यो जनशक्ति विदेशमा सिकेको सीप र उसमा आएको परिपक्वताका हिसाबले स्वदेशमा चाँडै स्वरोजगार बन्न सक्ने साथै मुलुुकलाई चाहिने प्राविधिक जनशक्तिका रुपमा आउन सक्ने भएकाले यो स्वदेशको हितमै हुने छ ।
यो महामारीले गर्दा देशको आय तथा व्ययमा असन्तुलन आउने र बेरोजगारी बढ्न सक्ने समस्याको समाधानका लागि डा. शर्माले आगामी नीति तथा कार्यक्रममा समाबेश गर्न बुँदागत रुपमा सुझाव दिनु भएको छ ।
उहाँले विप्रेषणमा कटौतीको विकल्पको खोजी गर्न र स्वदेश आएका श्रमिक जनशक्तिको दीगो व्यबस्थापन गर्न सबै कुटनीतिक नियोगहरुलाई मजबूद बनाउनु पर्ने, विदेशबाट फर्किदै गरेका श्रमिकको सीप पहिचान गर्न विमानस्थलमै हेल्प डेष्क राखी फारम भर्ने ब्यबस्था मिलाउनु पर्ने, सामुदायिक खेती वा सहकारी प्रणाली व्याबसायका लागि प्रोत्साहन कार्यक्रम र श्रमिकहरुका लागि सरल प्राविधिक प्रशिक्षण कार्यक्रम ल्याउन सके संभावित जटिलताबाट पनि देशले सहजै उन्नतीको मार्ग समात्न सक्ने कुरा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षसमेत रहनुभएका योजनाविद् डा.शर्माका सुझाव थिए ।
इन्जाका निर्देशक तथा बरिष्ठ पत्रकार किशोर सापकोटाले अमेरिकाको केन्टकीबाट संचालन गर्नु भएको कार्यक्रममा भर्जिनियाबाट आर्थिक विषयका बरिष्ठ पत्रकार इन्जाका बरिष्ठ उपाध्यक्ष विष्णु शीतल एवम इन्जाका बरिष्ठ उपाध्यक्ष सुनिलमणि दाहालले वर्तमान अर्थतन्त्रका विविध पक्षमा आफ्ना धारणा राख्दै अर्थविद डा. शर्मा र आर्थिक विषयका विश्लेषक गजेन्द्र बुढाथोकीसँग नेपालको आगामी आर्थिक बर्षको बजेट र अन्य आर्थिक विषयमा अन्तरक्रिया गर्नु भएको थियो ।
प्रतिक्रिया